|

काठमाडौं : बुधबार सर्वोच्च अदालतमा बयान दिन जाने क्रममा लोकमानमाथि दुई युवाहरुले कालो-मोसो दलेका थिए। त्यसको छोटो समयमै प्रेस विज्ञप्ति निकालेर लोकमानसिंह कार्कीले मुख खोलेका हुन्‍न। कात्तिक ३ गते व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि २ महिनासम्म  मौन रहेका लोकमानले पहिलोपटक सार्वजनिक वक्तव्य जारी गर्दै नेपालका नेताहरु भ्रस्ट रहेको उल्लेख गरेका छन्। 

. चेतावनी

'म यतिबेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्‍न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन,' उनले विज्ञप्तिमा लेखेका छन्,'राज्य सञ्चालन र त्यसका प्रक्रियाहरुको बारेमा अनुभव प्राप्त भएपनि देशमा अनियमितता र भ्रष्टाचार कसले, कसरी र कतिसम्म गर्दा रहेछन् भन्‍ने तथ्यज्ञान चाहीं मैले पनि अख्तियार प्रमुख भएपछि नै प्राप्त गरेको हुँ,' चेतावनीयुक्त शब्द प्रयोग गर्दै लोकमानले लेखेका छन्,'कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्ध्दन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्‍यो भने त्यसबेला कैयन सीमाहरु भत्कन सक्छन्।'

. महाभियोग समितिमाथि प्रश्‍न

लोकमानसिंह कार्कीले विज्ञप्तिमा आफूमाथि अन्याय भएको जनाएका छन्। 'कुनै पनि अनुसन्धानात्मक तथा न्यायिक कारबाही प्रक्रियामा अभियोग लगाउने व्यक्ति वा निकाय स्वयं न्यायाधिश हुन सक्दैन,' व्यवस्थापिका संसदको कार्यशैलिप्रति अविश्‍वास व्यक्त गर्दै उनले लेखेका छन्,'मेरा विरुद्ध महाअभियोग प्रस्ताव गर्ने कतिपय राजनीतिक नेता अनुसन्धानको दायरामा रहेका, मेरा विरुद्ध सार्वजनिक रुपमा निरन्तर अभिव्यक्ति दिने केही राजनीतिक नेताहरु समेत महाअभियोग सिफारिस समितिमा भएका र निजहरुले प्रक्रिया सुरु हुनुपूर्व नै विभिन्न सार्वजनिक मञ्चहरुमा मलाई महाअभियोग लगाइ छाड्ने उदघोष गरेकोले उहाँहरुले दिने न्याय कस्तो हुन सक्ला भन्ने प्रश्न उठेको छ। महाअभियोग सिफारिस समितिका ५ जना माननीय सदस्यहरु नै १५७ जना प्रस्तावकहरु मध्ये हुनुबाट समितिले निष्पक्ष न्याय सम्पादन गर्ने विषय शंकास्पद बन्‍न पुगेको छ,' उनले लेखेका छन्। 

. ठूलो माछा समाउन खोज्दा षड्यन्त्र

विज्ञप्तिमा कार्कीले 'ठुलो माछा' समाउन खोज्दा आफूमाथि षड्यन्त्र सुरु भएको उल्लेख गरेका छन्। एनजिओ-आइएनजिओ तथा सञ्चारमाध्यममाथि छानविन सुरु आफू विरुद्ध क्याम्पेनिङ भएको उनको गुनासो छ। '
राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एन.जि.ओ. आइ.एन.जि.ओ.हरु, सर्वसाधारणलाई ठूलठूला सपना देखाई भ्रममा पारेर अर्बौं रुपैयाँ बचत गर्ने सहकारी संस्थाहरु, सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दबाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु, राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु, सिण्डीकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यता विपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचार-गृहहरु,' विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।

लोकमानले हिमाल मिडियका प्रकाशक कनकमणी दिक्षितदेखि नेता र चिकित्सक डाक्टर गोविन्द केसीसम्मले आफू विरुद्ध षड्यन्त्र गरेको उल्लेख गरेका छन्। तर नाम कसैको लिएका छैनन्। उनले सञ्चार व्यवसायीको आवरणमा भ्रष्टाचारजन्य गर्ने सञ्चारगृहका मालिकहरु, करोडौं उठाएर संसाद बनाउने खेलमा लाग्नेहरु,  एनजिओ तथा आइएनजिओबाट पैसा लिएर राष्ट्रिय हित विपरित लाग्नेहरु तथा जनताबाट उठाएको कर राज्यमा दाखिला नगर्ने व्यापारीहरुले आफ्नो विरुद्धमा षड्यन्त्र गरेको उल्लेख गरेका छन्।

'क्यानाडाबाट म फर्केकै दिन अप्रत्याशित र छापामार शैलीबाट रातको ९ बजे षडयन्त्रपूर्वक ल्याईएको मेरा विरुद्धका महाअभियोग प्रस्तावको बारेमा कस्तो दृष्टिकोण बनाउने हो सो को जिम्मेवारी मैले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुम्पिएको छु,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।  

. अन्याय भएको गुनासो

'गृष्मयाममा शितलता प्रदान गरेबापत वृक्षले फेदै देखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्ज्वलित भएर प्रकाश छरे बापत दियोले फुट्नु पर्ने, फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला?' विज्ञप्तिमा लोकमानसिंह कार्कीले आफूमाथि अन्याय भएको गुनासो बारम्बार व्यक्त गरेका छन्।

भ्रष्ट्राचार विरुद्धको काम-कारबाही अघि बढाउने क्रममा आफूमाथि किन अवरोध गरियो भने उनले प्रश्‍न राखेका छन्,'भ्रष्टाचार बिरुध्दको काम कारवाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरु के कति कारणले मेरा विरुध्द महाअभियोगको वाण हान्न अग्रसर हुनु भएको हो यो मैले बुझ्न सकेको छैन।' विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।

'निर्दोष हुंदा हुंदै म माथी अहिले गैरकानूनी प्रक्रियाबाट राज्यका अति उच्च अङ्गमा पदासिन केही व्यक्तिहरुले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांङ्कन गर्ने जिम्मेवारी पनि मैले इतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा म माथी भएको यो गैरकानूनी आक्रमणको मूल्यांङ्कन अवश्य हुने छ भन्ने विश्वास गरेको छु,' लोकमानले आफू निर्दोष भएको दाबी गर्दै लेखेका छन्।

कार्कीले भस्ट्राचार विरुद्ध आफूले सुरु गरेको अभियानमा सहयोग गर्नुको सट्टा राजनीतिक नेतृत्व पूर्वाग्रही ढंगबाट प्रस्तुत भएको उल्लेख गरेका छन्। आफूमाथि संसदमा दर्ता भएको महाभीयोग प्रस्ताव गैरकानुनी भएको उनको दाबी छ।

. दक्षिण कोरिया र नेपालको तुलना

उनले दक्षिण कोरियासँग नेपालको तुलनामा गर्दै भ्रष्टाचारकै कारण नेपालको विकास हुन नसकेको उल्लेख गरेका छन्।'साठीको दशकसम्म नेपालकै जस्तो हालतमा रहेको दक्षिण कोरियाले आजको सम्पन्नता हासिल गर्नुका पछाडी अनेक कारण हुन सक्छन्,  तर समुन्नतिको प्रमुख कारणका रुपमा लगानी मैत्री वातावरण र भ्रष्टाचार नियन्त्रणमुखी व्यवहारलाई लिन सकिन्छ,' उनले लेखेका छन्।

'पदको दुरुपयोग गरी आफ्नो एक साथीलाई विशेष लाभ पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाको राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित हुनुले पनि उक्त मुलुक सुशासन र पारदर्शिताप्रति सम्बेदनशील छ भन्ने दर्शाउँछ,' यस विषयलाई आफू विरुद्धको महाभियोग प्रस्तावसँग तुलना गर्दै उनले लेखेका छन्,'आश्चर्यजनक र दुःखद संयोग नै मान्‍नुपर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति विरुद्ध महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार विरुद्ध निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै विरुद्ध महाअभियोगको सामना गर्नु परिरहेको छ।' उनको तर्क छ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्तमा कार्कीको नियुक्ति संविधान विपरित भएको भन्दै दायर भएको मुद्दाको पुनरावलोकन गर्ने सर्वोच्चले निर्णय गरेको छ। सर्वोच्चको निर्णयपछि अहिले उनी सुनुवाइको क्रममा छन्। उनी विरुद्ध व्यवस्थापिका संसदमा दर्ता महाभियोग प्रस्ताव दर्ता भएको छ। यो प्रस्तावको टुंगो नलागेसम्म कार्की निलम्बित अवस्थामा रहनेछन्।

विज्ञप्तिको पूर्णपाठ पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस् 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.