|

झापा : झापाको उत्तरी गाविस बाहुनडाँगी देशैभर चर्चामा रहन्छ, कारण हो- जंगली हात्तीको उपद्रो। नेपाल–भारत सीमा भएर बग्ने मेची नदीको छेउमै रहेको बाहुनडाँगीमा जङ्गली हात्ती प्रवेश नगरेको बिगार नगरेको दिन हुँदैन।

हात्तीकै कारण बाहुनडाँगीबासी रातभर सुत्न पाउँदैनन्। आलोपालो गरेर सुत्छन्, उनीहरु। यो वर्षौंदेखिको समस्या हो। ‘बाहुनडाँगीबासीलाई छोरी दिन पनि अप्ठ्यारो मान्थे मान्छेले, हात्तीले मारिदिन्छ भन्ने त्रास थियो,’ बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी भन्छन्- ‘हाम्रा गाउँका छोरीचेली पनि बिहे गरेर लैजान मान्दैन थिए, ससुराली आउँदा हात्तीले मार्छ भनेर।’ 

तिवारीले भनेजस्तै हात्तीको आक्रमणबाट नवविवाहित जोडीले पनि ज्यान गुमाएका छन्। भारतबाट नेपाल प्रवेश गर्ने हात्तीले झण्डै चार दशकदेखि यसरी नै स्थानीयको ज्यान लिइरहेको छ। एउटै हात्तीले एकैदिन चार जनासम्मको ज्यान लिएको घटना बाहुनडाँगीमा छ।

धानबाली भित्र्याउने समयमा लस्कर लागेर हात्ती आउँछन्। ‘लाइन लागेर आउँछन् नि! राति सर्‍याकसुरुक गर्छ, टर्च बालेर हेर्दा रेलको लिकजस्तै देखिन्छ,’ बाहुनडाँगी-२ का टङ्कबहादुर खत्रीले भने। सरकारले हात्ती पीडित नागरिकलाई क्षतिपूर्ति दिने भनेको छ। तर, आफूहरुले क्षतिपूर्ति नपाएको अधिकांश हात्तीपीडितको गुनासो छ। बाहुनडाँगी-२ का पुण्यबहादुर थापाले केही वर्षअघि भाइ-बुहारी गुमाए। विवाहपछि उनका भाइ–बुहारी घर बनाएर छुट्टै बस्न थालेका थिए। ‘मध्य रातमा हात्ती आएर घर डाङ्डुङ भत्काइदियो, भाइ र बुहारी दुवैजनालाई मार्‍यो,’ थापाले सम्झे।

त्यसबेला किरिया खर्चवापतको ८ हजार रुपैयाँबाहेक उनले आजसम्म केही पाएनन्। हात्तीपीडितको फर्म भरे। काठमाडौंसम्मै पुर्‍याए तर, क्षतिपूर्ति आएन। "यहाँ हात्ती संघको अपिस छ, दिनहुँ धाउँछौँ, दिँदैन कसैको पनि", उनले भने। भाइ-बुहारीलाई हात्तीले आक्रमण गरेको घटना सम्झिँदा ‘सपना हो कि विपना’ जस्तो लाग्ने गरेको उनी बताउँछन्।

सोही स्थानका ६५ वर्षीय लम्बबहादुर प्रधानले भर्खरै नयाँ जीवन पाए। कात्तिक २२ गते उनलाई हात्तीले लखेट्यो। ‘बाख्रालाई घाँस काट्न गएको थिएँ, हात्ती त खोल्सातिरबाट आउँदै पो रहेछ,’ त्यो दिन स्मरण गर्दै लम्बबहादुर भन्छन्- ‘भएभरको बल लगाएर चियाबारीतिर कुदेँ। तर, मलाई हुत्याइहालो। धन्न सुँडले चाहिँ बटार्न पाएन।’

चियाबारीमा हुत्याएपछि लम्बबहादुरलाई हात्तीले फेरि आक्रमण गरेन। सरासर अघि बढ्यो। तर, त्यसको ५ मिनेट बित्न नपाउँदै स्थानीय ६० वर्षीय मनोहरी ढुङ्गेलको ज्यान लियो। ढुङ्गेल पनि चियाबगानमा घाँस काट्दै थिए। उनले हात्ती आएको पत्तै पाएनन्। हात्तीको आक्रमणबाट बाँचेका लम्बबहादुर त्यतिबेला डराए, जतिबेला हात्तीले मनोहरीको ज्यान लिएको सुने। ‘मेरो दिन बलियो रहेछजस्तो लाग्यो,’ लामो सास फेर्दै लम्बबहादुरले भने।

हात्ती छेक्नका लागि विश्व बैङ्कको सहयोगमा निर्माण गरिएको साइरन जडित सोलार फेन्सिङ (विद्युतीय तारबार) प्रयोगमा आएको एक वर्ष भएको छ। झापामा विष्णु भण्डारी जिल्ला वन अधिकृत रहेका बेला विद्युतीय तारबारका लागि विश्व बैङ्कलाई प्रपोजल पठाइएको थियो। विश्व बैङ्कको सहयोगमा नेपाल प्रकृति संरक्षण कोषमार्फत १ करोड २५ लाख रुपैयाँको लागतमा तारबार जडान गरिएको हो।

विद्युतीय तारबार ९८ प्रतिशत उपयोगी भएको बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष तिवारीको दाबी छ। उनी भन्छन्- ‘पहिले नै नेपाल पसेका हात्तीले उपद्रो गरिरहेपनि भारतीय हात्ती अहिले चाहिँ नेपाल पस्न सकेका छैनन्।’ जिल्ला वन अधिकृत बोधराज सुवेदी पनि यो भनाइमा सहमत छन्। उनी भन्छन्- ‘झापामा ५-७ वटा रैथाने हात्ती छन्, ती हात्तीले विनास गरिरहेका हुन्, पारीका हात्ती अहिले नेपाल पस्नै सक्दैनन्।’

यस वर्षमात्रै हात्तीले झापामा तीन जनाको ज्यान लिएको छ। बाहुनडाँगी-२ का मनोहरी ढुङ्गेल, गरामनी-४ का जयनारायण अधिकारी र शरणामति-४ की झुमा भट्टराईको हात्तीकै आक्रमणबाट मृत्यु भयो।

विद्युतीय तारबारको निर्माणपछि स्थानीयले केही राहत पाएपनि पूर्णरुपमा सफल भने हुन सकेको छैन। हात्ती प्रवेश गर्न सक्ने १८ किलोमिटर नाकामा विद्युतीय तारबार लगाइएको छ। २५ वटा गेट निर्माण गरिएको छ। १२ जना कर्मचारी (तारबार टेक्निसियन) छन्। साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म करेन्ट छोडिन्छ।

माथिल्लो तारमा १० हजार र तल्लो तारमा ८ हजार भोल्ट करेन्ट प्रवाह हुन्छ। तर पनि भारतीय क्षेत्रबाट जङ्गली हात्ती प्रवेश गर्ने क्रम नरोकिएको स्थानीय विर्खबहादुर बास्तोला बताउँछन्। 

‘तारबार लगाएपछि एक वर्षसम्म ढुक्क थियो’, उनले भने- ‘फेरि हात्ती कसरी छिर्न थाले पत्तै भएन।’ बढ्दो मानवीय र भौतिक नोक्सानी रोक्न झापाको नकलबन्दादेखि पूर्वी इलामको पाटापुरसम्म विद्युतीय तारबार निर्माण गरिएको भए पनि हात्तीको उपद्रो नरोकिँदा स्थानीय अचम्ममा परेका छन्। हात्तीको दाह्रामा करेन्ट नलाग्ने भएकाले तारबार चुडाउने गरेको हुन सक्ने बाहुनडाँगीबासीको बुझाइ छ। 

बाहुनडाँगी-२ आलडाँगीकी दुर्गा भुजेल भन्छिन्- ‘दिनैपपिच्छे आउँछन्, लाइट बाल्छौँ, खेदाउँछौँ, दाह्राले फेन्सिङ पनि चुडाइदिन्छन्।’ अहिले हात्तीले धानको कुन्यु भत्काउन थालेको छ। ‘यहीँ आँगनबाट हिँड्छ, रातभर भत्काउँछ, बिहान जान्छ,’ स्थानीय रामबहादुर बुढाथोकीले भने। 

तर, फेन्सिङले पटक्कै काम नगरेको भने होइन। यो जडान गरेपछि स्थानीयले खेतमा धान रोपेका छन्। यसअघि उनीहरु खेत बाँझै राख्थेऽ चामल किनेर खाना खान्थे। ‘अरुबेला खेती सखाप पारिदिन्थ्यो, केही रोप्दैनथ्यौँ, यसपाली धान फलाएर खाइयो,’ स्थानीय हर्कमाया कटुवालले भनिन्। अहिले पनि मेची खोलापारि टन्नै हात्ती छन्। ती हात्ती नेपालतर्फ छिर्न खोज्छन्, प्रहरी र स्थानीयको टोलीले रोक्ने गरेको छ।

तस्करीको क्षेत्र

सीमा क्षेत्र भएकाले यस क्षेत्रमा तस्करहरुको ओहोर-दोहोर चलिरहन्छ। राजमार्ग हुँदै अवैध सामान भित्र्याउँदा वा भारत लैजाँदा प्रहरीको फन्दामा पर्ने डरले यस क्षेत्रबाट वारिपारि गर्नेहरु निकै छन्। उनीहरुले रातिको समय तस्करी गर्ने स्रोत बताउँछ। राति सोलार फेन्सिङमा करेन्ट प्रवाह हुने भएकाले तस्करीमा संलग्न व्यक्तिले नै तारबार चुट्टाउने गरेको स्रोतको दाबी छ। ‘तस्करले राति तार छिनाइदिन्छन्, दोष हात्तीले पाउँछ,’ एकजना तारबार टेक्निसियनले भने। 

प्रहरी पनि यस विषयमा जानकार नभएको होइन। काँकडभिट्टा नाकामा सुरक्षास्थिति मजबुत भएकाले बाहुनडाँगी क्षेत्रमा तस्करी बढेको प्रहरीलाई पक्कै थाहा छ। तर, यसतर्फ खासै चासो दिएको पाइँदैन।

के गर्दैछ जिल्ला वन?

जिल्ला वन अधिकृत बोधराज सुवेदीले हात्ती पीडितलाई राहत तथा क्षतिपूर्ति दिइरहेको प्रतिक्रिया दिए। उनका अनुसार आर्थिक वर्ष ०७२/०७३ मा मात्र ९ सय ८७ जनालाई गरी १ करोड ७ लाख रुपैयाँ वितरण गरियो। यस आर्थिक वर्षमा पनि ५९ जनालाई गरी ९ लाख ६३ हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति दिइएको उनले जानकारी दिए।

सरकारले २०६८ सालदेखि हात्तीपीडितलाई राहत तथा क्षतिपूर्ति दिन सुरु गरेको हो। त्यसयता झापामा हात्तीको आक्रमणबाट २८ जनाले ज्यान गुमाइसकेका छन्। सरकारले हालसम्म झापाका १ हजार ४ सय ४६ जना हात्तीपीडितलाई २ करोड ६० लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिइसकेको छ। सामान्य घाइतेलाई ४० हजार रुपैयाँ तथा सख्त घाइतेलाई १ लाख रुपैयाँ दिने गरिएको जिल्ला वन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.