|

जनकपुरधाम : असार १५ गते देशभर धुमधामसँग धान दिवस मनाइयो । तर पानी नपरेपछि  धनुषामा अझै धान रोपाइँ सुरु हुन सकेका छैन । धानको बीउ खेतमै सुक्न थालेको छ । यतिबेला हराभरा देखिनुपर्ने खेत सुख्खा परेपछि किसान चिन्नित छन् ।

धनुषामा कुल ७६ हेकटर खेतीयोग्य जग्गामध्ये ६४ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको छ । यहाँ अधिकांश खेतमा सिँचाइ नपुगेपछि आकाशे पानीको भर पर्नुपर्छ। पानी नपरेपछि धानको बीउ खेतमै सुक्न थालेको लक्ष्मीनिया गाउँपालिका–५ का राजेश यादवले बताए ।

‘धानको ब्याड राख्ने बेलामा पनि पानी परेन’, उनले भने, ‘मोटरले पानी तानेर जसोतसो बीउ राखेँ । अहिले त्यही बीउ पनि सुक्न थालेको छ ।’ ४/५ दिन अझै बर्षा नभए बाँकी बीउ पनि सुकेर काम नलाग्ने हुन्छ।’

प्रदेश २ सरकारले ‘खेत खेतमा सिँचाइ, हात हातमा रोजगारी’ भन्ने आकर्षक नारा ल्याएर किसानको हितमा काम गर्ने भनिएको छ । संघीय सरकारले पनि हरेक वर्ष सिँचाइको योजना ल्याउँछ । तर हालसम्म किसानको खेतमा सिँचाइ पुगेको छैन । धनुषाका ८० प्रतिशत खेतमा सिँचाइ नपुगेको किसानहरु बताउँछन् । 

सिँचाइ योजना नारामै सीमित हुँददा दिनप्रतिदिन खेतहरु बाँझो रहने क्रम बढेको जनकपुरधाम उपमहानगरपालिका–२३ का अशोक साहले बताए । उनले भने, ‘विगतमा एउटा सरकार थियो । अहिले तीन सरकार रहे पनि हामी किसानको अवस्था उस्तै छ ।’ सरकारले किसानका लागि केही गर्छ भन्ने आशै नरहेको उनको भनाइ छ ।

समयमा बर्षा हुँदा गतवर्ष धनुषामासमेत धान उत्पादन बढेको थियो । तर यसवर्ष वर्षाले साथ नदिने देखिएपछि धान उत्पादन घट्ने किसानहरुको भनाइ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.