|

नखुलेको आकाश खुलेर आयो

ऊ सायद यो बाटो भुलेर आयो

माथिका गजल शेर केही समयअघि निकै चर्चामा रहे, सामाजिक सञ्जालमा साथै व्यक्तिका जिब्रामा समेत। एउटा टेलिभिजन कार्यक्रममा एक महिलाले यी शेर आफ्नो रचना भनी वाचन गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् यसका वास्तविक रचनाकारले आश्चर्य प्रकट गरे- आफूले लेखेको रचना कसरी कञ्चन शर्मा नाम गरेकी महिलाले आफ्नो भनेर सुनाइन्?

आफ्नो रचना अर्कै व्यक्तिले उसको आफ्नो रचना भनेर प्रस्तुत गरेपछि सोबारे सामाजिक सञ्जालमा जिज्ञासा राख्नु वा प्रष्टीकरण दिनु जरुरी ठाने र उनले यस रचनाबारे वास्तविकता खुलाए। तर उनीमाथि विभिन्न व्यक्तिले कमेन्ट र म्यासेजमार्फत् अनेक नकारात्मक टिप्पणी गरे। उनलाई एक प्रकारले तनाव दिइरहे। तर जब कञ्चन शर्मा र सो रचनाबारे यथार्थ खुल्दै गयो, तिनै टिप्पणीकर्तामध्ये धेरैले माफी पनि मागे उनीसँग।

यो गजल रविले झन्डै दुई दशकअघि रचना गरेका हुन्। यस गजललाई उनको गजलकृति 'उही बाढी उही भेल'को दोस्रो संस्करण (२०६०) मा समावेश गरेका छन्। यही गजल झण्डै एक दशकअघि सागर न्यौपानेको सङ्गीत र सजल न्यौपानेको स्वरमा रेकर्डसमेत भइसकेको छ।

यी शेरका वास्तविक रचनाकार रवि प्राञ्जल हुन्, जो नेपाली गजलसाहित्यमा अत्यन्त प्रसिद्ध र सम्मानित छन्। अझ उनी एउटा राम्रा गीतकार पनि हुन्। सङ्गीतसँगको यिनको प्रेम पनि निकै गाढा छ। भारतको इलाहवादबाट सङ्गीतमा 'बी म्यूज' गरेका रवि आफैँ पनि सङ्गीत गर्छन्। 'तर यो मेरो शोख मात्र हो, उनी भन्छन्, निरन्तरता दिन सकिनँ', उनी भन्छन्। रविलाई चिनाउन पर्याप्त एउटा गीत छ, जुन धेरै सङ्गीतप्रेमीले अझै पनि गुनगुनाउँछन्- 'सबै बेहोसी नशा पिएर, बिना पिएरै बेहोस छु म।' भक्तराज आचार्यको सङ्गीत र स्वरमा रहेको सो गीतले नै रविलाई नेपाली श्रोतामाझ राम्रा गीतकारका रूपमा स्थापित गरिदियो। उनका तीनवटा गीत, गजल एल्बमसमेत बजारमा आइसकेका छन्।

यो गजल रविले झन्डै दुई दशकअघि रचना गरेका हुन्। यस गजललाई उनको गजलकृति 'उही बाढी उही भेल'को दोस्रो संस्करण (२०६०) मा समावेश गरेका छन्। यही गजल झण्डै एक दशकअघि सागर न्यौपानेको सङ्गीत र सजल न्यौपानेको स्वरमा रेकर्डसमेत भइसकेको छ।

यो गजलको रचना सन्दर्भको कुरा गर्दा रविले यो अतिस्वाभाविक मानवीय अवस्थाको विश्लेषणबाट भएको बताए, जुन हरेक मानिसको जीवनभोगाइ हो। अनेक मान्छेका अवस्था र कतिपय उनका आफ्नै भोगाइ र अनुभूति पनि यसमा भएको उनले बताए।

'आफ्नो कुनै रचनाले कसैको वास्तविक जीवनसँग मेल खानु नै सर्जकको सफलता हो', उनी भन्छन्, 'कञ्चनजीको जीवनमा मेल खायो होला, उहाँले मनपराएर कण्ठ पारेर सुनाउनुभो।'

सामान्य अवस्थामा रहेको कोही मानिस दुःख, अभाव, पीडा, असन्तुष्टिलगायतका कुराहरुबाट स्वाभाविक रूपमा गुज्रिरहेको हुन्छ। यस्तो बेलामा अचानक केही खुसी, केही अप्रत्यासित प्राप्तिले ऊ प्रफुल्ल बन्छ, खुसी हुन्छ तर यो यथार्थ उसले अनुभूत गर्दैन त्यसबेला कि केही समयपछि नै ऊ पुनः पहिलेकै अवस्थामा हुनेछ। अर्थात् खुसी, प्राप्ति, सन्तुष्टि भनेका केही क्षणका लागि मात्र हुन् भन्ने उसले त्यसबेला भुल्छ, जब उसले केही प्राप्त गर्छ। 'यही सन्दर्भलाई यस गजलमा प्रस्तुत गर्ने कोसिस हो मेरो', रवि भन्छन्।

हुन पनि यही भन्छ यस शेरले-

'नखुलेको आकाश खुलेर आयो' अर्थात् उदास, दुःखी र अभावको जीवनमा केही उज्यालो, केही प्राप्ति भएर आयो वा कोही कसैको जीवनमा आशा बनेर आयो, विश्वास बनेर आयो- यही भन्छ माथिल्लो पंक्तिले। तर लगत्तै शंका देखाउँछ दोस्रो पंक्तिले-

'ऊ सायद यो बाटो भुलेर आयो'

अर्थात् जे प्राप्ति भयो, त्यो छिनका लागि मात्र थियो। त्यही भएर कतै जान वा आफूसँग धेरै समय नरहन, नबस्न मात्र ऊ यहाँ आएको हो, आफूसँग नजिक भएको हो अर्थात् ऊ कतै अन्तै जान हिँडेको हो, तर बाटो भुलेर यहाँ आइपुगेको हो, ऊ यहाँ रहँदैन भन्ने भाव छ, दोस्रो पंक्तिमा।

सायद यही कुरा वा यस गजलको यही भावले कञ्चनलाई तान्यो र उनले सो रचना वाचन गरिन्- सो टेलिभिजन कार्यक्रममा । के यो चोरी हो त? 'होइन, म यसलाई चोरी किन पनि भन्दिनँ भने यो रचना झण्डै डेढ दशकअघि नै मेरो गजलकृतिमा प्रकाशित छ र एक दशकअघि नै रेकर्डसमेत भइसकेको छ', रवि भन्छन्, 'यसलाई चोरी भन्नुपर्ने कारण नै छैन।' उनलाई त बरु खुसी पो लागेको छ रे! 'आफ्नो कुनै रचनाले कसैको वास्तविक जीवनसँग मेल खानु नै सर्जकको सफलता हो', उनी भन्छन्, 'कञ्चनजीको जीवनमा मेल खायो होला, उहाँले मनपराएर कण्ठ पारेर सुनाउनुभो।' तर रचनाकारको नाम पनि भनिदिएको भए अझ राम्रो हुने थियो भन्ने उनको धारणा छ। कतिपय अवस्थामा रेकर्डेड कार्यक्रममा सम्पादनको क्रममा कतिपय तथ्य छुटेका वा हराएका पनि हुन सक्छन् भन्ने उनको बुझाइ छ। 'यद्यपि, यस्ता कुरामा सम्बन्धित पक्षले ध्यान दिनुचाहिँ राम्रो हुन्छ', रवि भन्छन्।

रविको कञ्चनसँग चिनजान छैन। उनले पहिलो पटक सोही टेलिभिजन कार्यक्रममा उनलाई देखेका हुन्। तर रविका सिर्जनासँग भने कञ्चनको गहिरो चिनजान रहेछ, जुन सोही गजलबाट देखियो। सबै पाठक, श्रोतासँग लेखकको प्रत्यक्ष चिनजान हुन संभव पनि छैन। यद्यपि, कञ्चन एउटी राम्रो साहित्यिक चेत भएकी पाठक हुन् भन्ने कुरा यसबाट पुष्टि हुन्छ। उनको अवस्था जे छ, त्यसबाट उनी चाँडै मुक्त हुन्, पुनः पारिवारिक सामाजिक जीवनमा फर्कून् भन्ने कामना पनि रविले गरे।

कञ्चनले सो गजलको अन्तिम दुई पंक्ति, जसलाई 'मकता' भनिन्छ, त्यो वाचन गरिनन्, कारण- अन्तिम पंक्तिमा गजलकारको नाम उल्लेख थियो, जसलाई 'तखल्लुस' भनिन्छ। यस्तो थियो सो पंक्ति-

भर्खर फुलेको फूल थियो 'रवि'

आँसुको झरीमा रुझेर आयो।

यसको माथिल्लो पंक्तिमा 'रवि' शब्द उल्लेख छ, जुन सर्जक रवि प्राञ्जलको नाम हो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.