|
file Photo

धनकुटा : जिल्लाका सात स्थानीय तहमा कृषि, शिक्षा पर्यटन एवं पूर्वाधार प्राथमिकरण गर्दै आगामी आर्थिक वर्षका लागि करिब तीन करोडको बजेट सार्वजनिक गरेका छन्।

धनकुटाका सात स्थानीय तहले आगमी २०७६/०७७ का लागि जम्मा दुई अर्ब ७१ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। सबै स्थानीय तहको चौथो अधिवेशन गाउँ तथा नगरसभाबाट निती तथा कार्यक्रमसहित आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेका थिए।

आगामी वर्षको लागि प्रस्तावित खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट समानीकरण अनुदान, राजस्व बाडफाड र सर्शत अनुदान साथै प्रदेश सरकारबाट प्राप्त समानीकरण र सवारी साधन कर, सामाजिक सुरक्षाका कार्यक्रमसमेत समावेश गरिएको स्थानीय तहका उप प्रमुखहरूले जनाएका छन्।

धनकुटा नगरपालिकाले नीति तथा कार्यक्रममा ५५ करोड ५६ लाख २५ हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरेको छ। धनकुटा नगरले एभोकाडो खेती प्रोत्साहनका साथै एक वडा एक उत्पादन, युवा लक्षित उद्यमशिलता र स्वरोजगार खोजी कार्यक्रम बढी जोड दिएको छ। प्राविधिक शिक्षा, खानेपानी र स्वास्थ्य सेवा र बाह्रै महिना सञ्चालन हुने सडक स्तोरन्नतीलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख शकुन्तला बस्नेतले बताइन्।

महालक्ष्मी नगरपालिकाले एफएम रेडियो सञ्चालन र केवलकार निर्माण गर्ने महत्वकांक्षी योजनासहित ४२ करोड ४० लाख ६० हजार रुपैंयाको बजेट सार्वजानिक गरेको छ। नगरले महिलाको स्वास्थ्य पहुँच एवं शसक्तिकरण र क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नीति तथा कार्यक्रममा स्वस्थ्य व्यक्ति महालक्ष्मीको शक्ति भन्ने नारा सहित जेष्ठ नगरीक स्वास्थ्य सेवा बालबालिका खोप, स्वास्थ्य संस्थामा गर्भवती महिलाको पहुँचका लागि नगर सहयोग कार्यक्रम तय गरेको छ। जंगफुट हटाएर बालबालिकालाई घरमा जे पाक्छ त्यहि खाजा खाने अभियान सञ्चालन गर्ने भएको छ।

उद्योग तर्फ झोला, टोपी, चप्पल, साबुन, मैनबत्ति तथा कृषिजन्य उद्योग स्थापना गर्न नगर सहयोग कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पर्शुराम नेपालले बताए। नगरको बजेटलाई पूर्ण रुपमा कार्यान्वयनका गर्नका साथै प्रदेश सरकार र संघिय सरकारसंगको समन्वय गरि सामाजिक एवं सास्कृतीक क्षेत्रका विभिन्न कार्य गर्ने नीति तथा कार्यक्रममा विशेष व्यवस्था गरिएको नगर उपप्रमुख नेपालको भनाइ छ।

कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिँदै पाख्रिबास नगरपालिकाले  आगामी आर्थिक वर्षका लागि ३८ करोड ९१ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गर्दै नगरले गरिब तथा बेरोजगारलाई जीविको पार्जन सुधार गर्दै आय आर्जनका लागि कृषि, उद्योग र व्यवासयमा प्राथमिकीकरण गरेको छ।

खानेपानीका मूहान संरक्षण गर्न रिचार्ज पोखरी बनाउने, एक वडा एक खेल मैदान, एक घर बीस फलफूलका विरुवा, पूर्ण सरसफाइ युक्त बनाउने कुरा पनि बजेटमा उल्लेख गरिएको छ। जिल्लाको सबैभन्दा दुर्गम मानिएको चौविसे गाउँपालिकाले सडक, पर्यटन र प्राविधिक शिक्षालाई प्राथमिकता प्रदान गर्दै आगामी आर्थिक वर्षका लागि ३६ करोड ४७ लाख ९१ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ।

गाउँसभामा बजेट पेस गर्दै उपाध्यक्ष यज्ञकुमारी रुचालले चौविसे गाउँपालिकालाई पर्यटन विकासका लागि नै सडक सञ्जालबाट जोड्ने मुख्य लक्ष्य रहेको बताइन। स्थानीयको आवश्यकताका आधारमा बजेट ल्याइएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिसमेत बनाइएको उपप्रमुख रुचालको भनाई छ।

जिल्लाको शहिदभूमि गाउँपालिकाले सुन्तलाको पकेटक्षेत्र संरक्षणका कार्यक्रम तय गर्दै २९ करोड २१ लाख ४४ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ। कृषिमा सुन्तला बगान संरक्षण र विस्तार घरघरमा विद्युत र एकघर एकधारा खानेपानी प्राथमिकीकरण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।

राईका अनुसार कृषिमा एक वडा एक पकेट क्षेत्र, सबै विद्यालयमा तथा सबै स्वास्थ्य चौकीमा कम्प्यूटर र इन्टरनेट जडान गर्ने बजेटमा उल्लेख गरिएको छ। छथर जोपाटी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्याक्रमसहित ३२ करोड ८७ लाख २४हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

अर्गानिक उत्पादनमा जोड दिदै कृषि र शिक्षमा जोड दिँदै आएको बजेटमा वडा वडामा कृषि पठशाला र टोल टोलमा कृषि उपज संकलन केन्द्र निर्माण र पशुपालनमा अनुदानका कार्यक्रम जोड दिएको छ। साँगुरीगढी गाउँपालिकाले पर्यटन विकासका लागि जोड दिँदै उद्योग व्यवसाय र अर्गानिक उत्पादनमा जोड दिँदै ३६ करोड ४२ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ।

गाउँपालिको पूर्वधार विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास विशेष प्राथमीकता राखरे बजेट विनियोजन गरेको गाउँपालिका उपप्रमुख विन्द्रा राईले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.