कपिलवस्तु घटनामा १४ जनाको ज्यान गएको थियो

|

कपिलवस्तु : १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन्।

२०६४ भदौ ३० गते शिवराज नगरपालिका साबिक विशनपुर गाविस ६ कुदरभेटवाका मुस्लिम अगुवा मोइत खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि हिंसा भडकिएको थियो। घटनामा अगुवा खाँ सहित १४ जनाको ज्यान गएको थियो। विभिन्न स्थानमा आगजनी, लुटपाट, तोडफोड गरी करौडोका क्षति भएको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा शिवराज नगरपालिकाको बिसनपुरका भदई यादव, जगदिश गुप्ता, चिन्कु मुसलमानलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेयले बताए। पक्राउ परेको तीन अभियुक्त कपिलवस्तु घटनाका आरोपी रहेको उनले बताए।

नेता खाँको हत्यापछि उनीहरूले देवीपुर गाउँमा आगजनी गरेर फरार भएका थिए। फरार भएपछि अदालतले उनीहरूविरुद्धको मुद्दा मुल्तबी राखेको थियो। पक्राउ परेको उनीहरूलाई अदालतमा पठाइएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।

घटनापछि विशनपुर गाउँका सय बढी परिवार विस्थापित बनेका थिए। विभिन्न पक्षको पहलपछि विस्थापितलाई गाउँमा पुनर्स्थापना गरिएको कपिलवस्तु घटनापीडीत संघर्ष समितिका संयोजक महादेव पोख्रेलले बताए। घटनापछि सरकारले लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।

तर, अझैसम्म समितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा अझैसम्म पीडितहरूले न्याय नपाएको उनले बताए। ‘प्रतिवेदन सार्वजनिक गर्न हामी धेरै धायौँ, कोशिस गर्यौँ तर सफल हुन सकेनौँ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.