अर्थ

सियोसमेत बन्दैन नेपालमा? के के बन्छ त?
SHARES

पुस ८, २०७३

    काठमाडौं: तपाईं हामीले पहिलेदेखि भन्दै र सुन्दै आएको कुरा हो नेपालमा सियो पनि बन्दैन। हामीले भन्ने र सुन्ने गरेको यो असत्य भने हैन। हो, अहिलेसम्म नेपालमा सियो बनेको छैन।

    सियोलाई सानो र सामान्य मानेर त्यो नै नबन्दा नेपालमा केही बन्दैन भनेर उदाहरण दिने गरिएको हो। तर सियो नबने पनि नेपालमा अरु उत्पादन नहुने होइन। नेपालमा उत्पादन हुने धेरै सामान छन्। सियो नबने पनि निर्माणमा प्रयोग गरिने छडलगायतका निर्माण सामग्री भने यही बन्छ।

    पूर्वअर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा भन्छन्- 'नेपालमा केही पनि उत्पादन हुँदैन भन्ने भ्रम बढ्यो, तर के उत्पादन हुँदैन नेपालमा?' नेपालमै उत्पादन हुन्छ, अत्यावश्यकदेखि बिलासीसम्मका सामाग्री। मागअनुसारको उत्पादन बृद्धि हुन नसकेको मात्रै हो ।'

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि नेपालमा केही उत्पादन भएन भन्ने भ्रम रहेको बताउँछन्। 'आवश्यकताअनुसारको उत्पादन हुन नसकेको त हो तर केही उत्पादननै भएन भन्ने भ्रम म पनि देख्छु, त्यो सत्य होइन' उपाध्यक्ष श्रेष्ठले थाहाखबरलाई भने।

    के छैन नेपालमा?
    नेपालमा कृषिजन्य दर्जनौं उद्योगहरु स्थापना भएका छन्, चिनी कारखानाहरु छन्, मैदा उद्योग छन्, कुखुराको मासुमा नेपाल आत्म निर्भरर छ, मासु प्याकिङको लागि समेत उद्योग स्थापना भएका छन्। २२ सयभन्दा बढी जुत्ता उद्योग छन्। राइस मिल, दाल उद्योग, चामल तथा दालको प्याकिङ तथा पोलिस गर्ने उद्योग नेपालमा छन्। सयौंको संख्यामा ब्याट्री, फलाम र भाडा बनाउने उद्योग पनि संचालनमा छन्। विदेशबाट सामग्री ल्याएरै भएपनि गाडी उत्पादनको लागि नेपालमै प्लान्ट निर्माण भएको छ। नेपालमा तयार गरिएको धागो तथा पोलस्टार लाएर विदेशमा सामान उत्पादन गरिन्छ। साढे २ सय पानी, ३ सय कपडा, ५० सिमेन्ट, १४ क्लिङकर, ४० औषधि, २ सयभन्दा बढी साबुनलगायतले निरन्तर उत्पादन गर्दैआएका छन्। नेपालमा उत्पादन हुने धरै सामग्री देशभर पनि वितरण गरिएको छैन। कति सामग्री विदेशी बजारमा पुर्‍याउन सकिएको छैन। कति सामग्री विदेशी बजारमा पुगेका छन् तर स्वदेशमा प्रयोग गर्न सकिएको छैन। 

    यी नेपालका उत्पादनहरु स्वदेशी र विदेशी बजारमा प्रयोगमा रहेका छन्।

    उनी गलैचा?

    तपाईंको घर आगनमा बिहान बेलुका डुलाइने उनीका गलैचा नेपालमा उत्पादन हुन्। त्यस्ता गलैचाहरु सहरका गल्लीगल्ली मात्रै होइन गाँउगाँउमा पनि पुर्‍याउने गरिएको छ र त्यसको माग बढ्दो छ।

    नेपालभित्र मात्रै हैन विदेशी बजारमा पनि उनीको गलैचाको माग बढ्दो छ र त्यो उनी गलैचा नेपालमा बन्ने गर्छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो तीन महिनाको अवधिमा विदेशी बजारमा दुई अर्ब ७ करोड रुपैयाँको उनी गलैचा निर्यात भएको छ।

    कपडा

    नेपालमा धेरै प्रकारका कपडा उत्पादन हुने गरेको छ। नेपालमा उत्पादित कपडा मात्रै लगाउन चाहेमा पर्याप्त छ। करिव ३ सय कपडा उद्योग अहिले पनि सञ्चालनमा छन्। तर पनि ती  उद्योगले उनेपाली बजारको १५ प्रतिशत हिस्सामात्र लिएका छन्। कपडा उद्योगमा २० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ।

    अल्लो रेसालगायतबाट उत्पादित तयारी पोशाककाे माग विदेशी बजारमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै १ अर्ब ५९ करोड रुपैयाँ बराबरका तयारी पोशाक निर्यात गरिएको छ। त्यस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको टेक्सटाइल उत्पादन  निर्यात भएको छ।

    • फलाम तथा स्टिल र तिनका उत्पादन

    'फलाम तथा स्टिलबाट धेरै सामग्रीहरु हामी उत्पादन गर्छौ तर अहिलेसम्म सियो भने उत्पादन गर्न सकेका छैनौं' ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले थाहाखबरलाई बताए। कटुवालकाअनुसार फलाम तथा स्टिलजन्य सामग्रीमा नेपाल आत्मनिर्भर हुने चरणमा छ। अहिले नेपाली बजारमा ८० प्रतिशत हिस्सा स्वेदेशी उत्पादनले लिएको छ।

    फलाम तथा स्टिल र तिनका उत्पादन निर्यातसमेत हुने गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब १० करोड रुपैयाँ बराबरका यस्ता सामग्री निर्यात भएको छ।

    चाउचाउ तथा विस्कुट

    तपाई हाम्रो दैनिक जीवनमा प्रयोग हुने चाउचाउ तथा विस्कुटमा नेपाल आत्मनिर्भर सरह छ।

    अहिले वार्षिक ९ अर्ब रुपैयाँ बराबरको चाउचाउ नेपाली उद्योगलेनै उत्पादन गर्छन्। नेपालीमा उत्पादित चाउचाउ नेपाली बजारमा मात्रै सीमित छैन।

    मासिक ८ करोड रुपैयाँ बराबरका चाउचाउ विदेशी बजारमा पुग्ने गरेको छ। हाल नेपालमा सीजी फूड्सको वाईवाई, हिमालय स्न्याक्स एण्ड नुडल्सको मायोज, एसिएन थाई फूड्सको रमपम तथा गण्डकी नूडल्सको रारालगायत ब्राण्डमा चाउचाउ उत्पादन हुने गरेको छ।

    त्यस्तै दर्जनौं स्वदेशी कम्पनीले विस्कुट उत्पादन गरिरहेका छन्। 

    नेपालमा उत्पादन हुने करिब २५ प्रकारका विस्कुटले स्वदेशको मागको ६० प्रतिशत हिस्सा ओगटेका छन्। नेपाल विस्कुट उत्पादक संघको तथ्यांकअनुसार हाल नेपालमा मासिक १५ हजार टन विस्कुट उत्पादन हुँदैआएको छ।

    सिमेन्ट

    पक्की घर बनाउन होस् वा पूर्वाधार निर्माणमा, सिमेन्ट अपरिहार्य छ। अब नेपाल सिमेन्टमा समेत आत्मनिर्भर हुने चरणमा छ। आयात एकदम कम छ भने नेपालमा उत्पादन निरन्तर बढ्दो छ।

    अहिले नेपालमा ८४ वटा सिमेन्ट दर्तामा रहेका छन् भने ५० वटा सिमेन्ट उद्योग सञ्चालन र १२ वटा सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन्। सिमेन्ट उद्योग संघको तथ्यांक अनुसार सञ्चालनमा आएका ५० उद्योगमा ८० अर्बभन्दा बढीको लगानी छ।

    नेपालका औद्योगिक घरनादेखि विदेशी लगानीकर्तासमेतमा सिमेन्ट उद्योग प्राथमिकतामा परेको छ। सिमेन्ट उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ क्लिङकर भने ८० प्रतिशतभन्दा बढी आयात गरिने गरेको छ। पछिल्ला वर्षमाहरु नेपालमा क्लिङकर उद्योगसमेत बढ्दै गएका छन्। हाल १४ वटा क्लिङकर उद्योग सञ्चालमनमा छन्।  

    जुस र मदिरा

    नेपालमा जुस र मदिरा पनि उत्पादन हुने गरेको छ।

    अहिले नेपालमा ७० वटा कम्पनीले ३ सय ५० प्रकारका मदिरा उत्पादन गर्दैआएका छन्। नेपाली बजारमा मदिराको माग बढ्दो छ। नेपाली मदिरा व्यवसायीहरुले  हरेक वर्ष उत्पादन बृद्धि गर्दै आएका छन्। नयाँ उद्योग खोल्न व्यवसायीहरु बीच होडबाजीनै चलिरहेको छ। अहिले ओल्ड दरबार, भोड्का, रुस्लान, जिङ भोड्का, ८८४८ भोड्का, खुकुरी रम लगायतका मदिराले नेपाली बजार जमाएका छन्। नेपाली उत्पादन भए पनि विदेशी ब्रान्डेड रक्सीको आयात भने घटेको छैन।

    त्यस्तै जुस पनि नेपालमै उत्पादन हुने गरेको छ। नेपालमा उत्पादन हुने जुसको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दो छ। स्याउ, नासपति, सुन्तला, मुन्तला, जुनार, भोगटे, कागती, एभोकाडो, अनार, जैतुन, आँप, केरा, कटहर, लिची, भुईंकटहर, मेवा, अम्बा, जामुन, अंगुरलगायतबाट जुस उत्पादन गर्न दर्जनौं उद्योग नेपालमा छन्। अहिले प्रत्येक महिना १२ करोड रुपैयाँ बराबरको नेपालमा उत्पादन हुने जुस अन्तर्राष्ट्रिय बजारमा निकासी भएको छ।

    छाला तथा छालाजन्य सामग्री

    छाला तथा छालाजन्य उत्पादनमा नेपालले अग्रगति लिएको छ। नेपाली छाला उद्योगबाट उत्पादित सामग्री २० प्रतिशत मात्रै स्वदेशी बजारमा खपत हुने गरेको छ। बाँकी सबैजसो उत्पादन भारत निकासी हुने गरेको व्यवसायीहरु बताउँछन्।  राँगाभैंसीको वेट बफ ब्रान्ड र क्रस्ट बफ ब्रान्डको पाँच लाख थान छाला बर्सेनी उत्पादन हुने गरेको छ।

    यसैगरी बाख्रा र खसीको छाला वार्षिक १५ लाख थान उत्पादन हुन्छ। यस्तो छाला ब्याग, जुत्ता, ज्याकेट, पर्स, सोफा र बसको सिटलगायत बनाउन प्रयोग हुन्छ। भारत बाहेकको अन्तर्राष्ट्रिय बजारमा मात्रै मासिक ६ करोड रुपैयाँ बराबरको छाला निकासी हुने गरेको छ।  

    जुत्ता

    नेपालमा जुत्ता चप्पल उत्पादनमा धेरै कम्पनी तल्लीन छन्। जुत्ता व्यवसायीहरुका अनुसार अहिले वार्षिक ५ करोड जोर जुत्ता स्वदेशी बजारमा रहेकोमा ७० प्रतिशत हिस्सा नेपाली उत्पादनका छन्।

    नेपालमा पहिलोपटक २०२२ सालमा बाँसबारी छाला जुत्ता कारखाना खुलेको थियो। अहिले बाँसबारी छाला जुत्ता बन्द छ। सयौं निजी क्षेत्रका उद्योगहरु स्थापना भएका छन्। घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ८५०, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका २०६, परम्परागत सिपमा आधारित दर्ता नभएका अनुमानित ५००, उन र प्राकृतिक रेशामा आधारित करिव ५०० उद्योग जुत्ता उद्योगमा दर्ता छन्। स्वदेशी छाला जुत्ता उद्योगमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ।

    • औषधि उद्योग

     नेपालमै गुणस्तरीय औषधि उत्पादन गर्ने कम्पनीहरु छन्। ती कम्पनीको उत्पादनले नेपाली मागको ६० प्रतिशत हिस्सा ओगटेको छ। लोमस फर्मास्युटिकल्सका निर्देशक प्रबलजंग पाण्डेका अनुसार ४० वटा औषधि उद्योगबाट उत्पादित ७७ थरिका औषधिमा नेपाल आत्मनिर्भर छ।

    नेपाली औषधि उद्योगमा २० अर्ब रुपैयाँ लगानी पुगेको छ। औषधि उद्योग स्थपना हुने र भएका उद्योगले समेत उत्पादन बृद्धि गर्ने क्रम जारी रहेको छ। यसैबीच लामो समयदेखि बन्द नेपाल औषधि लिमिटेड सञ्चालनको क्रममा छ।

    साबुन

    दैनिक जीवनमा अत्यावश्यक हो साबुन। नुहाउने, कपडा धुन, भाडा माझ्‍न प्रयोग हुने साबुन नेपालमा बनिरहेका छन्। उद्योग विभागमा २ सयभन्दा बढी साबुन उद्योग दर्ता भएका छन्।

    बहुर्राष्ट्रिय कम्पनी युनिलिभरले समेत नेपालमा नुहाउने तथा लुगाधुने साबुन उत्पादन गर्दै आएको छ। २५ भन्दा बढी ठूला उद्योग र सञ्चालनमा छन्। साना उद्योगहरुले समेत गरी हरेक महिना १२ देखि १५ हजार मेट्रिकटन साबुन उत्पादन गर्दैआएका छन्।

    १ सयभन्दा बढी ब्राण्डका लुगाधुने साबुन उत्पादन भइरहेका छन्।  त्यसमध्ये व्हील ओके, पूजा, धोनी, दियो, त्रिशक्ति, भी–सिरिज सबैभन्दा बढी विक्री हुने लुगाधुने साबुनका ब्राण्ड हुन्। त्यस्तै भाँडा माझ्ने साबुनमा भीम, अल्फा, रिच, सिल, सेवा, भी–सिरिज र निरमाको बढी माग रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन्।

    गाडी

    बिलासी साधनको रुपमा हेरिने गाडी तथा मोटरसाइकलहरु अहिले नेपाली उत्पादन छैन।

    यसअघि विदेशबाट सामान ल्याएर मुस्ताङ् म्याक्स गाडी र अन्ना लिफानको बाइक उत्पादन हुँदै आएकोमा अहिले ती उत्पादन बन्द छन्। तर गोल्छा अर्गनाइजेशन नेपालमै बजाजका मोटरसाइकल उत्पादन गर्ने अन्तिम चरणमा जुटेको छ।

    बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता रहेको गोल्छा अर्गनाइजेसनले नवलपरासीको रामग्राममा प्लान्ट स्थापना गरेको छ। यसअघि यो समूहले नै विराटनगरमा रहेको प्लान्टबाट मुस्ताङ गाडी उत्पादन गरेको थियो।

    पोलिष्टर तथा अन्य धागो

    कपडा तथा अन्य सामग्री उत्पादनको लागि आवश्यक धागो तथा पोलिष्टर उत्पादन दर्जनौं उद्योगबाट हुँदैआएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै १ अर्ब ४१ करोड रुपैयाँ बराबरका यस्ता सामग्री विदेशी निकासी भएको छ। धागो तथा पोलिष्टर विदेशी बजारमा पुगी त्यही धागोबाट उत्पादित सामग्री नेपालमा आएर हामीले प्रयोग गर्दै आएका छौं।

    यो हो तथ्य
    नेपालमा केही उत्पादन हुँदैन भन्ने होइन। तर बजारको माग अनुसार नेपालमा उद्योग बृद्धि हुन सकेका छैन्। उद्योगको हिस्सा घट्दै गएको छ। सञ्चालनमा रहेका उद्योगले क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन्। गत आर्थिक वर्ष नेपालमा सञ्चालनमा रहेका उद्योगले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उत्पादन गरेका थिए। आर्थिक वर्ष २०७१/७२ मा नेपाली उद्योगको औसत क्षमता उपयोग ५२.७ प्रतिशत थियो। एक वर्षको अवधिमा अर्थात आर्थिक वर्ष २०७२/७३ मा भने औद्योगिक उत्पादन क्षमता ४ प्रतिशत बढी ह्रास आएको छ। यो आर्थिक वर्षमा नेपालका उद्योगहरुले औसत क्षमताका ४० प्रतिशत मात्रै उत्पादन गर्न सकेको नेपाल राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्ष वनस्पती घ्यू तथा तेल समूह, अन्य खाद्य पदार्थ समूह, पेय पदार्थ समूह, दुग्ध पदार्थ, सुर्तिजन्य वस्तु, कागज, सिमेन्ट, फलामको छड तथा पत्ति र घरेलु धातुका सामानको उत्पादनमा ह्रास आएको छ। तर तयारी कपडा, पश्मिना, औषधि र प्लाष्टिकजन्य वस्तुको उत्पादन बढेको राष्ट्रबैंकको अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.चन्द्रमणि अधिकारीले थाहाखबरसँग भने- 'नेपालमा के उत्पादन हुन्छ या हुँदैन भन्दा पनि माग अनुसारको उत्पादन नबढाउने, प्रत्येक वर्ष आयात व्यापारको हिस्सा बढ्ने तर निर्यात नबढ्ने भएकोले नेपालको औद्योगिक क्षमता कमजोर भएको हो। जसले राष्ट्रिय अर्थतन्त्रमा नकरात्मक प्रभाव पारेको छ।'

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]