|

भद्रपुर, (झापा) : नेपालमा प्रतिबन्धित भारतीय ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि नेटवर्किङ व्यवसायमार्फत नेपालमा कारोबार गरेको आरोपमा झापा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। 

भारतको चेन्नईस्थित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिद्बारा उत्पादित विभिन्न प्रकारका आयुर्वेदिक औषधिलाई नेपाली बजारमा कारोबार गराउन भारतीय नेटवर्किङ व्यवसायले नेपाली युवायुवतीलाई प्रयोग गर्न थालेको थाहाखबरमा समाचार आएलगतै प्रहरीले झापाको मेचीनगरबाट १३ महिलासहित २१ जनालाई पक्राउ गरेको हो। 

प्रतिबन्धित औषधिलाई नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौँ नेपाली युवालाई ठगी धन्दामा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएपसी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका उनीहरूले मेचीगरस्थित धुलाबारीको खुट्टेडाँगीमा एउटा कोठा भाडामा लिएर औषधिको नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। पक्राउ पर्नेमा १३ महिला र ८ जना पुरुष रहेका छन्। उनीहरूको उमेर १७ देखि २० वर्ष समूहका रहेको बताइएको छ।

पक्राउ पर्ने झापासहित अधिकांश कैलाली, सल्यान, दाङ, बैतडी लगायतका युवायुवती रहेको डिएसपी श्रेष्ठले बताए। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी जान लागेका उनीहरूलाई शंका लागेर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

‘मानव तस्करले भारतमा बेच्न लागेको आशंका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिए पनि औषधिको नेटवर्किङ व्यवसायमा संलग्न भएको पछि खुलेको हो', उनले भने। तीनदिन अघि मात्र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी पाँच लाख मूल्य बराबरको ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि बरामद गरेको थियो।  

अवैध रूपमा नेपाल भित्र्याइएको ओरियन्ट्स कम्पनी लेखिएको विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरी आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको थियो। 

नेटवर्किङको जालोमा नेपाली युवा

भारतको चेन्नई मुख्य कार्यालय रहेको ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रा।लिले भारतको अन्य राज्यमा समेत कार्यालयको विस्तार गरी नेपालको सीमावर्ती बजारलाई लक्षित गरी  नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको पाइएको छ। नेपाली बजारमा औषधि भित्र्याउन भारतीय नेटवर्किङ व्यवसायले नेपाली युवायुवतीलाई प्रयोग गर्दै आइरहेका छन्। जसले गर्दा गाउँ तथा नगरका सयौँ नेपाली युवायुवती ठगिनुका साथै करोडौँ नेपाली रुपैयाँ भारत गइरहेको छ।

भारतीय नेटवर्किङ व्यवसायले विभिन्न प्रलोभन देखाएर आठ हजारसम्म भारतीय रुपैयाँ लिई एक साताको तालिम दिएर हजारौँको औषधि बोकाएर उनीहरूलाई गाउँघरमा विक्री वितरणका लागि पठाउने गर्दछ।

शुल्क बुझाई भारतमै गएर तालिम लिएपछि उनीहरू सदस्यको रूपमा त्यस कम्पनीमा संलग्न हुन्छ र अरूलाई पनि सदस्य बनाउँदै कम्पनीको औषधि बेचेर व्यापारलाई बढाउँदै आइरहेका छन्। यस्तो काममा नजिकैको साथीले लोभ्याएपछि त्यहाँ पुग्ने गरेको नेटवर्किङ व्यवसायमा फसिएर पीडित बनेकाहरू स्वयं बताउँछन्।

सो कम्पनीले झापासहित अन्य विभिन्न जिल्लाहरूमा घर तथा फ्ल्याट नै भाडामा लिएर नेपाली नागरिक ठग्न नेपाली युवायुवती नै प्रयोग गरिरहेको पाइएको छ। उक्त कम्पनीको नेटवर्किङ व्यवसाय मार्फत एक हप्तामै करोडौँ नेपाली रकम त्यहाँ जम्मा हुने गरेको छ।

भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको सङ्ख्या कति छन् भनी यकिन तथ्याङ्क कसैसँग छैन। सदस्य बनिसक्दा पनि धेरै युवायुवतीलाई कम्पनीबारे त्यति थाहा नै हुँदैन। जति धेरै सदस्य बनाउन सक्यो उति धेरै कमिशन बढ्दै जाने भन्ने गरिएकाले नेपाली युवा लोभिएर यस्तो ठगी धन्दाको जालोमा फस्दै गइरहेको छ।  

प्रहरीले एक क्षेत्रमा निगरानी बढाएपछि भारतीय नेटवर्किङ व्यवसायले अर्को क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्ने गरिएको बताइएको छ। ओरियन्ट्समा सदस्य बन्न नेपालीले ८० हजारदेखि दुई लाख भारतीय रुपैयाँसम्म तिर्ने गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार सदस्य बनेकालाई अरू सदस्य खोज्न लगाइन्छ।  थप सदस्य बनाउन सके बुझाएको रकम फिर्ता हुने र नबनाए आफ्नो सबै लगानी डुब्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.