|

जाजरकोट : समयमा निकासी पुर्जी नपाउँदा करिब नौ करोडको सेतक चिनी जाजरकोट मै थन्किएको छ। प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करिब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो।

हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन्।

छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन्। वर्षातको समयमा संकलित सेतक चिनी कुहिने डर उनीहरूलाई छ। डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरू निराश भएर फर्केका छन्।

जिल्लाका विभिन्न जंगलमा पाइने सेतक चिनी संकलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कार्तिकमै व्यापारीले करिब छ हजार क्विन्टलको अनुमति मागेका थिए। सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र इआइए नभएपछि डिभिजन वन कार्यालयले संकलन तथा निकासी पुर्जी दिन सकेन।

बारेकोट गाउँपालिकाले वन ऐन विपरित ६५ जना व्यापारीबाट दुई लाख धरौटी लिएर संकलन पुर्जी दियो। गाउँपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी संकलन गर्न लगाए। करिब ६ हजार क्विन्टल सेतक चिनी संकलन भएको व्यापारीको भनाइ छ। उक्त सेतक चिनी निकासीका लागि करिब २०० व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए।

इआइए गरेका कारण ५०० क्विन्टलसम्मको संकलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो। ५०० भन्दा बढीको अनुमति दिन इआइए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म इआइए गर्न सकेको छैन। एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो।

इआइए नगर्दा व्यापारीले हालसम्म संकलन तथा छुट पुर्जी पाउन नसकेका हुन्। यद्यपि व्यापारीले अवैध तरिकाले संकलित सेतक चिनी अवैध तरिकाले नै निकासी गरेका छन्। केही व्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरिकाले नै निकासी गरेको पाइएको छ।

संकलित सेतक चिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ। छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतक चिनी अलपत्र अवस्थामा छ। व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा संकलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडाैंको राजश्व घाटा लागेको छ।

व्यापारीले पनि अवैध तरिकाले लुकिचोरी संकलन र निकासी गर्न बाध्य भएका छन्। असोजको अन्तिम सातादेखि मंसिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ। जमिनमुनि सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनु पर्छ।

यसरी तयार पारिएको सयोँ क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चीनतर्फ निकास हुने गरेको छ। सेतक चिनी संकलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महिना बितिसक्दा पनि पाउन नसकेको ब्यापारी राम सिंहले बताए।

कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी संकलनमा गरेको लाखौँ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उनको भनाइ छ। सामुदायिक वनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्यांकन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको संकलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईंले जानकारी दिए। 

 विभागबाट कार्ययोजना स्वीकृति नहुँदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाइ रहेको छ। यति बेला संकलन पुर्जी दिने समय नभएकाले अब भदौमा मात्र दिन सकिने उनले बताए।

व्यापारीले शुरुमा धेरै सेतक चिनी भएको बताए पनि हाल करिब एक हजार ५०० क्विन्टल जति स्टक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.