गोप्य सहमतिपछि आइतबारबाट संसद् सुचारु हुँदै

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आठौँ पटक स्थगित भएको छ। प्रतिपक्षी दल र सरकारबीच वार्तामा सहमति नहुँदा शनिबारको प्रदेशसभाको बैठक स्थगित गरिएको हो। लगातार प्रदेशसभाको बैठक स्थगित हुँदा प्रदेश सरकारले ल्याएको बजेटमा २१ दिनदेखि छलफल हुन सकेको छैन।

लगातार आठौँ पटक बैठक स्थगित

प्रदेश सरकारले आगामी आर्थिक वर्षको २०७६/०७७ का लागि ल्याएको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुन सकेको छैन। प्रदेश सरकारले ल्याएको २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेटमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले विरोध जनाएको थिए।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेट असन्तुलित र अनुपयुक्त रहेको भन्दै संशोधनको माग राख्दै प्रतिपक्षी दलहरूले प्रदेशसभाको बैठक नै अवरुद्ध पारे। असार ५ गते आह्वान गरिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।

प्रतिपक्षी दलका सांसदले रोस्टम घेराउ गर्दै ‘अपारदर्शी बजेट चाहिँदैन’, ‘जनतालाई ठग्न पाइँदैन’, लुटतन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए

अपारदर्शी र भ्रष्टाचारलाई प्रोत्साहन दिने गरी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले संसद् अवरुद्ध मात्रै गरेनन् प्रदेश सरकारको रातो किताब नै जलाएका थिए। त्यसपछि लगातार प्रदेशसभाको बैठक स्थगित भएको हो। त्यसपछि असार ८, ११, १२, १३,१५,१७,१८ र २१ गतेको प्रदेश सभा बैठक स्थगित भएको हो।

शनिबार दुई पटक सारेर बैठक स्थगित

१८ गते साँझ ४ बजे आह्वान गरिएको बैठकमा पनि प्रतिपक्षी दलसँग सहमति नभएपछि २१ गते साँझ ४ बजे सम्मको लागि स्थगित गरिएको थियो। प्रतिपक्षी दलका सांसदहरूले बजेट संशोधन गर्नु पर्ने एक सूत्रीय माग राखेर संसद् बैठक स्थगित गरिरहेका थिए भने सरकारले बजेट संशोधन गर्न नसकिने जनाउँदै आएको थियो।

प्रदेश सरकार र प्रतिपक्षी दल बीच सहमति नजुट्दा शनिबार दुई पटक बैठक सारेर स्थगित गरिएको हो। ४ बजेसम्म सरकार र विपक्षीबीच वार्ता नमिलेपछि पहिलो पटक ५ बजेका लागि सूचना टाँसगरि बैठक सारिएको थियो।

५ बजेसम्म पनि सरकार र विपक्षीबीच सहमति नजुटेपछि दोस्रो पटक ६ बजेका लागि सूचना टाँसगरि बैठक स्थगित गरिएको थियो। ६ बजेसम्म पनि सहमति नजुटेपछि अन्ततः बैठक आइतबार बिहान ८:३० बजेसम्मका लागि स्थगित गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकार र विपक्षी बिच वार्ता बसेको थियो। वार्तामा सरकारका तर्फबाट  मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा रहेका थिए।

प्रतिपक्षी दल कांग्रेसका तर्फबाट संसदीय दलका नेता डा. रण बहादुर रावल, सांसद भरत बहादुर खड्का र कर्ण मल्ल रहेका थिए भने राष्ट्रिय जनता पार्टी राजपाबाट कृष्ण चौधरी रहेका थिए।

गोप्य सहमतिपछि संसद् सुचारु हुँदै

लगातार आठौँ पटक स्थगित भएको प्रदेश सभाको बैठक आइतबार देखी सुचारु हुने बताइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिवार बसेको बैठक सकारात्मक रहेको भन्दै आइतबार आह्वान गरिएको बैठक स्थगित नहुने आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराले बताए। ‘प्रतिपक्षी दल र सरकार बिच वार्ता मिलेको छ भोलि संसद् चल्छ’ अर्थमन्त्री बोहराले शनिबार साँझ सुनाए।

प्रतिपक्षी दलका रचनात्मक सुझाव ग्रहण गर्न सरकार तयार रहेको उनले दाबी गरे। तर, अर्थमन्त्री बोहराले कुन–कुन विषयमा सहमति भयो भन्ने विषय भने उल्लेख गर्न चाहेनन्। ‘गतिरोध भनेको राजनीतिक विषय वस्तु हो। केही आफ्ना कुराहरू हुन्छन् केही पार्टीका हुन्छन् केही सिद्धान्तका हुन्छन्’ उनले भने, ‘भोलि मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले संसद्मा सम्बोधन गर्नुहुन्छ कतिपय कुरा त्यहाँ प्रस्ट हुन्छ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रावलले पनि सरकारसँगको वार्ता सकारात्मक रहेको बताए। उनले आइतबार प्रदेश सभाको बैठक सुचारु हुने सङ्केत गरेका छन्। ‘वार्ता सकारात्मक रहेको छ। हामीले हरहिसाबले संसद्को मर्यादा हुने गरी, प्रदेशको जनताको पक्षमा लागिरहेका छौँ’ उनले भने ‘कुरा धेरै मिलिरहेको छ। भोलि संसद् चल्छ।’

सभामुख अर्जुन बहादुर थापाले पनि आइतबार प्रदेश सभाको बैठक सुचारु हुने दाबी गरेका छन्। ‘अहिले कार्य व्यवस्था परामर्शको बैठक बसिरहेका छौँ’ उनले भने, ‘भोलि प्रदेशसभा बैठक सुचारु हुन्छ।’

आइतबारको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दल नेपाली संसदीय दलका नेता रावलले संसद्मा सम्बोधन गर्न सभामुख थापाले बताए। आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमाथि छलफलको लागि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तव पेस गर्ने सभामुख थापाले जानकारी दिए।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.