|

बाग्लुङ : मजदुरी गरेर छोराछोरी पाल्दै आएकी जैमिनी नगरपालिका–७ की रीता नेपाली केही दिनअघि आफ्नै घर प्रवेश गरिन्। जैमिनी नगरपालिकाले उनलाई घर र घडेरीका लागि खर्च उपलब्ध गराएपछि रीताले आफ्नै घर पाएकी हुन्।

चार छोराछोरीकी आमा रीताले कहिले अर्कैको घरमा मजदुरी गर्थिन् भने कहिले होटल रेष्टुराँहरुमा भाँडा धोएर छाक टार्दै आएकी थिइन्। पतिको मृत्युपछि पाँच जनाका परिवार उनले एक्लो मेहेनतले चलेको थियो। मजदुरी गरेर छाक टारे पनि बस्नका लागि आफ्नै घर थिएन। अहिले आफ्नै घर भएपछि उनको ‘सुकुम्बासी’को परिचय फेरिएको छ।

रीताजस्तै जैमिनी–३ दमेककी मनमाया बिक आफ्नै घर हुँदा खुसीले दङ्ग छिन्। जन्मदेखि नै सुकुम्बासी जीवन बिताएकी उनलाई पनि नगरपालिकाले घरजग्गाका लागि सहयोग गरेको हो। ‘राज्यले यसरी सहयोग गर्छ भन्ने मैले सोचेको थिइनँ,’ ३२ वर्षीय मनमाया भन्छिन्, ‘अहिले घरजग्गा पाएकोमा खुसी छु।’

जैमिनी नगरपालिकामा १७ जना सुकुम्बासी छन्। तीमध्ये चार जना एकल महिला तथा पुरुष हुन्। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरभित्र सुकुमबासी समस्या समाधानाको उद्घोष गरेको नगरपालिकाले तथ्यांक संकलनपछि जग्गा खरिद र घर निर्माणका ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो। उक्त कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रीता र मनमायाको मात्रै घर निर्माण भएको छ। सुकुमबासीहरुलाई प्रतिघर तीन लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने नीति रहेको नगर उपप्रमुख लीला रानाले बताए। 

सुकुमबासीमा सूचिकृत परिवारले घडेरी खरिद गरी लालपुर्जा पेश गरे एक लाख रुपैयाँ र दुई कोठे भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेमा बाँकी दुई लाख रुपैयाँ पाउने कार्यविधिमा उल्लेख छ। ‘हामीले सबै परिवारलाई घडेरी खरिद र घर निर्माणका लागि आह्वान गरेका हौ,ं’ रानाले भने, ‘प्रकृया पूरा गरेर आउने दुई परिवारको मात्रै यो वर्ष घर बनेका छन्।’

आठ परिवारले घडेरी खरिद गरेर लालपुर्जा लिएका छन्। उनीहरुले घडेरी खरिद बापतको रकम लिइसकेको नगरपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा सबै सुकुम्बासी परिवारको घर निर्माण गरीसक्ने लक्ष्य नगरले राखेको छ। 

जैमिनी नगरको वडा नम्बर १ मा २, वडा नम्बर २ मा ३, वडा नम्बर ३ मा २, वडा नम्बर ६ मा १, वडा नम्बर ७ मा ३, वडा नम्बर ८ मा ४, वडा नम्बर ९ मा १,  वडा नम्बर १० मा १ परिवार सुकुम्बासी रहेको तथ्यांक छ। आगामी आर्थिक वर्षसम्ममा घरजग्गाको लागि सहयोग गरी सुकुमबासी मुक्त नगरपालिका निर्माण गर्ने योजना लिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.