दमक, झापा : झण्डै २ वर्ष देखिको सम्बन्धलाई झापा अर्जुनधाराका २० वर्षीय रुपक गिरी र काठमाडौंमा बस्दै आएका १८ वर्षीय अनुभव दर्जीले भने विवाह गरेका छन्। अनुभवलाई आफ्नो घरमा भित्र्याएका रुपकका अनुसार शुरुमै त परिवारले नमाने पनि सम्झाएपछि अहिले उनीहरू परिवारसँगै छन्।
अनुभवको परिवारले भने अझै पनि समलिंगी विवाहलाई स्वीकारेको छैन। डेढ वर्षदेखि एक अर्कालाई दम्पत्ति स्वीकार गरी सँगै बस्दै आएका उनीहरू केही समय अघि अनुभवको परिवार भेट्न काठमाडौं पुगे पनि स्वीकार नगरेको बताउँछन्।
यौनिक तथा लैंगिक अल्पसंख्यकको पक्षमा काम गर्दै आएको लिड नेपालको दमकस्थित कार्यालयमा उनीहरूले आफ्नो अनुभूति सुनाए। तर झापा चन्द्रगढीका कविर रहमान डेढ वर्षदेखि समलिंगी सम्बन्धमा छन्। उनीहरू दुवै जना एक अर्कामा समर्पित भएर जीवन बिताउन चाहन्छन्।
'विवाहको कुरा पनि भइरहन्छ। तर गरिहाल्न सकेका छैनन्' उनले भने, ‘हामी दुवै परिवारलाई मनाउने प्रयासमा छौं। भयो भने ६ महिना भित्रमा विवाह गर्ने तयारी छ।’ आफू लैंगिक रुपमा समलिंगी भए पनि परिवार र समाजले स्वीकार्न नचाहँदा अझै पनि सहज रुपमा जीउन नपाएको उनको गुनासो छ।
अझै कठोर समाज
यौनिक तथा लैंगिक अल्पसंख्यकको सवालमा अझै पनि उदार हुन नसकेको नेपाली समाजमा यस्ता भोगाई धेरैका छन्। झापा शिवसताक्षी १ का एक १९ वर्षीय युवक २ वर्ष देखिको समलिंगी सम्बन्धलाई सार्वजनिक गर्न चाहन्छन्। तर हिम्मत अझै पुगेको छैन। परिवारले आफ्नो लैंगिक अवस्थालाई स्वीकार गरे पनि समाजले हेर्ने दृष्टिकोण अझै कठोर रहेको उनले बताए।
अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो प्राकृतिक पहिचानलाई लुकाएर बाँच्न बाध्य भएको उनीहरूको पक्षमा काम गर्दै आएको संस्था लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बूको भनाई छ। ‘संसारका हरेक सिर्जनाको समान महत्व छ। हामी पनि यही प्रकृतिका सिर्जना हौं। हामीलाई अर्कै ग्रहबाट आएको वस्तु वा जन्तुको रुपमा व्यवहार गरिन्छ’ उनले भनिन् ‘हामी आफ्नो पहिचानमा गर्व गर्छौ। खुलेर जीउन चाहन्छौं। तर परिवार र समाज अझै हाम्रो अस्तित्व स्वीकार्न तयार भई सकेको छैन।’ लिड नेपालका अध्यक्ष सुशील शर्माले कोही पनि आफ्नो रहरले तेस्राे लिंगी बन्न नचाहने बताए।
जन्मँदा छोरा वा छोरीको रुप भए पनि उमेर बढ्दै जाँदा आफू कुन लिंगको हुँ भनेर हरेक व्यक्तिले थाहा पाउँछन्, तर त्यसबेला सम्म आफ्नै परिवार र समाजले आफूलाई हेर्ने दृष्टिकोण बदल्न गाह्रो रहेकाले धेरै व्यक्तिहरू पहिचान लुकाउन बाध्य भएको उनी बताउँछन्।
झापामा मात्र करिव ५ हजारको संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको अनुमान लिडको छ। ती मध्ये तीन हजार ५०० संस्थाको सम्पर्कमा छन्। अरु अझै पनि खुल्न नसकिरहेको कार्यक्रम संयोजक लिम्बूले बताइन्। यस्तै १०० भन्दा बढी जोडी समलिंगी सम्बन्धमा रहे पनि छिटफुटले मात्र खुल्ने हिम्मत गरेको उनले बताइन्।
पहिचान खोज्दा अनागरिक
झापा गौरादह घर भएकी नतासा चक्रवर्तीलाई ६ वर्ष हुँदासम्म परिवारले छोरा भनेर हुर्कायो। त्यसपछि उनमा क्रमिक रुपमा आएका परिवर्तनले उनी आफैँले आफूलाई पुरुषको रुपमा स्वीकार गरिनन्। १२ वर्षको हुँदा उनले आफूलाई महिलाको रुपमा सार्वजनिक गराइन्। तर त्योसँगै परिवारसँगको साथ टुट्यो। छोरा भनेर हुर्काइरहेको सन्तानलाई परिवारले छोरीको रुपमा ग्रहण गर्न सकेन। उनको उमेर २८ वर्षको भयो। तर अझै नागरिकता लिएकी छैनन्।
‘बुवा हुन्जेल मैले छोराको रुपमा नागरिकता लिन चाहिन। खासमा छोरा होइन पनि। तर केही महिना अघि बुवाको निधन भयो। मैले बुवाको अन्तिम श्वास देख्न पनि पाइँन’ उनले भनिन्, 'आफ्नै लैंगिक पहिचानका लागि परिवारभित्रै संघर्ष गरेकी छु। मेरो पहिचान नस्वीकारेपछि परिवार छोडेर म अन्यत्रै वस्न थालें। बुवाको निधनका बेला समेत मैले परम्परागत रुपमा अन्तिम संस्कार गर्न पाइँन।’
अझैंसम्म पनि नागरिकता पाउन नसकेकी उनको परिवारसँग सम्बन्ध टाढै छ। लैंगिक पहिचानकै कारण परिवारबाट नागरिकताको प्रक्रिया अघि नबढेको उनको गुनासो छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी नुमा लिम्बूको तर्क छ, ‘२०६४ सालमा सर्वोच्च अदालतले लैंगिक पहिचान सहितको नागरिक दिन र समलिंगी विवाहका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्न सरकारलाई निर्देशनात्मक आदेश दियो। आदेशपछि समिति गठन भई सरकारलाई प्रतिवेदन पनि बुझायो। प्रतिवेदनले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष निकालेको छ। तर किन कार्यान्वयन भइरहेको छैन?’
नागरिकताकै सम्बन्धमा अर्को पनि समस्या छ। नागरिकता लिँदा जुन लैंगिक अवस्था थियो, जैविक कारणले धेरै बदलिएका छन्। पुरुषको नाममा नागिरकता लिएकाहरु महिला र महिलाको नाममा नागरिकता लिएकाहरू पुरुष बनेका छन्। तर नागरिकतामा नाम पुरानै भएकाले हरेक सरकारी काम वा नारिकता पेश गर्नु पर्ने ठाउँमा समस्या रहेको अध्यक्ष शर्माले बताए।
उनले भने, ‘कसैले छोरा मान्छेको नाममा नागरिकता लिएको थियो। तर उ जैविक रुपमा बदलिएर छोरी भएको छ। नागरिकतामा चाँहि पुरुषको नाम हुने अनि झट्ट हेर्दा चाहिँ महिला भएपछि समाज, व्यक्ति वा जुनसुकै कार्यालयमा विश्वास गरिन्न। यसले एकातर्फ झनै लान्छना र बिभेद बढाएको छ भने आवश्यक प्रक्रिया पनि अघि बढ्न नसक्ने अवस्था छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।