|

२१ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको ब्राजिल नवौं पटकको उपाधि जित्ने लक्ष्यका साथ पेरूको सामना गर्दै छ। सोमबार राति हुने प्रतिष्पर्धामा पेरू भने ४४ वर्षपछि उपाधि जित्ने ध्याउनमा मैदानमा उत्रिने छ।

ब्राजिल पनि १२ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्ने ध्याउनमा मैदानमा उत्रिने छ। घरेलु दर्शकमाँझ राम्रो लयमा रहेको ब्राजिल र नकआउट चरणमा सनसनिपूर्ण प्रदर्शन गरेको पेरू बीचको भिडन्त प्रतिष्पर्धात्मक हुने आंकलन गर्न सकिन्छ।

ब्राजिल कोपा अमेरिकामा सर्वाधिक उपाधि जित्ने टिमको तेस्रो नम्बरमा रहेको छ। कोपा इतिहासमा सर्वाधिक सफल टिम उरुग्वेलाई पेरूले नै क्वाटरफाइलबाट बाहिर पठाएको थियो। १५ पटक उपाधि जितेको उरुग्वे अप्रत्यासित पराजयसँगै जारी प्रतियोगिताबाट बाहिरियो। त्यस्तै सर्वाधिक उपाधि जित्ने टिमको दोस्रो नम्बरमा रहेको अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिँदा अब नवौं पटक च्याम्पियन बन्ने ध्याउनमा ब्राजिल हुनेछ।

ब्राजिलले सन् १९९३ पछि चारपटक उपाधि जितेको छ। सन् १९९३ पछि ब्राजिल जतिपटक सेमिफाइनल पुगेको छ, त्यति नै पटक फाइनलमा स्थानसमेत बनाएको छ। ब्राजिलले फर्म्याट परिवर्तन भएपछि १९९७, १९९९, २००४  र २००७ मा उपाधि जितेको थियो।

जारी कोपा अमेरिकामा पेरू र ब्राजिलले समूह 'ए'मा एकै समूहमा रहेर प्रतिष्पर्धा गरेका थिए। समूह चरणमा ब्राजिलले पेरूमाथि ५–० को सानदार जित निकालेकाले फाइनलमा पनि पेरूविरुद्ध सोही लयलाई कायम राख्ने सोचमा ब्राजिल रहने छ। तर पेरूसमक्ष फाइनलमा ब्राजिलसँग बदलासँगै ४४ वर्षे इतिहास बदल्ने मौकासमेत रहेको छ।

पेरूका प्रशिक्षक रिकार्डो गारेसाले ब्राजिलविरुद्ध समूह चरणको टिम अब नरहेको बताएका छन्। ‘हामीले समूह चरणमा के भयो भन्ने कुरा बिर्सिएका छौं। त्यसपछि टिमले समाएको ट्रयाक उपाधिसम्म लैजान पर्याप्त छ’ उनले भने, ‘हामी निकै कठिन परिस्थितिबाट माथि उठ्न सफल भएका छौं। त्यसैले ब्राजिलविरुद्ध हामी उच्च आत्मविश्वासका साथमा खेल्ने छौँ।’

हेड टु हेड

ब्राजिल र पेरूले अहिलेसम्म कुल ४५ पटक एकअर्काविरुद्ध भिड्दा अधिकांश खेला ब्राजिलले बाजी मारेको छ। ब्राजिलले ३२ खेलमा जित निकाल्दा पेरूले भने ब्राजिलविरुद्ध ४ खेलमा मात्रै जित निकालेको छ। यी दुई टिमबीच ९ खेल बराबरी भएको छ। कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा यी दुई टिमको यो पहिलो महत्वपूर्ण भेट हो।

पछिल्लो पटक पेरूले २०१६ को जुनमा ब्राजिललाई पराजित गरेको थियो। तर २०१६ कै नोभेम्बरमा ब्राजिलले पुनः विश्व कपमा पेरूलाई पराजित गरेर बदला लियो। पछिल्लो पटक यही प्रतियोगिताको समूह चरणमा पेरू ५–० ले पराजित भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.