|

रसुवा : चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अबरुद्ध भएको छ। शुक्रबार परेको अविरल वर्षासँगै आएको बाढीले सडक भासिँदा तीन दिनदेखि नाका जोड्ने छोटो दूरीको सडक अबरुद्ध भएको हो।

जिल्लाको कालिका गाउँपालिका ५ गुम्चेतस्थित ठूलो खोलामा राखिएको हिमपाइप पुरेको माटो बाढीले बगाउँदा सडक अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। अबरुद्ध सडक सुचारु गर्नका लागि सरोकारवाला निकायबीच समन्वय भइरहेको भण्डारीले बताए। सडक योजना र गाउँपालिकाको स्काभेटरको सहायताले भोलिदेखि मर्मतको कार्य सुरु गरिने बताइएको छ।

मैलुङ स्याफ्रुबेशी सडकखण्ड अबरुद्ध भएसँगै बेत्रावती, कालिकास्थान धुन्चे स्याफ्रुबेशी सडकमा सवारीको चाप बढेको छ।

त्यस्तै वर्षाको समयमा पहिरो जाने भएकाले दशैँ अगाडिसम्म सवारी सञ्चालन गर्न नसकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ। २०७५ जेठ ६ गते सडकको ट्याक खोल्ने कार्य सकिएको थियो। त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डिपिआर संशोधन गर्नु परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो। यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.