अर्थ

तनहुँ हाइड्रोको पहिलो प्याकेजका लागि ४ कम्पनीको बोलपत्र
SHARES

असार २२, २०७६

    तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि ४ वटा कम्पनीले बोलपत्र पेश गरेका छन्। आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन्।

    दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आहन गरिएको थियो।

    चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम, कालिका कन्ट्रक्सन, नेपाल जेभी कम्पनीले बोलपत्र पेस गरेका छन्।

    कम्पनीले पेश गरेको प्राविधिक बोलपत्रको मूल्यांकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए।

    ‘प्राविधिक बोलपत्रको मूल्यांकन आगामी भदौको दोस्रो साता अगस्ट २०१९ भित्रमा सम्पन्न गर्ने गरी सहमतिका लागि एडिबीमा पठाउँछौं, एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं', उनले भने ‘कात्तिकको दोस्रो साता अक्टोवर २०१९ भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता डिसेम्बर २०१९ भित्रमा आयोजना स्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ।’

    पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरेको थियो। सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो। निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्नेछ।

    पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने हाइड्रोपावरले जनाएको छ।

    आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजन स्थलमा काम गरिरहेको छ।

    सिनो हाइड्रोले हाल आयोजना स्थलमा कार्यालय भवन, श्रमिक आवास गृह लगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ।  

    आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ। कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको छ।

    प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत गरी आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ। यसमध्ये एडिबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

    यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन्। समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

मिला दरै

दरै थाहा खबरका तनहुँ समाचारदाता हुन्। Email : darai.milamd@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]