|

पोखरा : पर्यटकीय शहर पोखरा प्रवेश गर्ने मुख्य सडकको विजयपुर खोलामा रहेको अस्थायी डाइभर्सन बाढीले बगाएको छ। पक्की पुल जीर्ण भएपछि बनाइएको डाइभर्सन पनि आइतबार राति आएको बाढीले बगाएको हो। 

विजयपुर खोलामा रहेको पुल जीर्ण भएपछि १० टनभन्दा धेरै भार भएका सवारीसाधनको आवागमन ठप्प छ। पुलको स्टिल बिम चर्कँदा बढी भार भएका सवारी आवातजावतमा रोक  लगाइएको हो।

डाइभर्सन बाढीले बगाएपछि पोखरा भित्रिने तथा पोखराबाट बाहिरिने मालबाहक सवारीसाधनहरु सोमबार बिहान ५ बजेदेखि सडकमै लाम लागेका छन्। दैनिक ६ हजारभन्दा धेरै सवारीसाधन आवातजावत गर्ने उक्त पुल गत वर्षको फागुनमा जीर्ण भएको पत्ता लागेको थियो। त्यसयता १० टनभन्दा बढी भार भएका सवारीसाधनका लागि खोलामा ह्वीम पाइप हालेर डाइभर्सन बनाइएको थियो। 

जीर्ण पुल नजिकै बेलीब्रिजका शिलान्यास मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केहि महिनाअघि गरेका थिए। बेलीब्रिजका लागि विभिन्न सामग्रीहरु पनि पोखरा आइसकेको छ। 

सडक डिभिजन कार्यालयका इञ्जिनियर किरण सुवेदीले भने दुई साताभित्र बेलीब्रिज जडानको काम सकेर पुलबाट आवत जावतको व्यवस्था हुने बताए। त्यसका लागि इटालीबाट बेलीब्रिजको सामग्री आइसकेको उनले बताए।

बेलीब्रिज दुई लेनको र १०० टन भारक्षमता भएको ५० मिटर लामो हुनेछ। सडक कार्यालयले गत बैशाख २२ मा सगरमाथा जेजे जोइन्ट भेन्चर कम्पनीलाई २ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।       

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.