|

काठमाडौं :  केही दिनअघि पत्रकार परमेश्वर अधिकारीको हेलमेट ठमेलको सञ्‍चय कोष भवनअगाडिबाट चोरी भयो। उनले भर्खरै किनेको हेलमेट आफ्नै मोटरसाइकलमा राखेर काममा गएका थिए। फर्केर आउँदा थोत्रो हेलमेट आफ्नो बाइकमा भेटे।

त्यसपछि उनी सीधै ट्राफिक महाशाखामा निवेदन दिए। हेलमेट हराएपछि खोजीका लागि प्रहरीलाई सजिलो उपायका लागि उनले त्यसक्षेत्रको सिसीटिभी फुटेज हेर्न सुझाए। उनी आफैं सञ्‍चय कोष भवन वरिपरिको भिडियो क्लिप खोज्न प्रहरीकहाँ पुगे। उनले त्यहाँ भएका सबै भिडियो हेरे। सिसिटिभीले नै उनको हेलमेट चोर पत्ता लगायो। हेलमेट चोर्ने व्यक्तिको मोटरसाइकल नम्बरसमेत पत्ता लगाएर उनले ट्राफिक प्रहरीलाई दिए।

आइतबार बिहानै ट्राफिक प्रहरीले मोटरसाइकल मालिकलाई फोन गरेर महाशाखामा हाजिर गरायो।  त्यहाँ आएपछि उनलाई थाहा भयो आफूले हेलमेट चोरेको शेमा प्रहरीले बोलाएको रहेछ।

'यो ठूलो विषय त होइन। तर, सहरमा दिउँदै धेरै हेलमेट चोरी हुन्छन्। उसलाई आज हेलमेट आवश्यक पर्‍यो। भोली पैसा आवश्यकता पर्ला', पत्रकार अधिकारी भन्छन्, 'चोरी गर्ने मानसिकता बढ्दै गएमा एउटा युवाको मनोबल बढ्दै जान्छ। चोरी गर्नेको मनोबल घटाउन हेलमेट खोजी गरेको हुँ।'

निवेदन थोरै

ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले हेलमेट चोरीको घटना बढ्दै गए पनि निवेदन दिनेको संख्या न्यून रहेको बताए। 'यो घटनापछि हाम्रो सामान हराउँदा प्रहरीलाई खबर गर्नुभयो भने पनि अनुसन्धान गर्न सजिलो हुन्छ', उनले भने, 'चोरीको प्रकृति सामान्य भएकाले एकपटकलाई सम्झाएर पठाएका छौँ।

उनले पनि अब आइन्दा चोरीमा नलाग्ने भनेर आत्मआलोचना गरेका छन्। ट्राफिक प्रहरीले उपत्यकामा २०७४ माघ २५ गतेबाट सिसी क्यामेराको सहयोगमार्फत् कारबाही गर्न थालनी गरेको हो।

महानगरीय प्रहरीले सहरका व्यस्त चोकहरूमा सिसी क्यामेरा जडान गरेको छ। त्यसैले चोरीको घटना हुनेबितिक्कै  सिसी क्यामेराको सहायताले पत्ता लगाउन सजिलो भएको छ। चोरी मात्र होइन सडक दुर्घटनाका कतिपय घटना सिसी क्यामराको मद्दतले पत्ता लगाउन सहयोग मिलिरहेको ट्राफिक महाशाखाका ती अधिकारीले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याएको सिसी क्यामेराको प्रभावकारी बनिरहेको छ।  सिसी क्यामेरा जडानपछि काठमाडौं महानगरमा सवारी दुर्घटनालाई न्यूनीकरण ल्याउन सहज भइरहेको छ।

लाइन मिच्ने, जथाभावी बाटो काट्ने सवारीचालक धनीहरू कानुनको दायरामा ल्याउन सहज भइरहेको छ। महाशाखाले उपत्यकाको मुख्य-मुख्य क्षेत्रमा ५ सय १४ वटा सिसी क्यामेरा सञ्चालन गरेको छ। तीमध्ये एक सय ५१ वटा सिसी क्यामेरा ट्राफिक महाशाखाले हेर्न मिल्ने गरी जडान गरिएको छ।

ट्राफिक प्रहरी महाशाखामा एसएसपी वसन्तकुमार पन्तका अनुसार वैशाखमा भएका दुर्घटनाका ६६ वटा घटनाका निवेदन आएका थिए। जसमध्ये सिसी क्यामेराको मद्दतले ५० जनालाई कारबाही गरिसकेको बताए।

१६ वटा केस अनुसन्धान भइरहेको छ। यस्तै जेठ महिनामा ५१ वटा निवेदन परेकोमध्ये ३५ वटा केश समाधान भइसकेको र १६ वटा केस बाँकी छ। अहिले असारको आजको दिनसम्म ४७ वटा निवेदन आइसकेको छ। जसमा प्रहरीले २५ वटा केश मिलाइसकेको छ। अन्य अनुसन्धान जारी रहेको छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.