जो पटक-पटक रेडियो नेपालबाट निकालिए

|

काठमाडौं : कालजयी लोकगीतका सर्जक गायक मधुबाबु थापाको बिहिबार ६३ वर्षको उमेरमा निधन भयो। बहुप्रतिभाका धनी थापा गायन, शब्द संकलन, लेखन, संगीत, वाद्यवादन तथा सङ्गीत संयोजन सबै विधामा उत्तिकै सक्रिय  थिए।

थापाको शुक्रबार अन्त्येष्टी गरिएको छ। वि.स. २०१० साल वैशाख १ गते दाङको राजपुरमा जन्मेका मधुबाबुले २ वर्षको उमेरमै दृष्टि गुमाएका थिए। उनले २०३५ सालदेखि ‍औपचारिक गायन सुरु गरे। गाउँघरमा हुने मेलापात, पुजाआजा लगायतका अवसरमा उनको माग निकै बढ्थ्यो। स्थानीयस्तरमा राम्रो चर्चा कमाएपछि उनी काठमाडौं प्रवेश गरे।

मधुबाबुले पाँच सय भन्दा बढी लोक, आधुनिक, शास्त्रिय, राष्ट्रिय भावका गीतमा स्वर, संगीत, संगीत संयोजन दिएका छन्। लोकदोहोरी गीतमा धेरैवटा भाका परिवर्तन गरेर गाउन सक्ने खुबी भएका मधुबावु अब्बल सङ्गीत प्रशिक्षक भएको लोकगायक तथा उनका विद्यार्थी खर्क बुढामगर बताउँछन्।

उनका 'मोहनी लायौकी जन्तर गरेर…' थारु गीत, 'भैगो हजुर माया जाल नबुन…', 'झिमझिम परेली झिम्काइदेउ, मेरो मायालाई पिर पर्छ सम्झाइदेउ',  'आहा सुनको सिरथी, लगाइदिउला मैले मनको पिरती', 'रोल्पा-प्युठान-मुसिकोट-दाङ' लगायतका दर्जनौं गीत चर्चित छन्। उनले थुप्रै थारु भाषाका समेत गीत गाएका छन्।

उनले भालेपोथी, चिनारी, चौतारी, काठमाडौं, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौंरी, मायालु पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योती लगायत २ दर्जन बढी एल्बम निकालेका छन्। 

इलाहावाद विश्‍वविद्यालयबाट संगीत विधामा संगीत प्रभाकर उपाधि हासिल गरेका थापा आफ्नो पेशामा अब्बल दिए। उनी कुशल गीतकार, गायक, शब्द संकलक तथा वाद्यवादकका रुपमा सधैं संगतप्रेमीको ढुकढुकीमा रहिरहनेछन्। शास्त्रीय सङ्गीतका राम्रो प्रशिक्षक रहेका थापा रेडियो नेपालमा पनि शास्त्रीय सङ्गीतकै जागिरे थिए। 

थापाका तीन छोरा र एक छोरी छन्। दुई वर्ष पहिले श्रीमतीको देहान्त भएपछि उनी छोरीसँग बस्दै आएका थिए। दृष्टिविहिन थापालाई गायिका चन्द्रकला शाहले सघाउदै आएकी थिइन्। 

जीवनभर करार

दृष्टिविहन भएका कारण उनले धेरै पढ्ने, लेख्थे अवसर पाइनन्। सानैदेखी गाउने, बजाउने काम गरेका उनी जीवनभर सङ्गीतकै पछि दौडिए।

गायनका क्रममा रेडियो नेपालसँग जोडिएका नेपालमा बहुदल आएपछि २०४७ सालमा रेडियो नेपालमा जागिर पाए। टेक विशेष सेवाबाट रेडियो नेपालमा जागिर खाएका उनी जीवनभर करारका कर्मचारी रहे। स्थायी जागिरे बन्‍ने सपना त अधुरो रह्‍यो नै पटक-पटक जागिर समेत गुमाउनुपर्‍यो। 

२०५५ सालमा सबै करार जागिरेलाई निकाल्ने मन्‍‍‍त्रीपरिषद्को निर्णयपछि पहिलोपटक उनको जागिर गएको थियो। जागिर गएको केही समयपछि मन्‍‍‍त्रीपरिषद्ले उनीसहित अपांगता भएका अन्य केही व्यक्तिलाई 'खाइपाइ आएको सुविधासहित पुनर्बहाली गर्ने निर्णय' गरेको थियो।

तर. रेडियोमा भनसुन गरिदिने मान्छे नभएका कारण मन्‍‍त्रीपरिषद्‍बाटै निर्णय भएपनि उनले 'खाइपाइ आएको सुविधा' पाएनन्। उनले मासिक ३-४ हजारको ज्यालादारी जागिरमै चित्त बुझाए। त्यसपछि पनि उनले सहज ढंगले जागिर गर्न पाएनन्। 

जब सरकार परिवर्तन हुन्थ्यो मधुबाबु र उनका युगल गायिका चन्द्रकला शाहको मनमा एकखालको त्रास पैदा हुन्थ्यो। राजनीतिक नियुक्तिको चलखेल निकै हुने उनीहरुलाई पटक-पटक राजनीतिक पुर्वाग्रहका आधारमा हटाइन्थ्यो।

मधुबावु रेडियो नेपालबाट पटक-पटक निकालिए। 'एउटा सरकार आउने राजावादी भन्‍ने, अर्कोले काँग्रेसको भन्‍ने, कसैले माओवादीको भन्‍ने गरेर जबजब सरकार परिवर्तन हुदै गयो तबतब उनले जागिरबाट हात धुनुपर्‍यो। जागिरकै कारण पनि उनी तनावमा हुन्थे,'-एक संगीतकार भन्छन्। 

जागिरबाट निकालिएपछि धेरैपटक दृष्टिविहिन व्यक्ति अरु केही आउदैन, हेर्ने मान्छे पनि कोही छैन भनेर राजनीतिक दलका नेताहरुको हात जोड्दै उनका शुभचिन्तकहरुले जागि बचाइदिने गरेको रेडियो नेपालकै एक कर्मचारीले बताए। 

संगीतप्रतिको आफ्नो मोहकै कारण उनले अनेक दुख पाएपनि जागिरलाई निरन्तरता दिएको खर्क बुढामगर बताउँछन्। बहुप्रतिभाका खानी मधुबाबु लोकसङ्गीतको सर्जकको रुपमा मात्र नभएर सिंगो नेपाली सङ्गीत क्षेत्रकै अग्रज सर्जक थिए।

सरल जीवनशैली मन पराउने गायक थापाको आर्थिक जीवन भने कहिल्यै माथि उठ्न सकेन। अलिकति चनाखो र टाइफाइ गर्न सक्नेहरुको कम्तिमा अस्थाइ दरबन्दीको जागिर बनाउन सके पनि थापाले पटकपटक दुःख पाएको बुढाले बताए।

अत्यन्तै रसिला र रमाइला स्वभावका थापा गाउँघरमा सबैको मनमनमा बस्‍न सफल भएको संस्कृतिविद् तथा लोकगायक डा.गोविन्द आचार्य बताउछन्। 'राप्ती अञ्‍चल लोकगीतको खानी हो। यहाँको लोकसङ्गीतमा प्रेमप्रकाश मल्ल पछिको दोस्रो पुस्ता मध्येका एक थिए मधुबाबु थापा हुनुहुन्थ्यो। उनका समकक्षीहरु चन्द्रकला शाह, र जंगबहादुर गन्धर्व हुन्,-'आचार्यले भने, उहाँ हरेक हिसाबमा अब्बल सर्जक हुनुहुथ्यो तर उहाँको जागिरे जीवन, व्यक्तिगत जीवन भने सहज भएन।'

लोकगीत चिनाउने सर्जक

कुनै समय लोकसङ्गीतका लागि स्वर्णीम समय थियो। जतिबेला मधुबाबु थापा, जंगबहादुर गन्धर्व र चन्द्रकला शाहले रेडियो नेपालबाट लोकगीत गाउथे। अहिले कोठामै बसेर लोकभाका तयार पार्ने गायकहरुको जमात् ठुलो छ। तर मधुबाबु, चन्द्रकला र जंगबहादुरले गाउँ-घरमै पुगेर त्यहाँका भाका, शब्द सङ्कलन गरेर रेकर्ड गर्थे।

मधुबाबुले लोक सङ्गीतको लय संकलन, शब्द बनाउने, आधुनिक तथा राष्ट्रिय भावका गीतहरु गाउने तथा सङ्गीत भर्ने गर्थे। उनले केही गलजहरुमा पनि सङ्गीत दिएका छन्। 

'दृष्टिविहिन व्यक्तिले प्राविधिक रुपमा गरिने सङ्गीत संयोजन अत्यन्तै कठित भएपनि त्यो काम समेत उहाँले गर्नुहुन्थ्यो,'-सङ्गीतकार सन्तोष श्रेष्ठ भन्छन्, 'राप्ती क्षेत्रका लोकगीतहरु रेडियो नेपालमा ल्याउने प्रशारण गर्ने काम गरेका कारण नै राप्ती क्षेत्रका लोकसङ्गीत चाहे त्यो टप्पा, झ्याउने, दाङको थारु गीतहरु नै किन नहोस्। उहाँहरुकै कारण चिनिने अवसर पाएको हो।'

'सङ्गीतका बहुआयामिक व्यक्तित्व मधु दाईले रेडियो नेपालमा केही सिमित व्यक्तिहरुको हालिमुहाली चल्ने भएका कारण आफुलाई भने चाहेजति अगाडी बढाउन सक्नभएन'-श्रेष्ठले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.