विराटनगरमा ल्याबबाट थालियो तरकारी विषादी परीक्षण

|

विराटनगर : १ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बाली संरक्षण प्रयोगशालाले ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ।

उपकरण अभाव देखाउँदै तत्कालका लागि भारतबाट आयात हुने तरकारी तथा तरकारीजन्य वस्तुको निकासी नरोक्ने संघीय सरकारको निर्णय आएको भए पनि प्रदेश सरकारले भने झापाको विर्तामोडमा रहेकै क्षमताको विषादी परीक्षण ल्याब सञ्‍चालनमा ल्याएको हो।

२५ लाखको लगानीमा निर्माण भएको उक्त ल्याबको परीक्षण र प्राविधिकलाई आवश्यक तालिम काठमाडौंबाट आएको प्राविधिक टोलीले ३ दिनसम्म गरेको थियो। उक्त तालिम सम्पन्न भएसँगै सोमबारदेखि ल्याब पूर्णरूपमा सञ्‍चालन गर्नसक्ने क्षमतामा रहेको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए।

उपसचिवसहित ६ जना प्राविधिकको दरबन्दी रहेको प्रयोगशालामा पर्याप्त जनशक्तिको व्यवस्था पनि रहेको उनको भनाइ छ। ‘हामीले हालका लागि अन्तरिक बजारमा आएका तरकारीजन्य वस्तुको विषादी परीक्षण गर्ने हो,’ विष्टले भने, ‘बिर्तामोडको क्षमतामै यो प्रयोगशालाले काम गर्छ।’ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र धरानमा पनि सोही क्षमताको ल्याब निर्माण गर्न लागेको छ।

हालका लागि उक्त ल्याबले अर्गेनो फस्फेट र कार्बामाइडको परीक्षण गर्दछ। विराटनगरको ल्याबलाई अझै ठूलो क्षमताको बनाउन मन्त्रालयले तयारी गरिरहेको विष्टले बताए।

‘हामीले प्रदेशमा एउटा ल्याब अझै ठूलो बनाउनुपर्छ भन्ने उद्देश्यले आगामि वर्षमा ग्यास क्रोमोटोग्रास नामक विषादी परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेका छौं,’ विष्टले भने, ‘त्यसखालको ल्याब हामीले आगामी आर्थिक वर्षको फागुन चैतसम्ममा निर्माण गर्ने लक्ष्य राखेका छौं।’

विष्टले संघीय सरकारले भारतबाट आयात भएका तरकारीजन्य वस्तुको परीक्षण गर्न अनुमति दिएको खण्डमा काम गर्न सकिने बताए। यद्यपि क्वारेन्टाइन र भन्सारसम्बन्धी कार्यक्षेत्र प्रदेश सरकारको भएका कारण तत्कालै भारतबाट आयातित तरकारीजन्य वस्तुको परीक्षणमा कुनै भूमिका नहुने विष्टले बताए। उक्त ल्याब

सञ्‍चालनका लागि नमूना संकलन कसरी गर्ने भन्ने विषयमा मन्त्रालयले छिट्टै कार्यविधि तयार गरेर लागू गर्ने विष्टले बताए। अहिलेको ल्याबले तरकारी खान योग्य छ छैन भन्ने विषयमा मात्रै जानकारी दिने प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले बताए।

उनका अनुसार तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम इनिवेसन भएको अवस्थामा खानयोग्य हुने र त्यो भन्दा माथि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण पछि मात्रै भन्न सकिन्छ। ४५ प्रतिशतभन्दा बढी इनिबेसन भए उक्त तरकारीजन्य खाद्यवस्तु नष्ट गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.