|

पोखरा : दिनहुँ जसो देशका विभिन्न जिल्लामा बेबारिसे शवहरू फेला परिरहन्छन्। केही आफन्तले तत्कालै बुझेर लैजान्छन् र काज कीरिया समेत गर्छन्।

केही यस्ता शव छन्, जुन फेला परेको लामो समय भए पनि पहिचान हुन नसकेर शव गृहमा थन्किएका छन्। तिनै शवहरू भने प्रहरीको टाउको दुखाइको विषय समेत बन्ने गरेकाे छ। गण्डकी प्रदेशमा मात्रै असार २३ गतेसम्मको तथ्यांकमा नौ जनाको वेबारिसे शव छन्। यसरी थन्किएर रहेका शवको न पहिचान नै भएको छ, न कोही मेरो आफन्त हराएको छ भनेरै भन्न आएका छन्। 

गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ६ वटा त्यस्ता शव शवगृहमा थन्केका छन्। प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सबै भन्दा धेरै कास्कीमा ३ वटा बेबारिसे शव रहेको छ। गण्डकी प्रदेशमा नवरपुरमा २, तनहुँमा १, बाग्लुङमा १, पर्वतमा १ र म्याग्दीमा १ जनाको बेबारिसे शव छ।  

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम रेग्मीले भने, ‘कोही हत्या गरेर फालिएका छन्। कोही आत्माहत्या गरेका शव पनि छन्।’ अहिले प्रहरीले शव भेट्टाएको कम्तीमा एक महिनापछि सम्बन्धित जिल्लाका सम्बन्धित स्थानीय तहलाई खबर गरेर उनीहरूकै रोहबरमा शवको अन्त्येष्टि गर्ने गरेको छ। त्यसरी अन्त्येष्टि गरिएको शवको तस्बीर, उसले त्यति बेला लगाएको लुगाफाटो प्रहरीले सुरक्षित राख्ने गरेको छ।

शव भेट्टाएपछि प्रहरीले आफ्नो मातहतका प्रहरी चौकी इकाइमा तस्बीरसहितको सूचना समेत पठाउने गरेको छ। बेबारिसे शवका आफन्त फेला नपर्दासम्म र आफन्त फेला परिहाले पनि उनीहरूको अनुमति भएन भने प्रहरीले उक्त शवमाथि अनुसन्धान गर्न पनि नपाउने कानुनी प्रावधान छ। 

प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी हरिराज वाग्लेले त्यसरी फेला परेका शव पहिचान नहुँदा प्रहरी र आफन्त दुबैलाई समस्या हुने गरेको बताए। एसएसपी वाग्लेले भने, ‘प्रहरीलाई शव कहिलेसम्म निगरानीमा राख्ने भन्ने समस्या छ। आफन्तलाई शव पहिचान नभएर आफ्नो मान्छे होकी होइन भन्ने समस्या छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.