|

केही वर्षयता सरकारले असार १५ मा एउटा नाटक गर्ने गरेको छ, धान दिवसको। सरकारी रूपमा कार्यक्रम हुन्छ। लाखौँ रुपैयाँ सिध्याइन्छ। मन्त्री, नेता र कार्यकर्ता 'सुटबुट'सहित तोकिएका खेत पुग्छन्। सञ्चारकर्मीका क्यामेराअघिल्तिर खेतमा पसेजस्तो, धानका बिउ समाएजस्तो, रोपेजस्तो गर्छन्। टीभीका पर्दामा छाउँछन्। पत्रिकाका पाना र सामाजिक सञ्जालका भित्तामा रङ्गिन्छन्। 

नौटंकी मच्चाउने क्रममा चार वर्षअघि एक मन्त्रीको जागिर नै गयो। दिवसको नाममा केहीले त पार्टी प्यालेस वा होटलमा कार्यक्रम गरेर गमलामा रोपाइँ गर्छन्। धानका बिउको माला लगाउँछन्। केही वर्षअघि काठमाडौं आसपास हुने यो नाटक अचेल यो प्रदेश प्रदेशमा पनि हुन थालिसकेको छ। यो त भयो राजनीतिक नाटक।

अघिपछि माटो छुन घिन मान्ने शहरियाहरूको नौटंकी पनि कम छैन। सुकिला लुगा लगाएर खेत पुगका शहरियाहरू खेतनजिकै लुगा खोलेर हिलोमा पस्छन्। युवायुवतीको लाप्पा खेलाइदेखि फुटबलसम्मका लीला हुन्छन्। उनीहरू खेतबाट बाहिर निस्किँदा ननिस्किँदै भिडियो फोटो सामाजिक सञ्जालमा छाइसकेको हुन्छ। 

अझ यसपालि त अर्को नौटंकी थपियो, एउटी मोडलले त एकतिहाइ नग्न भएर गोप्य अंग हिलोमाटोले छोपेर त्यसमाथि धानको मुठै उमारिछिन्। फोटो सामाजिक सञ्जाल र अनलाइन समाचारमा ‘भाइरल’ भयो। 

तराई–पहाडका हाम्रा दाजुभाइ दिदीबहिनी आमाबुबाहरू माटोविना जीवनको कल्पना पनि गर्न सक्दैनन्। माटोमै उनीहरूका सपना छरिन्छन्। अंकुराउँछन्। मुना हाल्छन्। फूलसँगै फल दिन्छन्। बालीको रूपमा सपना पूरा हुन्छ। यो क्रम निरन्तर चलिरहन्छ। कहिलेकाँही प्रकृति यति निष्ठुर बनिदिन्छ, उनीहरूका सपना चकनाचुर पारिदिन्छ।

शहरियाहरूहरूको यो नाटकसँगसँगै किसान भने बर्खामा छुट्टै पीडामा हुन्छन्। कृषिप्रधान देश भनिएको छ, भनेजस्तो बिउ छैन। बर्सेनि मलको हाहाकार हुन्छ। खन्ने, रोपाइँ गर्ने जनशक्ति पनि पाइँदैन अचेल। जोत्ने साधन अभावको समस्या पनि छँदैछ, अझ असारको मध्य भइसक्दा पनि पानी नपरेका कारण रोपाइँ गर्न नपाएका किसानहरू यी दृश्य देख्दा र आफ्नै खेतमा यस्तो भोग्नुपर्दा के सोच्दा हुन्? के भन्दा हुन्?

हामी आधुनिक र शहरिया भइटोपलेकाहरूले अचेल माटो छुने त असार १५ मा मात्रै हो। बाँकीका ३६४ दिन त हामी माटो छुन त के हेर्न र सम्झिन पनि नपरे हुन्थ्यो भन्ठान्छौँ। तराई–पहाडका हाम्रा दाजुभाइ दिदीबहिनी आमाबुबाहरू माटोविना जीवनको कल्पना पनि गर्न सक्दैनन्। माटोमै उनीहरूका सपना छरिन्छन्। अंकुराउँछन्। मुना हाल्छन्। फूलसँगै फल दिन्छन्। बालीको रूपमा सपना पूरा हुन्छ। यो क्रम निरन्तर चलिरहन्छ। कहिलेकाँही प्रकृति यति निष्ठुर बनिदिन्छ, उनीहरूका सपना चकनाचुर पारिदिन्छ।

म, तपाईँ र ऊ पनि त्यही गतिबाट आएको हो। मैले नसही मेरा बुबा आमाले यही जीवन बिताउनुभएको हो। बुबाआमाले नभए दुई पुस्ताअघिका पुर्खाले त यही माटोमा भिजेर जीवन गुजारेको हो। अहिले हामी आधुनिक भइटोपलेर माटो छुनै चाहँदैनौँ। घिन मान्छौँ। 

अचेल शहरमा माटो देख्न पाइँदैन। कंक्रिटका जंगलले मानिसलाई प्रकृतिसँग भिज्न पनि दिँदैन। घरभित्रै सारा संसार छ। बालबालिकालाई 'भर्चुअल' दुनियाँसँग साक्षात्कार गराउनु छ। किन दिनु माटोसँग भिज्न? हामी तिनै माटोमा खेलेर जीवन बिताएकाका छोरानाति। तर धेरैजसो बाबुआमा आफ्ना बाबुनानीलाई माटो छुनै दिँदैनन्। कतिपयका बाबुआमाले भनेको सुनेको छु, ‘बच्चालाई माटो नि खेल्न दिने हो।’ तर बुझ्नेहरू भन्छन् बच्चाहरूलाई माटो खेल्न दिनूस्। प्रकृतिसँग भिज्न र रम्न दिनुस्। कोठामा मात्र राखेर सानैदेखि मोबाइल, कम्प्युटरमा अभ्यस्त नबनाउनुस्। माटोबाट वञ्चित गरेर कोठाभित्र मोबाइट, टीभीमा मात्र भुलाउँदाका दुष्परिणामहरू बालबालिकाले भोगिरहेका छन्।

माटोबाट त कति उपचार पनि हुने रहेछ। प्राकृतिक चिकित्सकहरू माटोबाट कति उपचार गराउँदा रहेछन्। भनिन्छ, माटोबाटै जन्मेका हामी अन्त्यमा गएर माटैमा मिल्नुपर्छ। जहाँबाट उत्पत्ति भएको हो, जहाँ गएर मिल्ने हो, त्यो शरीरलाई यसैबाट विमुख गराउन खोज्दा पो हामी अचेल अस्थिर भएका हौँ कि! अचेल माटोबाट विमुख भइरहेकाले त होइन नानाथरी रोग लागेको!

माटोमैत्री बन्नुपर्छ। माटोसँग मित्रता मात्र गाँस्नुपर्छ। यसले के पो दिँदैन र! गम्भीर भएर सोचौँ त! कति अचम्म छ, माटोमा परेको एउटा बीज, कसरी अंकुराउँछ। बढ्दै जान्छ। अन्न र फलफूल दिन्छ। यसैबाट मानिसलगायत प्राणीको जीवन धानिन्छ । माटोले कसैलाई भेदभाव गर्दैन। यो बिउचाहिँ उमार्दिन भन्दैन। बढाउँदिनँ, यसबाट फल दिँदिनँ भन्दैन। जीवन के मा छ, बीउमा कि माटोमा। हुन त अचेल माटोविनै फल्ने प्रविधिको पनि विकास हुँदैछ। ती कति स्वस्थकर हुन्छन्। कति जीवनमय हुन्छन्। कसैले सोचेको छ? 

तर हामी शहरियाहरू माटो देख्न चाहँदैनौँ तर त्यही माटोमा फलेका ताजा सागपात फलफूलचाहिँ हामीलाई मन पर्छ। तर त्यसमा पनि माटो नलागेको हुनुपर्छ। तिनमा लागेका माटो अरुले नै पखालिदेओस्। माटोविहीन बनाइदिओस्। अनि हातमा परोस्। 

माटो देख्न नचाहनुको प्रत्यक्ष प्रमाण हामी बसेको ठाउँ हेरौँ। शहरमा घर वरिपरि अलिकति खाली जमीन बाँकी भयो भने सिमेन्टले 'प्लास्टर' गरिहाल्छौँ ताकि घरबाहिर निस्कँदा गोडामा माटो नलागोस्। बहिरको फोहोर भित्र नपुगोस्। 

माटोले जमिनले कति समय धान्ने होला? प्राकृतिक रूपमा पलाइरहने कुवा  ढुंगेधाराजस्ता स्रोत मासिँदा हामी अप्राकृतिक रूपले पानी झिकिरहेका छौँ। चाहिएको बेला झिकेपछि थप्नु पनि त पर्दो होला तपाइँ हामलिे थप्नु पर्दैन प्रकृतिले नै थपिदिन्छ। वर्षामा परेको पानी त्यही माटो हुँदै विस्तारै भण्डारमा पुग्छ। तपाइँलाई चाहिएको बेला दिन्छ। के अब त्यो सम्भव छ? माटो देख्नै चाहने हामीले थोरै जग्गामा घर बनाएका छौँ। करेसाबारी छैन। बाहिर निस्कियो, कालोपत्रेले ढाकेर माटो देखिन दिएको छैन। अनि कहाँबाट पस्दो हो पानी। झिक्ने उपभोग गर्ने ढलमार्फत खोलामा बगाउने।

हो, माटोमा जीवन बिताउन सहज छैन। सरल छैन। घाम भन्न पाइँदैन। पानी भन्न पाइँदैन। अहोरात्र खट्दा मात्र, माटोलाई माया गर्दा मात्र फल पाइन्छ। नत्र माटोले सोचेजस्तो फल दिँदैन। त्यही दुःख भएर त हो हामी माटोबाट क्रमशः विमुख हुँदै गइरहेका छौँ। यो माटोमा मेहेनत गर्नुभन्दा विदेशमा पसिना बगाउन श्रेयस्कर ठान्छौँ।

सुनेको छु, माटोमा खाली खुट्टा हिँड्नेहरू यी प्लाष्टिकका जुत्ता चप्पल लगाउनेभन्दा निरोगी हुन्छन् रे! खेतका गह्रा वा चौरमा माटोमा बस्नुस्। त्यति नै समय सिमेन्टमा बस्नुस्। फरक थाहा पाउनुहुनेछ। यही माटोसँग दिनरात भिजेर काम गर्नेलाई मात्र थाहा हुन्छ माटोको माया। 

तर हामीले प्राकृतिक वस्तुहरूको प्रयोग छोडेर रासायनिक मल र औषधि हालेर माटो बिगारेका छौँ। तर माटोमा त्यो गुण पनि छ जो पहिलेकै अवस्थामा फर्किन सक्छ। माटो हावापानी र बिउको तालमेलले हाम्रोमा कति तागतिला अन्न फलफूल तरकारी हुन्थे। माटोको चिनारी रैथाने जातका अन्न तरकारी, फलफूल जडिबुटी कहाँ पुगे होलान्। अचेल सबैतिर पराईका 'हाइब्रिड'को बाहुल्य छ।

हो, माटोमा जीवन बिताउन सहज छैन। सरल छैन। घाम भन्न पाइँदैन। पानी भन्न पाइँदैन। अहोरात्र खट्दा मात्र, माटोलाई माया गर्दा मात्र फल पाइन्छ। नत्र माटोले सोचेजस्तो फल दिँदैन। त्यही दुःख भएर त हो हामी माटोबाट क्रमशः विमुख हुँदै गइरहेका छौँ। यो माटोमा मेहेनत गर्नुभन्दा विदेशमा पसिना बगाउन श्रेयस्कर ठान्छौँ। 

हाम्रो देशको माटो। श्रममा विश्वास गर्नेको माटो, पौरखीको माटो, ऋषिमहर्षिले तपस्या गरेको पवित्र माटो। यही माटोमा परचक्री भित्र्याउने, रणमैदान बनाउने अपवित्र बनाउने दुस्प्रयास भइरहेका छन्। तिनको उद्देश्य पूरा हुन नदिऔँ। माटो चिनौँ। माटोलाई माया गरौँ। माटोको बेवास्ता गर्नु भनेको आफ्नो चिनारीको बेवास्ता गर्नु हो। माटो भुलेर पराइको भरमा नबसौँ। सम्भव भएसम्म आफू जन्मेको भूमिको माटोलाई शरीरको स्पर्श गराऔँ। यहीँ मेहेनत गराैँ। यसैबाट फल खोजाैँ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.