|

धनकुटा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको गृह जिल्ला धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति, उपसभापतिलगायत नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सोमबार धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सभापति कुमारबहादुर थापा, उपसभापति टीकाप्रसाद घिमिरे, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति धर्मध्वज राई, क्षेत्र नम्बर २ क्षेत्रीय सभापति श्यामबहादुर गुरुङलगायत २१ जनाले पार्टी परित्याग गरेका हुन्। 

थापा २७ वर्षयता राप्रपा धनकुटाको सभापति पदमा थिए। पार्टी परित्याग गर्नेमा २१ जनामा जिल्ला समितिका १६, तीन जना क्षेत्रीय समिति र दुई जना नगरपालिका सभापति रहेका छन्। पार्टी केन्द्रमा स्वार्थ समूह मात्रै हावी भएको, पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने निष्कर्षसहित पार्टी परित्याग गरेको सभापति कुमारबहादुर थापाले बताए। उनले पार्टी स्वार्थका लागि गएको र विदेशीको दास बनेको र कार्यकर्तालाई दासी बनाएको आरोप समेत लगाए।

कमजोर बन्दै सुनिल थापा

गत माघ १८ मा तत्कालीन राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीबीच एकता भएर राप्रपा संयुक्त बनेको छ। त्यसै पार्टीका नेता हुन्– सुनीलबहादुर थापा। एकताका बेला धनकुटामा राष्ट्रवादीको खासै अस्तित्व थिएन। त्यहाँ तत्कालीन राप्रपा प्रजातान्त्रिकको पकड थियो। तत्कालीन राप्रपा प्रजातान्त्रिकमा रहेका २१ मध्ये १७ जनाले पार्टी परित्याग गरेका छन्।

पार्टी परित्यागपछि धनकुटामा सुनिलबहादुर थापा एक्लो नेता बन्नेका छन्। पूर्वमन्त्री समेत रहेका थापाको जिल्लामा यस्तो हविगत हुनु चर्चाको विषय बनेको छ। उनले जिल्लामा भेटे जतिलाई आफ्ना पिता सूर्यबहादुर थापाको योगदानको चर्चा गर्ने गर्छन्। तर, उनी आफैंले ‘बाउको बिडो’ थाम्न नसकेको देखेर कार्यकर्ता सबै आश्चर्यमा परेका छन्।

गुम्दै विरासत 

कुनै समय नेपाली राजनीतिमा निक्कै प्रभाव पार्न सक्ने जिल्लाको रुपमा धनकुटालाई चिनिन्थ्यो। यहाँ अन्तर्राष्ट्रिय रुपमा प्रभाव पार्न सक्ने नेता पनि थिए। धनकुटाले तीन जना प्रधानमन्त्री जन्मायो। त्यति मात्रै होइन, धनकुटाबाट बसाइँ सरेका नेताहरु अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सफल छन्। धनकुटामा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा चिनिएका सूर्यबहादुर थापा  पाँच पटक प्रधानमन्त्री भए।

प्रतिनिधिसभाको निर्वाचन हुँदा सुनिलबहादुर थापा उद्योगमन्त्री थिए। निर्वाचनका बेला उनी मन्त्रीकै हैसियतका भोट माग्दै हिँडेका थिए। निर्वाचनको बेला धनकुटा प्रदेशको अस्थायी राजधानी बन्यो भनेर ‘प्रयोजित दीपावली’ गर्न लगाए।

उनी मन्त्रीमण्डलमै भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी तोक्दा पनि ‘नोट अफ डिसेन्ट’ लेख्न सकेनन्। यसले उनको राजनीतिलाई जिल्लामा एकै पटक खुम्चिएको धेरैले बताउने गरेका छन्। निर्वाचन सकिएपछि त उनको राजनीति नै संकटमा परेको छ।  जिल्लामा एक्लिन थालेपछि उनले पटकपटक कांग्रेसमा प्रवेश गर्न खोजेको जिल्लामा चर्चा चल्ने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.