बाग्लुङ : बाग्लुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक टिमुर खेती सुरु गरेका छन्। बाँझो जमिनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा रोपेका हुन्।
विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाइँ सरेर जानेहरुले छोडेको बाँझो जग्गामा टिमुर खेती सुरु गरेका हुन्। मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रुपले खेती गरिएको राजु शाहीले बताए। पहिलो चरणमा करिब एक रोपनी जग्गामा विरुवा लगाइएको छ। थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेती सुरु गरेको शाहीले बताए।
‘बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हौँ,’ शाहीले भने, ‘केही वर्ष मिहिनेत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ। अहिले लगाइएका विरुवा हुर्किन थालेपछि आसपासमा रहेको थप जग्गामा खेती बढाउने योजना छ।’
समुन्द्री सतहबाट एक हजारदेखि २ हजार ५०० मिटरसम्मको उचाइमा टिमुरको खेती गर्न सकिने कृषि विज्ञहरुले बताउँछन्। स्याङ्जामा उत्पादन भएका उन्नत जातको टिमुरका विरुवा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो।
‘हामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विरुवामा सहयोग गरेको छ’ अँखेलीले भने, ‘अर्को वर्ष थप खेती बिस्तारका लागि आफैँ बिरुवा उत्पादन गर्ने योजना छ।’ विरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ। एक याममा एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फल्ने अँखेली बताउँछन्। एक किलो टिमुर दुई हजार ३०० रुपैयाँदेखि दुई हजार ५०० रुपैयाँ बिक्री हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।