विश्व

सयजना बलात्कारीको अन्तर्वार्ता लिएकी मधुमिताको निचोड : घरघरमा हुर्कँदैछन् बलात्कारी!
SHARES

विभेदले झन् झन् कम्जोर बन्दै महिला

असार २५, २०७६

    एजेन्सी : भारतमा बलात्कारीलाई 'राक्षस'का रुपमा चित्रित गरिन्छ। यस अर्थमा, अनुसन्धाता मधुमिता पाण्डेले सयजना 'राक्षस'को अन्तर्वार्ता गरिन्।

    पहिलोपटक भारतको तिहाड जेल पुग्दा उनी मात्र २२ वर्षकी थिइन्। उनले त्यहाँ सजाय काटिरहेका सयजना बलात्कारी पुरुषलाई भेटिन्। बेलायतको एञ्जलिया रस्किन विश्वविद्यालबाट अपराधशास्त्रमा पिएचडी गरिरहेकी उनलाई ती सयजनाको अन्तर्वार्ता पूरा गर्न तीन वर्ष लाग्यो।

    मधुमिताले सबैभन्दा पहिले भारतको बहुचर्चित 'निर्भया बलात्कार काण्ड' बाट अनुसन्धान थालिन्। 'निर्भया' ती पीडित महिलालाई उनको मृत्युपश्चात दिइएको नाम हो, जसको अर्थ हुन्छ– निडर। मेडिकल पढ्दै गरेकी निर्भया साथीहरुसँग फिल्म हेरेर घर फर्कने क्रममा सामूहिक बलात्कारको शिकार भएकी थिइन्। सन् २०१२ मा उक्त घटना भएको थियो।

    निर्भया-बलात्कार घटनाले भारतका हज्जारौं मान्छेहरुलाई उद्देलित बनायो, त्यस्ता घटना रोक्न सडकमा उत्रिएर आन्दोलन गरे। त्यतिमात्रै भएन, लैङ्गिक मामिलाका विशेषज्ञहरुले भारतलाई जी–२० देशमध्येकै असुरक्षित देश ठहर्‍याए। उनीहरुका अनुसार कट्टर मुस्लिम राष्ट्र साउदी अरब, जहाँ महिलाहरु पुरुषको कडा निगरानीमा बाँच्न विवश छन्, भारतको स्थिति त्योभन्दा पनि खराब ठहर्‍याइयो। भारतको राष्ट्रिय अपराध व्युरोमा सन् २०१५ मा मात्रै कूल ३४ हजार ६५१ जना महिला बलात्कृत भएको रेकर्ड छ।

    'त्यतिबेला सबैको दिमागमा एउटै चिज चलिरहेको थियो', उक्त समयमा बेलायतमै मास्टर्स गरिरहेकी मधुमिताले सम्झिइन्, 'यही कि, मान्छेहरुले त्यस्तो काम कसरी गर्न सक्छन्? ती पक्कै राक्षस हुनुपर्छ, मान्छेले त त्यस्तो काम गर्नै सक्दैन।'

    निर्भया घटनाले भारतमा बलात्कारबारे राष्ट्रव्यापी बहस छेडिदियो। त्यसो त, भारतमा आज पनि त्यो घटनालाई कलंकको रुपमा लिइन्छ। दिल्लीमै हुर्किएकी मधुमितालाई घटनाले नछुने कुरै थिएन, घटनापछि आफ्नो शहरप्रति उनको भिन्दै दृष्टिकोण बन्यो। भनिन्, 'म सोच्थेँ, मान्छेलाई त्यस्तो कु–कर्म गर्न के कुराले उचाल्छ होला? त्यो कस्तो परिस्थिति होला? अनि मलाई लाग्यो, यसको कारण थाहा पाउन त तिनैलाई सोध्नुपर्छ, जो–जो त्यस घटनामा सामेल थिए।'

    यसरी डोहोरिए जेलतिर पाइला

    बलात्कारमा संलग्नहरुसँग कुराकानी गरिसकेपछि उनले केही तथ्य पत्ता लगाइन्। जस्तो कि, तीमध्ये अधिकांश अशिक्षित थिए। औंलामा गन्न सकिनेले मात्र माध्यामिक शिक्षा पुरा गरेका थिए, धेरैजसोले तीन वा चार कक्षामा पढ्दै गर्दा स्कुल छाडेका थिए। 'म उनीहरु राक्षस नै हुन् भन्ने पूर्वधारणा बोकेर जेल गएकी थिएँ,' उनले भनिन्, 'तर कुरा गर्दै जाँदा उनीहरु कुनै असामान्य किसिमका मानिस होइनन् भन्ने लाग्यो। ती साँच्चै साधारण थिए। तिनीहरु जुन परिवेशमा हुर्किए, त्यहाँको सोचाइ र हुर्काइका कारण उनीहरु त्यस्ता घटनामा सामेल भएको पाएँ।'

    'भारतको 'घर–घरकी कहानी' के हो? चाहे त्यो शिक्षित परिवार नै किन नहोस्, महिलाहरु परम्परागत भूमिकामा बाँधिएका छन। कतिले श्रीमानको नामसमेत लिन हुन्न भन्ने ठान्छन्', मधुमिताले भनिन्, 'हो कि होइन भनेर जाँच्न मैले मैरै केही साथीहरुलाई फोन गरें, र सोधें, तिम्रो आमाले बुवालाई के भनेर बोलाउनुहुन्छ? कस्तो जवाफ आयो थाहा छ? धेरैजसोले 'सुन्नोस् त!', 'सुन्दै हुनुहुन्छ?', वा 'ए! राजुका बा!' भनेर बोलाउँदा रहेछन्।'

    पुरुषहरु यसरी गलत तरिकाले मर्द हुन सिकिरहेका छन् भने महिलाहरु ठीक विपरित नरम हुन सिकिरहेका छन्। यो घर–घरको कथा हो। 'बलात्कारी मान्छेलाई सबैले यसरी हेर्छन्, मानौं, त्यस मान्छेमा पक्का कुनै न कुनै गडबडी छ। तर त्यो मान्छे पनि हाम्रै समाजका अंग न हो! अर्कै ग्रहबाट आएको त होइन!', मधुमिताले भनिन्।

    जेलमा उनीहरुसँग कुरा गरिसकेपछि मधुमितालाई यस्तो लाग्यो, 'घर–घरमा रटाइएका गलत मूल्य–मान्यताका कारण ती मान्छेहरुमा महिलाप्रति जबर्जस्ती गर्नेसम्मको मानसिकता पैदा हुन्छ।'

    'उनीहरुको कुरा सुन्ने हो भने जसलाई पनि झट्का लाग्छ!', मधुमिताले भनिन्, 'तिनको कुरा सुन्दा तीप्रति दया जागृत हुन्छ। यसले नारी भएर कसरी एउटा बलात्कारीलाई दया गर्न सकेकी होली भन्ने तपाईंलाई लाग्ला ! मलाई विश्वास गर्नुस्, तीसँग कुरा गर्दै गर्दा मैले यी मान्छेहरु बलात्कारी हुन् भन्ने नै भुल्न पुगेकी थिएँ। तिनलाई थाहै छैन, तिनीहरुले जे गरे त्यो बलात्कार हो, जबर्जस्ती हो…! तिनीहरुलाई 'महिलाको सहमति' भनेको के हो भन्नेसमेत थाहा छैन।'

    'अब तपाईं आफैँलाई सोध्नुस्! यीजस्ता केही पुरुषले मात्रै यस्तो मानसिकता बोकेका छन् कि हाम्रो समाजका बहुसंख्यक पुरुषले यस्तो मानसिकता बोकेका छन्?', मधुमिताले भनिन्।

    भारतीय समाज अत्यन्तै रुढीवादी समाज हो। धेरैजसो स्कुलको पाठ्यक्रममा 'यौनशिक्षा' समावेश छैन। हाम्रा नीतिनिर्माताहरुलाई लाग्छ, यस्ता विषयले हाम्रा किशोरकिशोरीहरुलाई मतिभ्रष्ट्र बनाउँछ, हाम्रो संस्कार–संस्कृतिलाई ध्वस्त पार्छ। 'अभिभावकहरु पनि कस्ता छन्? ती लिंग, योनी, बलात्कार, यौन सम्पर्कजस्ता शब्दहरु उच्चारणसम्म पनि गर्न खोज्दैनन्। अभिभावकको मानसिकता त्यहाँबाट माथि उठेन भने तिनले आफ्ना छोराहरुलाई के सिकाउलान्?,' मधुमिताले प्रश्न गरिन्।

    जेलमा केही बलात्कारी यस्ता भेटिए, जसले आफ्नो कर्तुतको औचित्य साबित गर्न खोजे। धेरैले 'त्यो घटनालाई' बलात्कार नै मानेनन्। 'पछुतो मान्ने त्यस्तै तीन वा चारजना थिए होलान्,' उनले भनिन्, 'बाँकीले कुनै न कुनै तरिकाले स्पष्टिकरण दिन खोजे, केहीले बोल्न खोजेनन्, केहीले त उल्टै पीडितकै थाप्लोमा दोष थोपर्नसमेत भ्याए।'

    एउटा विशेष केसको चर्चा गरौं। एक ४९ वर्षीय पुरुष थिए, जो पाँच वर्षीय बालिकालाई जबर्जस्ती गरेकोमा पश्चाताप मानिरहेका थिए। 'ती बालिकाको जीवन तहसनहस पारेकोमा मलाई ठूलो पछुतो लागेको छ', मधुमिताले ती पुरुषलाई यसरी उद्धृत गरिन्, 'बालिका कुमारी रहिनन् भनेर अब कसैले उनीसित बिहे गर्नेछैन। म उनलाई स्विकार्छु, जेलबाट निस्केपछि उनैसित विवाह गर्न चाहन्छु।'

    ती पुरुषको कुरा सुनेर मधुमिता चकित परिन्, पीडित बालिकालाई नभेटिरहन सकिनन्। तिनै पुरुषबाट थरठेगाना लिएर बालिकाको खोजीमा निस्किइन्। बालिकाको घर पुगेर उनकी आमालाई भेटेपछि थाहा भयो, बालिकालाई ती बलात्कारी जेल परेको जानकारी दिइएको रहेनछ।

    अनुसन्धानका क्रममा उनले कयौं शत्रु कमाइन्। 'ऊ: फेरि अर्की नारीवादी आई भनेझैं गर्थे। यस्तो विषयमा महिलाले अनुसन्धान गर्दा पुरुषको विचार राम्ररी समेटिँदैन भन्ठान्थे। त्यस्तासँग कहाँबाट कुराकानी शुरु गर्ने?' उनले अनुसन्धान शुरु गर्दाका दिन सम्झिइन्। 

    यो सामाग्री हामीले वासिङ्‍गटन पोस्टबाट भावानुवाद गरेका हौँ। -सम्पादक

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]