|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ दूधमती चोकमा गुणस्तरहीन नाला निर्माण गरेको भन्दै स्थानीयले रोकेको छ। असार मसान्त सकिन लाग्दा रकम झ्वाम पार्न हतार-हतार गुणस्तरहीन काम गर्न खोजेको भन्दै स्थानीयले रोकेका हुन्।

सडक डिभिजन कार्यालय जनकपुरले सो ठाउँमा ४८ मिटर सडकको दुवैतर्फ नाला निर्माणको लागि ठेक्कामार्फत काम गराउन लागेको छ। तर, ठेकेदार कम्पनी, सम्झौता रकम र निर्माण सम्पन्न गर्न मितिबारे स्थानीय अनभिज्ञ छन्। अचानक विजय मण्डल नामका व्यक्ति आएर नाला निर्माण सुरु गर्दा काम रोक्न लगाएको स्थानीय सतिश झाले जानकारी दिए।

स्थानीय वडाध्यक्ष जीवछ मण्डलसमेत नाला निर्माणबारे अनभिज्ञता जनाए। उनले केहि जानकारी नै नदिई नाला निर्माण थालेपछि रोक्न लगाएको बताए। उनले भने, ‘नाला निर्माण गर्नु राम्रो हो। तर मापदण्ड नै पालना गरेको देखिएन। कामबारे अनिवार्य राख्नुपर्ने होडिङ बोर्डसमेत राखिएको छैन।’ ठेकेदार कम्पनी र बजेटबारे समेत आफूलाई केहि थाहा नभएको उनले बताए।

ठेकेदार कम्पनीका प्रतिनिधि भएर काम गराउन पुगेका विजय मण्डलले काम स्थानीयले रोकेपछि इन्जिनियर र ओभरसियर अनुगमन गरेको स्वीकारे। उनले २ सेन्टिमिटरको दूरीमा रड राखेर काम गर्न भनेको र आजबाट फेरि काम सुरु गर्ने बताए। उनले ठेकेदार कम्पनी र सम्झौता रकमबारे केहि बोल्न मानेनन्। होडिङ बोर्ड किन नराखेको विषयमा प्रश्न गर्दा उनले पछि भन्छु भन्दै फोन काटे।

यता, स्थानीयले कामको विवरणसहितको होडिङ बोर्ड झुण्ड्याएर गुणस्तरीय काम गर्ने प्रतिबद्धता नजनाएसम्म काम गर्न नदिने बताएका छन्। स्थानीय सतिश झाका अनुसार डेढ मिटरसम्मको दूरीमा कामै नलाग्ने पातलो छड हालेर नाला निर्माण गर्न खोजेका थिए। सिमेन्ट र बालुवासमेत गुणस्तरहीन प्रयोग गरेपछि काम रोकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.