|

काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख समस्याको रूपमा रहेको फोहोर अझै केही वर्ष सिसडोलमा राख्ने महानगरपालिकाले बताइरहेका बेला सिसडोलबासी भने अबको पाँच दिनभित्र आफ्ना माग पूरा नभए पुनः फोहोरका गाडी रोक्ने चेतावनी दिएका छन्। काठमाडौंमा उत्सर्जित फोहोर तत्कालको लागि सिसडोलमा नै व्यवस्थापन गर्ने गरी स्थानीयसँग सहमति गर्ने महानगरपालिकाले बताइरहेको बेला स्थानीयको यस्तो भनाइ आएको हो।

महानगरपालिकाले भने फोहोर व्यवस्थापनको लागि स्थानीयबासीसँग बारम्बार सहमतिको प्रयास गरिरहेको बताउँदै आएको छ। तत्काल नै बन्चरेमा लगेर फोहोर व्यवस्थापन गर्न नसकिने भएकाले सिसडोलका स्थानीयसँग समहमति गरेरै भए पनि त्यही विसर्जन गर्ने मनस्थितिमा महानगर पुगेको हो। 

सरकारले उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा महानगरपालिका दिएको छ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले सरकारले दिएको जिम्वारी पूरा गर्न कटिबद्ध भएको बताउँदै उनले फोहोरको समस्या समाधानको लागि अन्य नगरपालिकासँग पनि छलफल गरिरहेको बताए। उनका अनुसार सिसडोलमा १९ महानगरपालिकाको फोहर जाने गर्दछ।

'तत्कालको लागि काठमाडौं महानगरपालिकाले सिसडोलमा नै फोहोर राख्ने भएको छ। काठमाडौं महानगरपालिकाभित्र मुख्य सहर भएकोले महानगरपालिकालाई बढी जिम्मेवारी आएको छ' उनले भने, 'अन्य नगरपालिकासँग पनि महानगरपालिकाले सहकार्य गरेर जानुपर्ने छ। १९ वटा नगरपालिकासँग पनि बराबरी लगानी गरेर फोहोर व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ।'

सिसडोलमा दैनिक काठमाडौं महानगरपालिका, दक्षिणकाली, गोकर्णेश्वर, बूढानिलकण्ठ, तारकेश्वर, टोखा, चन्द्रागिरी, नागार्जुन, शंकरापुर, कागेश्वरी, मनोहरा नगरपालिका र प्याकेज २ मा ललितपुर महानगरपालिका तथा कीर्तिपुर, महालक्ष्मी र गोदावरी नगरपालिका तथा प्याकेज ३ मा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाबाट फोहोर गइरहेका छ।

यसका लागि काठमाडौं महनगरपालिकाले वर्षौंदेखि सिसडोलबासीलाई मुआब्जा वितरण गर्दै आएको उनले बताए। हालसालै  सिसडोलबासीसँग भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाले क्षतिपूर्ति दिने सहमति भएको पनि उनले स्मरण गराए।

चार सय रोपनी जग्गा काठमाडौं महानगरपालिकाले दुई वर्षको लागि फोहर व्यवस्थापन गर्ने सहमति भए पनि सिसडोलमा वर्षौंदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल व्यवस्थापन संघर्ष समितिको अध्यक्ष चक्रमान बलामीले बताए। उनले भने 'फोहोर लामो समयसम्म निजी जग्गामा राख्नु हुँदैन। महानगरले फोहोरको लागि प्रयोग गर्दै आइरहेको जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा दिनुपर्‍यो।'

सहमति भएको वर्ष १५ देखि २० वटा गाडी मात्र जान्थ्यो, हाल दैनिक पाँच सय गाडी गइरहेको बलामीको भनाइ छ। सिसडोलमा दैनिक भाडाका गाडीले ३५ सय टन फोहोर लिएर गइरहेको उनी बताउँछन्।

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि व्यक्तिगत जग्गा आफूखुसी प्रयोग गरिरहेको बलामीको आरोप छ। १४ वर्षसम्म महानगरपालिकाले सिसडोलबासीको जग्गा उपभोग गरिरहेको उनी बताउँँछन्। पटक-पटक स्थानीयसँग सहमति गर्ने तर, सहमतिबमोजिम काम नगरेकोले त्यसको विरोधमा सिसडोलबासीले आन्दोलन गर्दै आएको उनको भनाइ छ।

सिसडोलबासीको माग सम्बोधन गर्न महानगरले १५ दिनको समय मागेको थियो। १० दिन बितिसक्दा पनि महानगरपालिकाले कुनै पनि माग पूरा नगरेको उनले बताए। अबको पाँच दिनभित्र सहमति पूरा नभए फोहोरका गाडी रोकेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप फोहोरको व्यवस्थापन, प्रयोग गरिरहेको जग्गा महानगरले अधिग्रहण गर्नुपर्ने, फोहोर राखेको वरिपरि वृक्षरोपण गर्नुपर्ने जस्ता मागहरू सिसडोलबासीका रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.