बढी शुल्क असुलेको आरोप

|

चितवन : चितवन मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी केहि दिनयता आन्दोलित बनेका छन्। कलेजले अवैध रूपमा शुल्क माग्दै तनाव दिएको भन्दै कलेजविरुद्ध एमबिबिएस पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थी आन्दोलित बनेका हुन। सरकारले ४२ लाख तोके पनि १२ देखि २५ लाखसम्म बढी शुल्क मागेको विद्यार्थीको आरोप छ।

एमबिबिएस अध्ययनरत विद्यार्थी करण चौधरीले कलेजलाई यसअघि २ पटक गरी २७ लाख बुझाइसकेको भए पनि अझै २७ लाख मागिरहेको बताए। उनका अनुसार २१ लाख सुरुमै र भर्नाको समयमा ६ लाख बुझाएका हुन्। उनले दोस्रोपल्ट दिएको ६ लाखको रसिद कलेजले नदिएको बताए।

विद्यार्थीका  अनुसार कलेजले भर्ना शुल्क, रजिस्ट्रेसन शुल्क, परीक्षा, इन्टर्न्सिप शुल्क, फिल्ड भिजिटलगायतका शीर्षकमा बढी शुल्क लिने गरेको छ। आन्दोलित विद्यार्थीले कलेजले शुल्क बढी माग्ने मात्रै नभई बुझाएको सबै रकमको रसिदसमेत नदिने गरेको आरोप लगाएका छन्।

कलेजले विरोध गरे फेल गराउने लगायतका विभिन्न धम्की दिने गरेको विद्यार्थीको भनाइ छ। नाम नबताउने केही विद्यार्थीले आफूहरू अन्यायमा रहे पनि डराउँदै विरोध गर्नुपर्ने बाध्यता रहेको बताए। पढाइका क्रममा ठूलो रकम खर्चिसकेकाले तोकिएको भन्दा बढी रकम दिनसक्ने अवस्था नरहेको र नदिए पढाइ नै प्रभावित हुने त्रास विद्यार्थीमा देखिन्छ।

कलेजले गैरकानुनी रुपमा शुल्क असुल्दा पनि सम्बन्धित निकायले ठोस कदम नचालेको विद्यार्थीको गुनासो छ। उनीहरूले कलेजको अवैध विद्यार्थीमारा क्रियाकलाप नरोकिएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन्।

यसैबीच कलेजका निर्देशक डा. दयाराम लम्सालले सरोकारवाला पक्षसँग छलफल भइरहेको बताएका छन्। लम्सालले यो विषय कुनै मेडिकल कलेजको विषय मात्रै नभई राष्ट्रिय विषय भएकाले बहस, छलफल भइरहेको बताए। उनले विद्यार्थीको असन्तुष्टिबारे केही बताउन नचाहे पनि विद्यार्थीलगायत सरोकारवाला पक्षबीच छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने विश्सास व्यक्त गरे।

विद्यार्थीले मेडिकल कलेजविरुद्ध यसअघि पनि पटकपटक आन्दोलन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.