|

सल्यान : सल्यानमा आकाशे पानी संकलन ट्यांकी प्रभावकारी बन्दै गएको पाइएको छ। खानेपानीको चरम समस्या भोग्दै आइरहेका यहाँका स्थानीयका लागि आकाशे पानी संकलन ट्यांकी फलदायी बन्दै गएको हो।

हिउँदको समयमा समेत दुई तीन घण्टाको पैदलदुरी पार गरी पानी बोक्नु पर्ने बाध्यतालाई आकाशे पानी संकलन निकै प्रभावकारी भएको स्थानीयको भनाई छ।

जिल्लाको शारदा नगरपालिका वडा न ५ कोटनेटा र धानटाकुरामा आकाशे पानी संकलन गर्न ट्यांकी निमार्ण गरिएको छ। ट्यांकीमा जम्मा गरिएको पानी ह्यान्ड पम्पबाट तान्ने गरिएको स्थानीय सीता बस्नेतले बताइन। उनले भनिन् ‘विगतमा खानेपानीको निकै समस्या थियो एक गाग्री पानी ल्याउन पनि २ घण्टा बढी समय लाग्थ्यो तर आजभोली समयमो निकै बचत हुने गरेको छ।’

अहिले घरमा नै आकाशे पानी संकलन गर्न ट्यांकी निमार्ण गरेको र संकलन भएको पानी पम्पको माध्यमबाट तान्ने गरेको उनको भनाई छ।

घरको छानाबाट झरेको पानी ट्यांकीमा जम्मा गर्ने गरेको अर्का स्थानीय लाल बहादुर रावतले बताए। घरायसी प्रयोग, सरसफाई, वस्तुभाउलाई खुवाउनका लागि पानीको समस्या टरेको उनको भनाई छ। उनले भने ‘जबसम्म प्रशस्त मात्रामा पानी हुँदैन तबसम्म सरसफाइदेखि विकासले पनि गति लिन सक्दो रहेनछ। पानी नहुँदा निकै समस्या थियो। आज त्यो समस्याबाट मुक्ति पाइएको छ।’

खानेपानीको चरम समस्या भएका बस्तीमा १० हजार क्षामता भएका ट्यांकी निमार्ण गरी खानेपानीको समस्या कम गर्न थालिएको शारदा नगरपालिकाका शव इन्जिनियर ओमबहादुर यरीले बताए। नगरपालिकाको ४ लाख ८० हजार र बाँकी श्रमदानी गरी आकाशे पानी संकलनका लागि ट्यांकी निमार्ण गरिएको यरीले बताए।

बाहिरि फोहोर नपस्ने गरी ट्यांकी निमार्ण गरिएका कारण पानी शुद्धीकरण गरेर खानसमेत मिल्ने उनको भनाइ छ। गर्मीयाममा बढी सुख्खा हुने र पानीको समस्या भएका बस्तीलाई प्राथमिकता दिएर आकाशे पानी संकलन गर्ने कार्यक्रम अघि सारेको ५ नं. वडा अध्यक्ष प्रदीप शाहीले बताए।

खानेपानीको अभावकै कारण स्थानीयले शहरी क्षेत्रमा बसाइँसराइ गर्दै जान थालेपछि स्थानीयलाई पुनः स्थापना गर्नका लागि काम गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.