|

डडेल्धुरा : ‘घाँस बेचेर आम्दानी? यो त हामीले सपनामा पनि कल्पना गरेका थिएनौँ।’ ६२ वर्षीय जयबहादुर धामीले आफैंले गरेको घाँसखेतीबारे अनुभव सुनाए। ‘मैले अहिले १० क्विीन्टल जै घाँस (ज्वाँतो)को बिउ उत्पादन गरेको छु, एक क्विन्टलको ५ हजारको हिसाबले यसवर्ष ५० हजार आम्दानी हुने भयो’ उनले भने।

नवदुर्गा गाउँपालिका-३ डाँडावनका उनले २०६८ सालमा पहिलोपटक जै घाँस लगाएका थिए। सुरुको वर्ष मलगायत चार जनाले जिल्ला पशुपेवा कार्यालयले दिएको घाँसको विउ लगायौँ, त्यो वर्ष ढेड क्विन्टल फल्यो’ उनले सुनाए ‘दोस्रो वर्ष साढे तीन क्विन्टल र तेस्रो वर्ष सात क्विीन्टलसम्म फलायौँ।’

आफूलाई सधैँजसो यस वर्ष पनि २५ किलो घाँसको बिउ दिइएकोमा त्यसबाट १० क्वीन्टल विउ उत्पादन गरेको उनले बताए। ‘फाइदा छ हजुर गहुँ लगाउनुभन्दा यो घाँसको बिउ उत्पादन गरेर डडेल्धुराका सबै स्थानीय तह, कैलाली, कञ्चनपुरदेखि नवलपरासी र रुपन्देहीको बुटवलसम्म पठाउँछौँ।’ उनले भने, ‘गाउँपालिकाले बोरा र सिल्ने मेसिन उपलब्ध गराएकाले अझ सहज भएको छ।’

दुई क्विन्टल गहुँ फल्ने खेतमा ६ क्विन्टल घाँस

‘हाम्रो खेतमा पहिले २ क्विन्टन गहुँ उत्पादन हुन्थ्यो तर घाँस चाहिँ ६ क्विन्टनसम्म उत्पादन हुन्छ’ अर्की किसान लक्ष्मीदेवी साउँदले भनिन्–‘गहुँ ३० रुपैयाँ किलो तर जै घाँसको बिउ ५० रुपैयाँ किलोमा विक्री हुन्छ, फेरि त्यो घाँसको पराल पनि बेचीने हुँदा फाइदा नै छ।’

बजार र भण्डारणको समस्या

सुरुमा समूह र पछि गएर घाँस तथा पशु विकास कृषि संस्था लिमिटेड नामक सहकारी संस्था दर्ता गरेर उनीहरूले अहिले जै घाँसको बिउ उत्पादन गरिहेका छन्। अहिले उक्त सहकारी संस्थामा १ सय १५ जना सदस्य रहेका छन्। तर, सबैले घाँस उत्पादन गर्न मान्दैनन् कारण बजारबाट समयमा पैसा नमिल्नु र उचित भण्डारण गर्ने स्थान नहुँनू।

‘जै घाँस वैशाखमा हुन्छ तर कात्तिकमा बिक्री हुने हुँदा पैसा कात्तिकमा मात्रै मिल्छ’ कृषक बहादुर बोहराले भने, ‘हामीलाई सुरुमा जिल्ला पशुसेवा कार्यालयले नै यो खेतीतर्फ उत्प्रेरित गरेको हो, उसैले एउटा भण्डारण गर्ने भवनसमेत बनाइदियो। तर, उत्पादन गरेको बिउ बिक्री गर्न समस्या भएकाले धेरैजसो किसाने उत्पादन घटाएका छन्।’

गाउँपालिकाको सहयोगको आस

व्यापारीहरुले सुरुमै सम्झौता गर्ने भए सबैले उत्पादन बढाउने उनले बताए। उत्पादन भएको जै घाँसको बिउ विक्री गर्न गाउँपालिकाले सहयोग गरे आफ्नो सहकारीले किसानलाई घाँस लगाउन उत्प्रेरित गर्ने जयबहादुर धामीको भनाइ छ।

भण्डारणका लागि बनाइएको भवन जीर्ण अवस्थामा रहेकाले त्यसलाई मर्मत तथा नयाँ भवन बनाइदिए उत्पादन भएको बिउ राख्न सहज हुने अर्का किसान तिलक शाहीले बताए।

अहिले घाँस तथा पशुविकास कृषि संस्था लिमिटेड डाँडावन जै घाँसको श्रोत केन्दको रुपमा रहेको छ। सुरुमा स्वान र गौतम जातको जै घाँसको विउ उपलब्ध गराएको र भवन निमार्णको लागि ५ लाख दिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

विभिन्न समयमा क्षमता विकासका लागि आफूहरुले कृषक भम्रण तथा तालिम उपलब्ध गराइसकेको पशु विकास अधिकृत खड्कबहादुर शाहले बताए। ‘अहिले उनिहरुले समयमा भुक्तानी नपाउनाले बजारको समस्या भोगिरहेका छन्’ उनले भने, ‘त्यसका लागि हामी स्थानीय सरकार र व्यापारीसँग समन्वय गर्ने प्रयासमा छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.