|

दैलेख : नारायण नगरपालिका-४ सोतका २५ घर दलित समुदायले आफ्नो टोलमा खानेपानी आउँछ भनेर आशा मारिसकेका छन्। टोलनजिकै रहेको बिनिखोलाबाट उनीहरूले एक दशकदेखि कुवाकै पानी खाएर गुजारा गरिरहेका छन्।

१० वर्षअघि दैलेखमा साना सहरी तथा खानेपानी आयोजना सुरु हुने र दैलेख सदरमुकाम हुँदै सोतमा पनि पानी आउने ढोल पिटियो।

यहाँका उपभोक्ताले घरको लापुर्जा जमानी राखेर रकम बुझाए। 'व्यवस्था परिवर्तन भयो, नेता परिवर्तन भए गाउँमै सरकार आयो तर हाम्रो टोलको पानी समस्या समाधान भएन' विमला सार्कीले दुखेसो पोखिन्। शुद्ध खानेपानीको आशामा १० वर्ष बितेको उनले बताइन्।

चुनावताका सबै पार्टीका मान्छेले खानेपानी समस्या समाधान गरिदिने भने पनि कसैले नहेरेको उनको गुनासो छ।

दशकदेखि कुवाकै भर

अहिले सोतनजिक बिनी खोलाका समुदायहरू खुल्ला आकाशमा रहेको परम्परागत कुवाबाट पानी खानुपर्ने बाध्यतामा छन्। खुल्ला कुवामा ओहोरदोहोर गर्ने बटुवाहरूले हातै चोपेर पानी खानुका साथै विभिन्न फोहोर गर्दछन्। कुवा फोहोर भए पनि यहाँका उपभोक्ताले बाध्य भएर त्यही पानी खानुपर्ने समस्या छ। 'मानिसहरू नभएका बेला जंगलमा चर्न आएका गाईभैंसीले समेत पानी पिउने गरेको ६० वर्षे वसन्त सार्कीले गुनासो गरे।

पुर्जा धितो राखेर ऋण

घरको पुर्जा बैँकमा धितो राखेर प्रत्येक घरबाट ७ हजारदेखि १२ हजारसम्म धरौटी बुझाइसकेको सार्कीको भनाइ छ। साहारे खानेपानी आयोजनाले काम नगर्दा आफूहरूले धमिलो पानी खानुपरेको उनको गुनासो छ।

भ्यागुता पन्साएर पानी

बर्खाको समयमा कुवामा भ्यागुता खेलेको देखिन्छ। तर, भ्यागुता पन्साएर उपभोक्ताले पानी भर्नुपर्ने बाध्यता छ। विद्यार्थी र अन्य आवतजावत गर्ने मानिसले समेत नजिकै पानी नभएकाले कुवाको उक्त फोहोर पानी खाएर प्यास मेट्ने गर्दछन्।

के भन्छन् जनप्रतिनिधि?

निर्वाचित वडा सदस्यहरू र वडा अध्यक्ष सधैँ यही बाटो भएर हिँड्ने गरेका भए पनि खानेपानी समस्यालाई वास्ता नगरेको उपभोक्ताको आरोप छ। 'टाठबाठा समुदायका मानिस भएका भए लडेर पनि खानेपानी ल्याउँथे हामी गरिबलाई कसले हेर्छ?' सार्कीले गुनासो गरे।

वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइमा कुवा मर्मत संहार गर्ने र बस्तीका बासिन्दाहरूले उठाएको रकमको खोजी गर्ने प्रतिबद्धता गरिएको थियो। तर, अहिलेसम्म रकम विनियोजन नभएको सार्कीको भनाइ छ।

कुवा ५ नं. वडामा बनाउनुपर्ने र उपभोक्ता ४ नं. वडाका बासिन्दा भएको हुनाले कुन वडाले पैसा विनियोजन गर्ने भन्नेमा अन्योलता भएको वडा नं ४ का वडा अध्यक्ष लालबहादुर थापाले बताए। आफूहरूलाई खानेपानीको समस्याबारे प्रस्‍ट जानकारी रहेको र तत्काल समस्या समाधान गर्ने थापाको भनाइ छ।

विभागले बजेट नदिँदा समस्या

खानेपानी विभागले इस्‍टिमेट र बजेट कटाएर पठाएकाले समस्या भएको खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष बलराम श्रेष्ठको भनाइ छ।

कर्णाली प्रदेश सरकारले उक्त बस्तीमा खानेपानीको समस्या समाधानका लागि ३५ लाख बजेट छुट्याएको छ। वडा नं. ४ मा एकसय घनमिटरको पानी भण्डार  गर्ने ट्यांकी बनिसकेकाले एक वर्षभित्र खानेपानी समस्या समाधान हुने श्रेष्ठले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.