|

काठमाडौं  : निर्माता छवि ओझा र पत्नी शिल्पा पोखरेलबीचको विवाद मिलेको छ । कानको जाली फुट्ने गरी कुटेको भन्दै नायिका शिल्पाले उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा बिहीबार सहमति भएको हो । 

प्रहरीको रोहबरमा करिब ३ घण्टा छलफल भएपछि दुईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रहरी कार्यालयबाट निस्कने क्रममा शिल्पाले छविले माफी मागेपछि कुरो मिलेको बताइन्। तर उनी टेकु परिसरबाट निस्कँदा रोइरहेकी थिइन्। 
‘उहाँले सरी भन्नुभयो’, शिल्पाले भनिन्, ‘त्यसपछि प्रहरीको रोहवरमा सहमति गर्यौँ।’

शिल्पाले आफूलाई अन्याय परेपछि प्रहरीमा आएको बताइन् । ‘मलाई जे प¥यो, जे भोगेँ, न्यायका लागि प्रहरीमा आएँ’, उनले भनिन्, ‘म आएँ भने अरु पनि नडराउन् भनेर हिम्मत गरेकी हुँ। पीडितपक्षको कुरा सुनुवाइ भएको छ ।’

शिल्पा भन्दा पछाडि टेकु परिसरबाट निस्किएका निर्माता ओझाले शिल्पासँग २०७३ सालमा विवाह भएको बताउँदै आफूले डिभोर्स नदिने बताए । 
‘मैले गल्ती गरेको छु, सरी भने तर मेरो तर्फबाट डिभोर्स हुँदैन’, उनले भने, ‘सामान्य घर झगडाको कुरालाई हामीले मिलायौँ। दुईजनाबीच फेरि झगडा नगर्ने भनेर सहमति भएको छ। श्रीमतीलाई सरी भन्दा म सानो हुन्न।’

आफूले शिल्पालाई नकुटेको दाबी छविले गरे। ‘मैले कुटेकै थिइनँ। कानको जाली फुट्ने गरी कुटेको कुरा हल्ला मात्रै हो’, उनले भने, ‘आज ११ बजे छिरेका हामी २ बजे कुरा मिलेपछि निस्कियौँ। शिल्पा मेरी श्रीमती हो, घर आए स्वागतका साथ राख्छु।’

करिब १७ दिन अघि झगडा परेपछि शिल्पा सम्झना उप्रेती रौनियार र विकास रौनियारको घरमा बस्न गएको बताए । ‘विकास रौनियार शिल्पाको टिका लगाएको दाजु हो। विकासकै घरमा बसेको हो उनी’, छविले भने, ‘उहाँहरुले बहिनीलाई सुरक्षा दिएको हो। यसमा अन्यथा लिन्नँ। हरेक मान्छेको घरमा झगडा हुन्छ। शिल्पालाई चित्त नबुझेपछि गएकी हुन्, अब आउँछिन्।’

झगडा परेर शिल्पाले घर छाडेपछि आफूले १७ दिनसम्म फोन नगरेको बताउँदै छविले विकासले पनि आफूलाई शिल्पाबारे कुनै जानकारी नदिएको दाबी गरे। 
शिल्पासँग आफूले २०७० सालदेखि नै सहकार्य गरेको उनले बताए । ‘मैले त माया गरेको छु। २०७० सालदेखिसँगै छौँ। लज्जा सिनेमादेखि लिएर आएको हुँ’, उनले भने, ‘२०७३ सालमा सँगै बसौँ भनेर बिहे गर्यौँ। मैले शिल्पालाई बाहिरी मान्छेको कुरा नसुन्नुस् भनेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.