बुद्धभूमिको भ्रमण गर्न आउनूस् : मुख्यमन्त्री पोखरेल

|

काठमाडौं : प्रदेश ५ अन्तर्गत वर्दियाको ठाकुरबाबा नगरपालिका र चीनको क्वैचौ प्रान्तअन्तर्गत ल्युपान्स्यु सिटीबीच मितेरी सम्बन्ध स्थापित भएको छ। दुई शहरबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिएको हो। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीनको सिचुवान र क्वैचौ प्रदेशको भ्रमणअन्तर्गत उक्त सहमति भएको हो।

ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र ल्युपान्स्यु सिटीका प्रमुख लि ग्याङले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। त्यस कार्यक्रममा बोल्दै ल्यूपान्स्यु शहरका प्रमुख लि ग्याङले छिट्टै ठाकुरबाबा नगरपालिका र प्रदेश ५ को भ्रमण गर्ने जानकारी दिए। प्रदेश ५ र ल्यूपान्स्यु शहर उस्तै प्रकृतिको रहेको पाइएको बताउँदै दुवै क्षेत्र बहुजातीय क्षेत्र रहेको उनले बताए।

दुवै देश कम्युनिष्ट पार्टीले नेतृत्व गरेको भएको भन्दै ल्युपान्स्यु शहरपछि निर्माण गरिएको शहर भए पनि अहिले महत्वपूर्ण औद्योगिक शहरका रूपमा विकास गरिएको प्रमुख लिले बताए।

५० वर्षयता गरिब ठाउँको रूपमा रहेको ल्युपान्स्युलाई गरिब ठाउँबाट आधुनिक तथा औद्योगिक शहरका रुपमा विकास गरिएको भन्दै उनले यस क्षेत्र कोइला, फलाम, भवन निर्माण सामग्री लगायतका महत्वपूर्ण सामग्रीको औद्योगीक क्षेत्रका रुपमा अहिले रहेको बताए।

यस क्षेत्रमा ३० प्रकारका महत्वपूर्ण खनिज पदार्थ पाइने गरेको भन्दै अहिले पनि यस क्षेत्रमा शहर र गाउँबीच भिन्नता रहेको बताए। 'चिनियाँ सरकारले गरिबी निवारण कार्यक्रम सञ्चालन गरि नै रहेको छ। सन् १९१५ मा २५ लाख जनसंख्यामध्ये करिब ४ लाख १६ हजार जनसंख्या गरिब थिए, गरिबी निवारण हाम्रो लक्ष्य हो', उनले भने।

सन् १९७८ डिसेम्बर १८ मा स्टेट काउन्सिलले ल्युपान्स्युलाई शहरका रूपमा घोषणा गरेको जानकारी दिँदै यसको क्षेत्रफल ९९६५ एस्क्वायर किलोमिटर रहेको जानकारी दिए। ३४ लाख जनसंख्या रहेको यस शहरमा आदिवासी अल्पसंख्यक समुदाय पनि रहेको बताउँदै जम्मा जनसंख्याको करिब नौलाख जनसंख्या आदिवासी अल्पसंख्यक समुदायको रहेको जानकारी दिए।

उक्त शहरमा अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस र न्यूनतम ३ डिग्री सेल्सियस रहेको भन्दै यसलाई चीनको चिसो शहरका रुपमा समेत चिनिदै आएको उनले बताए। त्यस क्षेत्रमा १० वटा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू रहेको भन्दै जसमध्ये ६ वटा राष्ट्रिय, ४ वटा ए लेभल र ६ वटा प्रदेशस्तरीय पर्यटकीय क्षेत्रहरू रहेको जानकारी समेत दिए।

यसैगरी, त्यस अवसरमा बोल्दै ठाकुरबाबा नगरपालिका मेयर घननारायण श्रेष्ठले वर्दिया राष्ट्रिय निकुञ्ज रहेको यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताए। ५५ हजार जनसंख्या रहेको यो नगरपालिका संविधान निर्माण भएपछि निर्माण गरिएको नगरपालिका भएको बताउँदै नगरपालिकालाई शहरका रुपमा विकास गर्न लागेको बताए।

थारू आदिवासी समुदायको बाहुल्यता रहेको ठाकुरबाबा नगरपालिका आदिवासी संस्कृतिको पहिचान रहेको क्षेत्र भएको मेयर श्रेष्ठले बताए। यस नगरपालिका क्षेत्रमा महत्त्वपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज रहेको भन्दै यस क्षेत्रमा हात्ती सफारी, गैंडाको अवलोकन तथा ४ सयभन्दा बढी चराहरू अवलोकन गर्न पाइने जानकारी दिए।

बुद्धभूमिको भ्रमण गर्न आउनुस : मुख्यमन्त्री पोख्रेल

यसैगरी, त्यस अवसरमा बोल्दै प्रदेश ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले बुद्धको जन्मभूमि रहेको प्रदेश ५ मा आगमनका निम्ति स्वागत गरे।

प्रदेश ५ लाई कृषि क्षेत्रको रुपमा विकास गर्न खोजिरहेको भन्दै उनले औद्योगीक क्षेत्रका रुपमा समेत विकास गर्न खोजिरहेको बताए। त्यसअन्तर्गत अहिले ३ वटा औद्योगिक क्षेत्रमा काम गर्न खोजिरहेको बताउँदै मुख्यमन्त्री पोखरेलले भविष्यमा प्रदेश ५ लाई महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न खोजेको बताए।

नेपालमा चिनियाँ कम्पनीहरूले विकासका कामहरू गरिहेको भन्दै उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले गरिरहेको बताए। मुख्यमन्त्री पोख्रेलले चिनियाँ कम्पनीकै सहयोगमा महत्वपूर्ण भेरी नदी डाइभर्सनलगायतका काम समेत भइरहेको बताउँदै प्रदेश५ मा महत्वपूर्ण राष्ट्रिय निकुञ्जहरू भएका कारण पर्यापर्यटनका हिसाबले समेत राम्रो क्षेत्र रहेको बताए।

त्यस अवसरमा क्चौ प्रदेश परराष्ट्र मन्त्रालयका उपनिर्देशक लुवो स्याङको समेत उपस्थिति थियो। त्यस अवसरमा बोल्दै उनले चीन र नेपालबीचको सम्बन्ध सुमधुर हुनुपर्ने र अहिलेसम्म राम्रो सम्बन्ध भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.