तीर्थराजको हत्यामा सञ्‍जीवसहितका प्रहरीको हात!

|

काठमाडौं :  बुधबार बिहान भोजपुर सदरमुकाम प्रहरी र आफ्ना एक कार्यकर्ता मारिने गरी भएको भिडन्ताबारेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेकपाको सगरमाथा ब्युरो इन्चार्ज अधिकारले विज्ञप्ती जारी गर्दै घटनाबारेमा धारणा सार्वजनिक गरेका हुन्। इन्चार्ज अधिकारले प्रहरी जवान सञ्जीव राईको टोलीले नै जेठ ५ गते भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकाको धोद्रेमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे हत्या गरेको आरोप लगाएका छन्। 

अहिले पनि सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको जिकिर गर्दै उनले पार्टीको त्यही सदासयतालाई सरकारले कम्जोरी ठानेर आफ्ना कार्यकर्तामाथि एकपछि अर्को आक्रमण गरिरहेको दाबी गरेका छन्। सरकारले देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत विप्लव नेतृत्वको नेकपाले लगाएको छ।

‘यतिबेला सामाजिक फासिवादी जन हत्यारो केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ। भोजपुरका कमरेड तीर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर ट्याम्के-मैयुङ गाउँपालिका-२, दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्नेमध्येका सञ्जीव राई र उनको टोली थियो', अधिकारले भनेका छन्, 'त्यही टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकामका परिवारसँग भेटेर फर्कने क्रममा जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा प्रशान्तको शाहदत भएको छ।’

अधिकारले भोजपुर घटनापछि बदलाभावका साथ मैदानमा उत्रिन पनि आग्रह गरेका छन्। 'यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ', उनले भनेका छन्, 'देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई सहिद घोसणा गर्दै उहाँको सपना खेर जान नदिने प्रण गर्दछौं ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.