|

उदयपुर : उदयपुरको भित्री मधेसमा नगदे बालीका रुपमा चिनिने आँप उत्पादनमा यस वर्ष कमी आएको छ। एक वर्ष फल्ने अर्को वर्ष नफल्ने आँपकै विशेषताले आँप उत्पादनमा कमी आएपछि बजारमा मूल्यसमेत आकाशिएको छ।

आँप उत्पादनमा कमी भएपछि मूल्य बढेको गाईघाटमा बर्सेनि यसै सिजनमा आँप बेच्दै आएकी विना चौधरी बताउँछिन्। ‘गाईघाट, बेल्टार लगायतका क्षेत्रमा आँपै पाइँदैन,’ उनले भनिन्, ‘हामीले गाईघाट लगायतका बजारमा बेच्न पनि सिरहा सप्तरीबाट ल्याउनुपर्छ।’

गत वर्षको असारको अन्तिममा प्रतिकिलो १५ देखि २० रुपैयाँमा पाइने आँप यसपालिका २० देखि ३० रुपैयाँ पुगेको व्यापारीहरुको भनाइ छ।

गाईघाट बजारमा चौकपिच्छे ढकिया र ठेलामा आँपको मात्र व्यापार हुन्थ्यो। तर, यसपटक आपँको उत्पादनमा कमी आएपछि फाट्टफुट्ट मात्र बिक्री हुने गरेको छ। समुन्द्री सतहदेखि करिब छ सय मिटरको उचाईमा आँपको खेती हुन्छ।

एक वर्ष फल्ने एक वर्ष नफल्ने आँपको गुण भएकाले यस वर्ष कम उत्पादन हुदा बजार मूल्य बढेको कृषि ज्ञानकेन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारी बताउँछन्। ‘जिल्लाको त्रियुगा, बेल्टार, रामपुर, त्रिवेणी र कटारी आसपासको भेगमा आँपको खेती हुँदै आएको छ,’ उनले भने, ‘आँपको वंशानुगत गुण नै एक वर्ष फल्ने एक वर्ष नफल्ने भएकाले यस वर्ष नफल्ने वर्ष परेकाले पनि आँप उत्पादनमा कमी आएको हो।’

उदयपुरमा बर्सेनि ६ सय ५५ हेक्टरभन्दा बढी क्षेत्रफलमा एक हजार १५ मेट्रिकटनभन्दा बढी आँप उत्पादन हुँदै आएको छ। ‘यसपालिका झण्डै पाँचसय मेट्रिकटन मात्र आँप उत्पदान भएको छ, प्रमुख अधिकारीले थपे।’

कटारी, रिस्कु, मरुवा खोला, गाईघाटका विभिन्न क्षेत्र, रामपुर तथा वेल्टार लगायका भित्री मधेसमा विशेष गरी बढी आँप उत्पादन हुन्छ। सदावहार फुलफूलअन्तर्गत आँप लिची, मेवा, भुइँकटहर, केरा, अम्बा रूखकटर र सुपारी लगायतको खेती एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा हुँदै आएको छ। पछिल्लो तीन वर्षको तुलनामा बढ्दै गएको ज्ञान केन्द्रको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.