|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले जथाभावी बोलेको भन्दै आक्रोश पोखेका छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा कांग्रेसलाई 'दिनभरी बिपी, रातभरी विप्लव' भनेर कटाक्ष गरेपछि शर्मा आक्रोशित भएका हुन्। 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीबाट मारिएको विषयलाई लिएर कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएका बेला सञ्चारमन्त्रीले कटाक्ष गरेका थिए।

मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन र संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गरेका थिए । 'कांग्रेसको चरित्र के हो? दिनभरी बिपी, रातभरी विप्लव?', बाँस्कोटाले प्रश्न गरेका थिए। 

त्यसको जवाफमा माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो धारणा राख्दै शर्माले बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीका फोटोकपीको संज्ञा दिएका हुन्। 

शर्माले प्रधानमन्त्रीले नै संसदमा अपशब्द बोलेको भन्दै मन्त्रीहरुसँग संस्कारको अपेक्षा गर्नै नसकिने जिकिर गरे। 'प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा, तब कुनै `फोटोकपी´मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ?', शर्माले प्रश्न गरेका छन्, 'अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्‍न! भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्‍न! 'लगाम' उपहार पठाऊँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.