|
file Photo

विराटनगर : मनसुन सक्रिय भएसँगै केही दिनदेखि निरन्तर मध्यमस्तरको वर्षाले बाढी तथा पहिरोको जोखिम बढाएको छ। वर्षासँगै विपद्को अवस्था आउने सक्नेतर्फ जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरूलाई सचेत गराएको छ।

मोरङ जिल्ला भएर बग्ने प्रमुख ७ वटा खोलाले गर्नसक्ने कटान र प्रभावित पार्न सक्ने वस्तीहरूमा सूचना संयन्त्र चुस्त राख्न प्रहरी र स्थानीय तहलाई निर्देशन गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए।

मनसुनसँगै हुने सम्भावित विपद्लाई दक्षित गरेर जिल्ला विपद् व्यवस्थापन समितिको दुईवटा पूर्वतयारी बैठक सम्पन्न भइसकेको छ। विपदको समयमा गर्नुपर्ने व्यवस्थापनको सबै तयारी पूरा गरेको र सूचनालाई व्यवस्थित पनि बनाएको प्रजिअ केसीले बताए।

प्रदेश सरकार गठन भएपछि पहिलेको तुलनामा विपद व्यवस्थापनको कामलाई निकै प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गर्नसक्ने गरी जिम्मेवारी विभाजन भएको प्रजिअ केसीले जानकारी दिए। उनका अनुसार अहिले हरेक स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन भएका छन् र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन्।

सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको बताइएको छ।  प्रदेश सरकारकै योजनामा हरेक स्थानीय तहसँग विपदको समयमा आवश्यक पर्ने न्यूनतम यन्त्र र उपकरणहरू डोरी, लाइफज्याकेट लगायतका साधनहरू उपलब्ध गराइएको छ। प्रदेश सरकारको विपद् व्यवस्थापन इकाई मातहत केही सवारी साधन र रवरको डुंगा तयारी अवस्थामा छ। प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई दिएको डुंगा पनि तत्काल प्रयोग गर्नसक्ने तयारी अवस्थामै छ।

जिल्लाको विपद व्यवस्थापनको कामलाई सात क्लष्टरमा विभाजन गरेर सबै क्लष्टरलाई तयारी अवस्थामा राखिएको प्रजिअ केसीले जानकारी दिए। उनका अनुसार समन्वय तथा सूचना खोज उद्धार क्लष्टरको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गर्नेछ। अस्थायी आवास र गैह्रखाद्य क्लष्टरको नेतृत्व भवन डिभिजन कार्यालयले गर्छ भने आपतकालिन शिक्षामा जिल्ला शिक्षा समन्वय इकाइले नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ।

यस्तै, स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरुले गर्नेछन्। बन्दोबस्तीको सामान उपलव्ध गराउने काम रेडक्रसलाई दिइएको छ। यसअघिको संरचनामा विभिन्न ११ क्लष्टरमा विपद व्यवस्थापनको काम हुने गरेकोमा केही क्लष्टरहरूलाई समायोजन गरेर चुस्त बनाइएको केसीले बताए।

महिला तथा बालबालिकाको सुरक्षा, खानेपानी व्यवस्थापन, कृषि लगायतका क्लष्टरहरु समायोजना गरिएका हुन्। जिल्लाको सम्भावित जोखिमहरूको बारेमा जानकारी दिएर प्रतिकार्य योजना तयार भइसकेको र विपदको समयमा तत्कालल उद्धार र राहातका लागि जिल्ला तयारी अवस्थामा रहेको प्रजिअ केसीले बताए।

विपदको समयमा प्रयोग गर्न सवारी साधन, औषधी र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको भन्दै प्रशासनले सूचना संकलन र प्रवाह गर्ने कार्यमा स्थानीय तहहरुले अझ बढी समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.