|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भिम रावलले संविधान कार्यान्वयन गर्नतिर नलागेर अर्कै बाजा बजाउनतिर दलहरु लागेको बताएका छन्। आर्थिक, सामाजिक, समय खर्च गरेर लामो समयको त्याग र बलिदानीबाट प्राप्त संविधान कार्यान्वयन नै अहिलेको आवश्यकता भएको उनले बताए।

लेखक पवन मदुश्रीको 'नमुना विकास र राजनीति' पुस्तकको लोकार्पण गर्दै नेता रावलले भने-'आर्थिक हिसाबले ३३ अर्ब खर्च गरी २ वटा निर्वाचन सम्पन्‍न गरेर ८ वर्षको समय लगाएर, शान्ति प्रक्रियाका हिसाबले २ वर्षभित्रमा माओवादीका पूर्व लडाकुलाई ९ अर्ब रुपैयाँ तिरेर निर्माण गरेको संविधान खुरु-खुरु पालना गर्ने गराउने र कार्यान्वयन गर्नुभन्दा अर्कै बाजा बजेपछि त मैले यो कुरा बडा बिडम्बनापुर्ण ठानेका छन्।'

उनले मधेशवादी र सत्तारुढ दलले लगनको बेला मलामी बाजा बजाएको बताए। 'म प्रश्‍न गर्न चाहान्छु, लगनको बेला मलामी जाने बाजा बजायो भने कस्तो हुन्छ ? मिल्छ ? मलाई अहिले त्यस्तै लाग्छ-उनले भने, यो लगनको बेला मलामी बाजा बजाउन लागे जस्तो लाग्छ। जसले मानिसहरुलाई राम्रो कुराको सङ्केत दिँदैन त्यसले अनिष्टको सङ्केत दिन्छ।'
विश्‍वका कुनै देशभक्तिको भावना नराखेमा त्यो देशको उन्‍नती नहुने उनले बताए।  एउटा बच्चालाई दुई महिलाले आफ्नो बच्चा भनेर दाबी गरिरहेको कथा उनले सुनाए। त्यस कथासँग उनले संविधान संशोधनको प्रसङ्ग जोडे।  

यस्तो छ कथा : 

दुई जना महिलाले यो बच्चा मेरो हो भनेर झगडा गरेछन्। एकदमै ठूलो झगडा भयो अनि त्यो झगडा न्यायाधिश कहाँ पुग्यो। एउटीले भनी यो मेरो बच्चा हो। अर्कीले भनी,'मेरो बच्चा हो।' अब कसरी सल्टाउने समस्या पर्‍यो। न्यायाधिशले यसो विचार गरेर, ल त्यसो भए ठिकै छ तिमीहरुले धेरै झगडा गर्‍यौं। अब म यो बच्च‍ालाई बिचमा ठ्याक्कै बिचबाट चिरदिन्छु र एउटा फ्याक एउटीले लिउ अर्को फ्याक अर्कीले लिउ। 

त्यसो भनेपछि, बच्चाको जो सक्कली आमा थिइन् उनी रुन थालिन् र उसले भनिन-'मेरो बच्चा होइन यो। न्यायाधिश ज्यु उसैको बच्चा हो यो। यसलाई नचिर्नुस।'

जो अर्की नक्कली आमा थिइन उनले भनिन-'चिरौं-चिरौं र दुई फ्याक पारौं।' 

ठिक त्यसैगरी अहिले संविधान संशोधनको नाममा एउटा समुह देश चिराचिरा पारौं भनेर लागिरहेको उनले बताए। 'दुइवटा राष्ट्रियता, बहु राष्ट्रियताको कुरा गर्ने। एक सय २५ जाति भएको यो देशमा एउटा जातिलाई अर्को जातिसँग लडाउने। जातको आधारमा प्रदेश बनाउ भन्‍ने। कहिले एक मधेश एक प्रदेश भन्‍ने,'-नेता रावलले भने,'कहिले अ‌ंगीकृत नागरिकलाई राष्ट्रपति बनाउ भन्‍ने। देशभक्त जनताबाट चुटाइ खाएपछि पछाडी फर्केर घुमाएर बैवाहिक वंशजको कुरा गर्ने। हामी त यो देशलाई सिंगै राखौ भन्‍ने पर्‍यौं।'

जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित नेपालको संविधान अभ्यासमा लैजानु नै सबैभन्दा राम्रो निकास भएको उनले भने। 'चारजनाले बसेर कोठामा गएर संविधान सच्याउने हो भने किन ३३ अर्ब रुपैयाँ खर्च गरेको? त्यसलाई कार्यान्वयनमा लैजानुपर्‍यो नि,'उनले भने,'भोली अभ्यासमा लैजादा त्रुटी देखियो भने त्यसलाई सच्याउँला। तर यसको कार्यान्वयन भएकै छैन अनि के त्रुटी पर्‍यो? कसलाई के अप्ठ्यारो पर्‍यो र?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.