|

सल्यान : कुमाख गाउँपालिका वडा नम्बर १ र २ का महिलाहरु सुत्केरी हुन छिमेकी जिल्ला रुकुम जान बाध्य छन्। गाउँमै बर्थिङ्ग सेन्टर नहुँदा उनीहरु रुकुमसम्म पुग्न बाध्य भएका हुन्।

गाउँमै सुत्केरी गराउने व्यवस्था नहुँदा चार घण्टा लगाएर रुकुमको चौरजहारी अस्पतालमा जानु परेको कलसी बुढाले दुखेसो पोखिन्। ‘भनेको समयमा गाडी पाइँदैन, बोकेर लैजाँदा तीन चार घण्टा लाग्छ,’ उनले भनिन्, ‘गरिबसँग गाडी रिजर्ब गर्ने पैसा नै कहाँ हुन्छ।’

कहिले काहीँ अस्पताल लाँदालाँदै बाटोमै बच्चा जन्मिने गरेको उनले बताइन्। ‘परार साल नजिकै अस्पताल नहुँदा एउटा बच्चा खेर गयो,’ उनले भनिन्, ‘आमाको ज्यान बल्लतल्ल बाँच्यो। गाउँमा सुत्केरी हुने व्यवस्था नहुँदा गरिब मर्ने अवस्था आएको छ।’

साबिकको स्वीकोट गाविसमा बर्थिङ सेन्टर नहुँदा वर्षाैंदेखि महिलाहरु सुत्केरी गराउन रुकुम धाउँदै आएका छन्। सबै स्थानमा बर्थिङ्ग सेन्टर नभएका कारण समस्या भए पनि आउँदो असोज कात्तिकदेखि समस्या समाधान हुने कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्। गाउँपालिकाकै स्रोतबाट १५ शय्याको अस्पताल बनिरहेकाले कात्तिकदेखि महिलाको उक्त समस्या समाधान हुने अध्यक्ष बुढाको भनाइ छ। 

यस्तै, बन्गाड कुपिन्डे नगरपालिकामा बर्थिङ सेन्टर नुहुँदा वडा नम्बर १०, ११ र १२ का महिलाहरु जिल्ला सदरमुकाम आउन बाध्य छन्। ढोरपिपलमा बर्थिङ्ग सेन्टरसहितको स्वास्थ्य सेवा सञ्चालन भए पनि पर्याप्त सेवा सुविधा नहुँदा र टाढा हुँदा सदरमुकाम आउन बाध्य भएको स्थानीयको भनाइ छ।

नजिकै प्रसूतिगृह नहुँदा गर्भवती महिला सल्लीबजार र जयतपानी स्वास्थ्य चौकी गएर सेवा लिँदै आएका छन्। ती स्वास्थ्य केन्द्रको उपचार समेत प्रभावकारी नहुँदा सुत्केरी गराउन जिल्ला अस्पताल जानुपंर्ने बाध्यता रहेको वडा नम्बर १२ निगालचुलाका खिमबहादुुर डाँगीले बताए। ग्रामीण क्षेत्रमा बाह्रै महिना गाडी नगुड्ने भएकाले रिजर्भ गर्दा साह्रै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बिमला घर्तीले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.