|

डोल्पा : डोल्पामा एक सातादेखि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। बिरामीको चाप बढेपछि १५ शय्याको जिल्ला अस्पतालमा २५ जनाको उपचार भइरहेको छ।

केही दिनअघि २१ जना बिरामी रहेको अस्पतालमा अहिले २५ जना बिरामी भएका छन्। पछिल्लो केही दिनदेखि दैनिक पाँच जना बिरामी उपचारका आउने गरेका छन्। तीमध्ये दुई तीन जना भर्ना गर्नु परेको डा. सिजन रावलले जानकारी दिए।

बिरामीमध्ये अधिकांश ठूलीभेरी नगरपालिका–२ र ३ का रहेका छन्। अस्पतालमा पर्याप्त बेड नहुँदा पन्ध्र जनालाई बेडमा र दश जनालाइ भुइँमै राखेर उपचार गराइरहेको डा. रावलले जानकारी दिए।

बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुको क्वाटरबाट बेड ल्याएर बिरामीका लागि प्रयोग गरिँदै आइएको छ। ‘बिरामीको उपचारका लागि स्वास्थकर्मी रातभर जागा बस्छन्,’ डा. रावलले भने, ‘उनीहरुको बेडसेट प्रयोग गरेर उपचार गराइरहेका छौँ।’

टाइफाइडको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै प्रदेश, केन्द्रमा समेत जानकारी गराइसकिएको डा. रावलले बताए। टाइफाइड अझ फैलन नदिन स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने डा. रावलको सुझाव छ।

मौसमको प्रतिकूलतका तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ अस्पतालले जनाएको छ। बिरामीको चाप बड्दै गएकाले औषधि सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

स्वास्थकर्मीसमेत बिरामी

टाइफाइडको प्रकोपले स्वास्थकर्मीसमेत थला परेका छन्। अस्पतालका डा. भिमबहादुर बुढा, नर्स दिलु बुढा, सिएमएम गंगा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दीलिप रोकायालगायत स्वास्थ्यकर्मी बिरामी परेका छन्। 

स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचारमा असर परेको अस्पतालले जनाएको छ। ओपिडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन्। अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन नदिन जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डा. रावलले बताए।

चिकित्सकका अनुसार दूषित पानीका कारण रोग टाइफाइड फैलिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.