|

काठमाडौं : यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान रोकिएको छ । 

नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान विहान ११ बजेर ५ मिनेट त्रिभुवन विमानस्थलको रनवेमा चिप्लिएको हो । चालक दलका सदस्यसहित ६९ जना सवार विमान धावनमार्गमा चिप्लिएपछि सबै यात्रुलाई निकालिसकिएको यति एयरलाइन्सले जनाएको छ । 

नेपाल नागरिक उड्ययन त्रिभुवन विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार सामान्य घाइते भएका दुई यात्रुलाई काठमाडौँ मेडिकल कलेजमा लगिएको छ । 

यतिको जहाज धावनमार्गमा चिप्लिएपछि अहिले सबै उडान रोकिएको छ। काठमाडौँका लागि ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्स, बैंककबाट आएको थाई एयरलाइन्सको जहाज, मलेसियाको क्वलालाम्पुरबाट आएको मालिन्डो एयरसहितका जहाज डाइभर्ट गरिएको छ । अन्य केही जहाज आकाशमै होल्डमा रहेका छन्। 

त्यसैगरी विमानस्थलमा आन्तरिक उडान पनि ठप्प भएको छ । देशको पूर्वी क्षेत्रमा बाक्लो पानी परिरहेकाले उडानमा समस्या भएकाले यतिको जहाज चिप्लिएपछि देशभरको उडान रोकिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.