नियमविपरीत भुक्तानी गर्न दबाब

|

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सव–ओभरसियर सतल बटाला आफूहरुलाई असुरक्षा भएको भन्दै गाउँपालिकाबाट बिहीबार राति नै भागेका छन्।

गाउँपालिकाले योजनाहरु नियमविपरीत प्राबिधिक रिर्पोट बढी बनाउन भन्दै दबाब दिएका कारणले आफुहरुलाई असुरक्षा भएको भन्दै उनीहरु भागेर सदरमुकामको जिल्ला प्रशासन कार्यालय आइपुगेका हुन्।

गाउँपालिकामा आफूहरू असुरक्षित भएका कारणले राति भागेको र गाउँपालिका अध्यक्षले प्रहरी लगाएर आफूलाई गाउँपालिकामा आउन भनेको तर, गाउँपालिकामा सुरक्षा नदेखेको कारणले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेर सदरमुकाम आइपुगेको उनीहरुले बताए।

नियमविपरीत भुक्तानी गर्न दबाब

स्थानीय उपभोक्ता समितिबाट नभएको काममा पनि प्राबिधिक स्टिमेट बढी बनाउन दबाब दिएको र आफूहरूले सुरक्षाका लागि धेरै दिनदेखि गाउँपालिकाका अध्यक्षलाई जानकारी दिएको इन्जिनियर महेश धितालले बताए।

‘हामीले नियमविपरीत बढी स्टमेट बनाउर कसरी भुक्तानी दिने रु’ उनले भने,‘बढी स्टिमेट बनाएर कसरी विकास होला भन्दा हामीलाई दबाब आयो। असुरक्षित भएका कारण राति भागेका हौं।’

आफूहरूले असार ३ गते नै नियमविपरीत काम गर्न दबाब दिने गरेको अहिले असार अन्तिममा आउँदा झनै असुरक्षा बढेका कारणले समस्या भएकाले राति नै भागेको इन्जिनियरको भनाइ छ।

तर गाउँपालिकाका अध्यक्षले प्रहरीलाई खबर गरेर आफूहरूलाई पक्राउ गरी गाउँपालिकामा लिन खोजेका कारणले प्रमुख अधिकारीलाई फोन गरेर सदरमुकाममा आएको इन्जिनियर धितालले बताए। ‘हामी असुरक्षाका कारणले राति नै हिँडेका थियौँ’ उनले भने, ‘गाउँपालिका अध्यक्षले प्रहरी लगाएर हामीलाई फेरि गाउँपालिका आउनु भन्नुभयो। असुरक्षाका कारणले हामी त्यहाँ नगएर यहाँ आएका हौं।’

राति नै भाग्नु गलत भयो : गाउँपालिका अध्यक्ष

गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले योजना प्राविधिक स्टमेट नबनाई इन्जिनियर राति नै भागेर गल्ती गरेको बताएका छन्। राती नै भागेकाले उनलाई प्रहरीमार्फत खबर गरेर प्राविधिक स्टिमेट बनाएर आफ्नो काममा जान भनेर खबर गरिएको  अध्यक्ष विष्टले बताए।

‘अहिले विभिन्न योजनाका रकम लिन यहाँ धेरै मानिसहरू आएका छन्’ उनले भने, ‘उहाँहरू प्राविधिक स्टिमेट नबनाई राति नै भाग्नुभएछ। त्यसैले उहाँहरूलाई प्रहरीमार्फत खबर गरेर गाउँपालिका आउन भनेको हुँ।’

आफू जनप्रतिनिधि भएका कारणले योजना भुक्तानी दिन दबाब दिने उपभोक्ता धेरै गाउँपालिका घेरा हाली बसेका उनले सुनाए। तर, प्राविधिकरूपमा योजना पास नगरी इन्जिनियर भागेका कारणले समस्या भएको अध्यक्ष विष्टले बताए।

‘योजनाको भुक्तानी लिन आउने उपभोक्ताहरूले अहिले गाउँपालिका घेरा हालेर बसेका छन्’ उनले भने, ‘असार मसान्तमा प्राविधिक नहुँदा समस्या हुने भएकाले मलाई नै खबर नगरी उहाँ भाग्नुभएछ।’

समस्याबारे बुझ्दै छु : प्रजिअ

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले घटनाबारे आफूले बुझिरहेको बताएका छन्। नरहरीनाथ गाउँपालिकाका प्राविधिक सुरक्षाका लागि आफ्नो सम्पर्कमा आएको र गाउँपालिका अध्यक्षले भागेको भनेर प्रहरीलाई खबर गरेकोले यो विषय के हो भनेर छलफल गरिहेको उनले बताए। ‘उहाँको समस्या के हो म बुझ्दै छु’ उनले भने, ‘प्राविधिक सुरक्षाका लागि अहिले मसँग नै हुनुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.