|

ताप्लेजुङ : ताप्लेजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानवाट ४ महिनाको अवधिमा २ सय ६३ थान बन्दुक बरामद  गरेको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएका बन्दुक सार्वजनिक गरेको हो।

ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिएसपी संञ्जयसिंह थापाका अनुसार बरामत भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर संकलन गरिएका हुन्।

जसमा २ सय ५ नाल बन्दुक तथा ३ राउण्ड गोली अवैध र ५८ नाल बन्दुक तथा ५ राउण्ड गोली ईजाजत प्राप्त रहेको डिएसपी थापाले जानकारी दिए। विगतमा जिल्लामा हतियारकै कारण विभिन्न दुःखद घटना भएको भन्दै थापाले अब त्यस्ता घटनामा कमी हुने विश्वास व्यक्त गरे।

बरामद हतियारमा सवैभन्दा बढी भरुवा बन्दुक रहेका छन्। डिएसपी थापाका अनुसार संकलित हतियारमा भरुवा बन्दुक २ सय ६३ नाल, सर्ट गन २ नाल, १२ वोरे जोर नाले ५ नाल, टु.टु. १ नाल, म्याग्नाम १ नाल, रिवलभल १ थान र ३ राउण्ड गोली रहेका छन्।

जिल्लामा अवैध हतियारहरुका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जाने गरेकाले अभियान नै सञ्चालन गरि हतियार संकलन गरेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। यसअघि गत माघमा बसेको सर्वपक्षिय बैठकले समेत गाउँघरमा भएका हतियार संकलन गर्ने निर्णय गरेको थियो।

हतियार संकलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार संकलन अभियानमा सहयोग गर्न आग्रह गरिएकाले स्थानीय जनप्रतिनिधिको समेत सहयोगमा यतिका परिमाणमा हतियार संकलन गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.