हजारौँ यात्रु अलपत्र, राजमार्ग खुलाउनै समस्या

|

काठमाडौं : दुई दिनदेखिको अविरल बर्षात्पछि देशका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। अविरल पानी परेपछि राजमार्गका ठाउँ ठाउँमा पहिरो झरेको छ। पहाडी राजमार्गमा पहिरोले समस्या पारेको छ भने तराईमा डुबानले सताएको छ। बाढी र पहिरोले कान्ति लोकपथ, पृथ्वी राजमार्ग, सिद्धिचरण राजमार्गसहित कयौँ सडक अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। 

कान्ति लोकपथमा पहिरो

हेटौँडा-काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथको कयौँ ठाउँमा पहिरो झरेको छ । पहिरोले दुई दिनदेखि अवरुद्ध सडक सुचारु हुन सकेको छैन । 

मकवानपुर खण्डको ठिंगनका विभिन्‍न भागमा पहिरो झरेको छ। ललितपुर क्षेत्रको टीकाभैरवका विभिन्‍न स्थानमा पहिरोले सडक पुरिएको छ । सडक खोलामा परिणत भएको छ । पहिरोसँगै रुखसमेत ढलेका छन्। 

त्रिभुवन राजपथ अवरुद्ध

गएरातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा-कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध छ। 

त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा-काठमाडौँको यातायात सेवा अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा-कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो । 

शुक्रबार दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए।

पृथ्वी राजमार्गमा लेदो 

अविरल वर्षातपछि धादिङका विभिन्‍न स्थानमा पहिरो र लेदो झरेर सडक अवरुद्ध भएको छ। सबैभन्दा ब्यस्त पृथ्वीराजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु र सवारी साधन बाटैमा फसेका छन्। 

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट-रोराङ गाउँपलिकामा-१० स्थित जवाङ खोलामा लेदो खसेर मध्यान्ह १२ बजेदेखि सडक अवरुद्ध भएको हो। सडकको लेदो डोजरले हटाउने प्रयास भइरहेको छ। अझै यो राजमार्ग सुचारु हुन सकेको छैन। गल्छी गाउँपालिकाको बैरेनीमा लेदो झरेको छ। त्यहाँ पनि लेदो हटाउन डोजर लगाइएको छ। 

बिपी राजमार्गमा पहिरोकै समस्या

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको हो। बिहीबार राति गोलन्जोर गाउँपालिका-५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। 

यस्तै सुनकोशी गाउँपालिका-१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ। पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।  

मध्यपहाडी पनि अवरुद्ध 

सडकभन्दा माथिबाट खसेको पहिरोले सिन्धुलीकै गोलन्जोर गाउँपालिकास्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्गबाट पहिरो हटाई सवारी आवागमन सञ्चालन गर्न पहल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले बताए। 

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक-पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् ।

साफे-मार्तडीमा समस्या

लगातारको दुई दिनको अविरल वर्षापछि अवरुद्ध साफे-मार्तडी राजमार्ग शुक्रबार बिहानदेखि खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो। 

बार्जुगाड हुँददै गुइगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध भएको हो । बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि जान सकेका थिएनन् । 

सवारी सञ्चालनमा आए पनि राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने क्रम नरोकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताएका छन्। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय साँफेबगरलाई भनिएको बताए। 

मार्तडी-कोल्टी पनि ठप्प

उता मार्तडी-कोल्टी सडक एक सातादेखि अवरुद्ध भएको छ । पानी आएपछि माथिबाट पहिरो खसेपछि मार्तडी-घटमुना सडक अवरुद्ध बनेको हो । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् । 

सिद्धिचरण पनि अवरुद्ध

लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्गमा सवारी ठप्प भएको हो । 

 सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने-आउने यात्रु 
अलपत्र परेका छन् । भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन् । 

त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौँका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन् । सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.