पुलसमेत भत्कने अवस्थामा

|

म्याग्दी : अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेर सडक बगाएपछि कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक शुक्रवार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७  मा पर्ने सडकखण्डको बाँदरजुङेगेभीरमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएपछि सडक अवरुद्ध भएको हो। नदीले करिब ५ मिटर सडक बगाएको छ।

बेनी–जोमसोम–कोरला सडक खण्डका सुपरभाइजर इन्द्रसिं शेरचनले दिएको जानकारी अनुसार अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा कटान गरेको हो।   नदीले सडक बगाएपछि मुस्ताङबाट बेनीतर्फ आउँदै गरेका र बेनीबाट मुस्ताङतर्फ जाँदै फर्कदै सवारीसाधन र यात्रुहरु विचैमा अलपत्र परेका शेरचनले जानकारी दिए।

सडकको भित्तापट्टि ठूलो पहरो रहेकाले तत्काल सडक खुलाउन सक्ने कुनै सम्भावना नरहेको उनले बताए।   त्यसैगरी बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज पनि जोखिममा परेको छ।

कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तरगत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो। कालीगण्डकीले महभिर तर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ।

कालीगण्डकीको कटानका कारण मेसिनरी पर्खालको बिमको छेउमा सडक भासिएको छ। केही माथि पक्कि मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परहेको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्कीने खतरा भएको र पुलमा जाने सडक साघुरिएकाले दुर्घटनाको जोखिम बढेको बताए।

नदी कटानका कारण पुल भत्कने अवस्थामा पुगेपछि रोकथामका लागि ठूला ढुंगा राखेर काम गर्दै गरेको अवस्थामा नदीमा पानीको सतह बढेपछि समस्या भएको शेरचनले जानकारी दिए । नदीले सडकनै बगाएपछि सडक कहिले खुल्छ भन्ने वारे कुनै टुङ्गो नभएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.