|

सर्लाही : लगातार तीनदिन देखि भैरहेको वर्षाले सर्लाहीका अधिकांश बस्तीहरुमा डुबानको समस्या सुरु भएको छ। जिल्लाको उत्तरी क्षेत्रबाट बगेर गएका पानीको उचित निकास नहुने र गहिरो स्थानमा रहेका बस्ती डुबानमा परेका छन्। सदरमुकाम मलङ्गवामा सरकारी कार्यालय र निजी घरसमेत वर्षाको पानीले डुबानमा परेको छ।

अविरल वर्षाले बरहथवा नगरपालिका–१५, हिरापुर र सुन्दरपुर चुहर्वामा डुबानमा परेका १६० घरपरिवारलाइ शुक्रबार सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। डुबानबाट प्रभावितलाइ विधालय र धर्मशालामा राखिएको छ।जील्लाको अधिकांश भू–भाग डुबानमा परेकाले जनजीवन प्रभावित भएको बरहथवाका स्थानीय महेश बरालले जानकारी दिए।

सर्लाहीको बागमती नदीमा गएरातिदेखि नै पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि नदी तटिय क्षेत्रका वाषिन्दालाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। जील्लामा रहेको लखन्देही, कालिन्जोर, फूलजोर,लगायतका खोलामा पनि ठूलो बाढी आएको छ। अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गबाहेक जिल्लाको हुलाकी र अधिकांश भित्री सडक जलमग्न भएका छन्। पानी पर्नेक्रम नरोकिँदा जिल्लाको दक्षिणि क्षेत्र का अधिकांश बस्ती डुबानमा परेका छन्।

सचेत रहन आग्रह

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नदी तटिय क्षेत्र र वर्सेनी डुबानमा परिरहेका क्षेत्रका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेका छन्। डुबान तथा कटानको क्षेत्रमा खटिन सुरक्षाकर्मीहरु तयारी अवस्थामा राखिएको उल्लेख गर्दै स्थानीय तहहरुलाई पनि उद्धार तथा राहतको काममा जुट्न आग्रह गरिएको उनले जानकारी दिए।

पानीसँगै आएको हावाहुरीका कारण बिहीबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा नागरिक मारमा परेका छन्। रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनमा पानी र हावाले रूख ढलेर बिजुलीको तारमा परेकाले विद्युत् सूचारु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाभर बिजुलीबाट हुने काम ठप्प भएको छ। सर्वसाधारणलाई मोवाइल चार्ज गर्नसमेत समस्या भएको छ। चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको बिजुलीको प्रशारण लाइनका धेरैजसो भू–भाग जङ्गल क्षेत्र पर्ने भएकाले पानी पर्नै र हावा चल्नेबित्तिकै घण्टौं बिजुली अवरुद्ध हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.