|

काठमाडौः आठ लेनको कोटेश्वर-कलंकी सडकखण्ड उजाड छ। दाँयाबाँया साना झाडी र फोहोरको डंगुर। सडक त फराकिलो भयो तर बोटबिरुवा सबै सकिए। हरियो भन्‍ने कतै देखिन्‍न, भएका रुख पनि सडक विस्तारका क्रममा काटिए। हरियाली अभावमा यो सडकमा हेर्दा आँखा तिर्मिर हुन्छ। 

यो उजाड सडकको दायाँबायाँ हरियाली बनाउन सरकारले वृक्षारोपण गरेको छ। बिरुवा त रोपियो तर के अब यो सडकमा फर्केला त हरियाली? सरकार विरुवा रोप्छ, अलपत्र छाड्छ, बल्ल अलिअलि सरेका बिरुवा छाडा गाईबस्तु र कतिपय पैदल यात्रूको निमोठाइमा पर्छन। धेरै ठाउँमा यस्तै भएको छ। तर के यो सडकखण्डमा यसको ठीक उल्टो सरकारले हुर्काउला त रुख।

कोटेश्वर-कलंकी सडकखण्डको रुप फेरिएको देख्दा अचम्म लागिरहेको बताउँछन् स्थानीय व्यापारी कमल खडका। तर उनलाई पनि खड्केको यो सडकमा बोट बिरुवा नै छैन। 'सडक ठूलो बनेको छ। सडकका दायाँबायाँ बिरुवा रोप्न थालिएको छ', उनले भने,'सरकारले चाहे नहुने भन्ने हुँदोरहेनछ। अब यी बिरुवा हुर्काउन सके यो सडक कति सुन्दर हुन्थ्यो।'

यदि यी विरुवा हुर्काउन सके यो सडक जस्तो सुन्दर अरु हुन नसक्ने उनी सुनाउँछन्।  'आशा छ काठमाडौं उपत्यकाको सडकमा हरियाली हेर्न मन भए कोटेश्वर-कलंकी सडकमा आउने दिन देख्न पाइयोस', उनी भन्छन्।

उपत्यकाका सबै सडकमा वृक्षारोपण गर्नुपर्ने उनी बताउँछन्। यदि यो सडकमा बिरुवा हुर्काउन सकेमा पर्यटकको आकर्षणको केन्द्र हुने उनी बताउँछन्। वृक्षारोपण मात्रै गरेर नहुने तर्क स्थानीयबासी गर्छन्। 

चीन सरकारले ५ वर्ष लगाएर कोटेश्वर-कलंकी सडकखण्ड (१०.३९ किलोमिटर) विस्तार गरेको थियो। चीनले २७ किलोमिटर लामो चक्रपथमध्ये पहिलो चरणमा कलंकी-कोटेश्वरलाई विस्तार गरेर हस्तान्तरण गरेको हो।

यो सडकखण्ड हरियाली बनाउने अभियान लिएर प्रधानमन्त्रीले केपी शर्मा ओली पनि वृक्षारोपण गर्न पुगे। रोपिएका विरुवा तत्कालका लागि वन तथा भू-संरक्षण विभागले संरक्षण गर्ने भएको छ।

चक्रपथ सडक बिस्तारका क्रममा छेउछाउका सबै रुख काटिए। उपत्यकाको अधिकांश सडक विस्तारका क्रममा यसको सुन्दरता गुमाेको छ। त्यहीकारण सडक क्षेत्रमा वृक्षारोपण अभियान चलाइएको वन तथा भू-संरक्षण विभागका उपनिर्देशक डा. राजेन्द्र केसीले बताए। 'सडक आसपास रोपिएका बिरुवाको संरक्षण विभागले नै गर्नेछ', उनले भने, 'विरुवा बढेपछि सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ।'

वृक्षारोपण गरिएपछि त्यस क्षेत्रमा विभागले एकजना कर्मचारीको नेतृत्वमा निरीक्षणका लागि खटाइएको केसीले बताए। 'बिरुवा नहुर्केन्जेल विभागले नै बिरुवाको हेरिवचार गर्छ', उनले भने, 'बिरुवाको रक्षाका लागि काठको घेराबार लगाइसकिएको छ ।'

सडकखण्ड अन्तर्गत सम्बन्धित नगरपालिकाका वडाले पनि यी विरुवाको संरक्षणमा सक्रियता देखाउनेछ। सातदोबाटो र ग्वार्कोका स्थानीय क्लबहरुले पनि सडक दायाँबायाँ रोपिएका विरुवाको संरक्षण गरिरहेको उनले जानकारी दिए।

कोटेश्वर-कलंकी सडकखण्डमा विरुवा हुर्काएर हरित सडक बनाएर सडक विभागलाई हस्तान्तरण गरिने केसीले बताए। 'यो सडक निर्माण भएपछि सामान बेच्न ठेला राखिएको हुन्थयो,' उनले भने,' वृक्षरोपण भएपछि सडकखण्डको रुप विस्तारै फेरिँदै छ ।' 

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर वन तथा भू-संरक्षण विभागले २ हजार ७ सय विरुवा रोपेको थियो। 'रोपिएका ९५ प्रतिशत बिरुवाको संरक्षण भइसकेको छ। केही मात्रै पानी नपाएर मरेका छन्', उनले भने। 

यो सडकको दायाँ बायाँ कल्की, असारे, राजवृक्ष, कपुर, नासपती, तेजपत्ता, जीन्को (२००० वर्ष पुरानो) लगायतका बिरुवा रोपिएको छ। वृक्षारोपण कार्यक्रम करिब २ करोड रुपैयाँमा सम्पन्‍न भएको उनले जानकारी दिए। 

वृक्षारोपण अभियानको उदघाटन असार १४ गते केपी शर्मा ओलीले गरेका थिए। औषधियुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र थप बिरुवा रोप्न उनले आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.