नारायणगढ-मुग्लिनमा अवरोध छैन

|

चितवन : चितवन हुँदै बग्ने नारायणी नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्चसतर्कता अपनाइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। निरन्तर पानी परिरहेकाले नदी तटीय क्षेत्र जोखिममा रहेकाले सतर्क रहन आग्रह गरिएको सुरक्षा निकायले जनाएको छ।

शुक्रवार दिउसो नारायणी नदीमा ८ दशमलव ५१८ मिलीलिटर पानी मापन गरीएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ। खतराको अवस्थामा नरहे पनि नारायणी तटीय क्षेत्रका स्थानियलाई सचेत गराईएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। सम्भावित विपद् व्यवस्थापनका लागि सबै संयन्त्र हाइअलर्टमा राखिएको प्रजिअ बस्नेतले बताए।

माडी-नारायणगढ सडक अवरुद्ध

बाढीका कारण माडी नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। माडी नगरपालिका ३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीका कारण सवारी आवगमन शुक्रबार बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सवारी आवगमन ठप्प हुँदा माडीबाट नारायणढ आउने र जाँने सवारी सञ्चालनमा आउन सकेका छैनन।

यस्तै, रिउ खोलामा ३ दशमलव ०८७ मिलिलिटर पानी मापन गरीएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ। जिल्लाका अन्य साना खोलाहरूमा पनि पानीको सतह बढेकाले केहि स्थानमा सवारी आवगमत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पूर्वी चितवनका अधिकांस स्थान जलमग्न

निरन्तरको वर्षाले पूर्वी चितवनको रत्‍ननगर, राप्ती नगरपालिकाका अधिकांस क्षेत्रमा पानी जमेको छ। यद्यपि सवारी आवगमन नरोकिएको र त्यस्तो अप्रिय घट्ना नभएको प्रहरीले जनाएको छ।

राप्ती नदीमा खतराको सूचक पार गरेको जल मापन केन्द्रले जनाएको छ। ३ दशमलव ९७७ मिलिलिटर मापन गरिएको जनाईएको छ। रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवन सौराहाका अध्यक्ष गोकर्ण गिरीले रत्ननगरमा पर्ने मुख्य पर्यटकीय क्षेत्र सौराहामा आपत्कालीन अवस्था नरहेको बताए। उनका अनुसार सौराहा हुँदै बग्ने ठुलो राप्तीमा बाढी आएर पानीको सतह निक्कै माथिसम्म आएको भए पनि डराउनुपर्ने अवस्था छैन।

नारायणगढ-मुग्लिनमा अवरोध छैन

नारायणगढ-मुग्लिन सडकखण्डमा अहिले कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। राति खसेको पहिरो हटाएर शुक्रबार बिहानबाट सञ्चालनमा आएको सो सडकखण्डमा अहिलेसम्म कुनै समस्या नरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए।

पहिरो खस्नेबित्तिकै तत्काल डोजरसहितको प्रहरी टोली पुग्नेगरी तयारी अवस्थामा रहेकाले सानो पहिरोका कारण लामो समयसम्म जाममा पर्नुपर्ने अवस्था नरहेको जानकारी दिएका छन।

जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समिति गरी २ वटा समितिमार्फत विपद व्यवस्थापनका पूर्व सर्तकताका विभिन्न काम गरीरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। कहीँ कतै बाढी पहिरोको आपत्कालीन स्थिति आइहाले उद्धार, राहातका लागि आवश्यक जनसक्ति, संयन्त्र तयारी अवस्थामा रहेको बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.