|

  • अर्जुन आचार्य

विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा ‘जसको शक्ति उसकै भक्ति’ भएको बताएकी छिन्। 

इटहराको विकास र समृद्धिका लागि मदन ग्राम प्रवद्र्धन कार्यक्रममा शनिबार राष्ट्रपति भण्डारीले तल्लो स्तरका जनताको जीवनस्तर सुधार्न बजेट विनियोजन हुनुपर्ने बताइन्। उनले शक्ति र पहुँचवालाले मात्रै बजेट पाउने गरेको बताइन्। 

स्थानीय जनताको र स्थानको विकासका लागि अब जनताकै स्तरबाट आवाज उठाउनु पर्ने जरुरी रहेको भण्डारीले बताइन्। राष्ट्रपति भण्डारीले आफ्नो जिल्ला मोरङ विकास निर्माण पछि परेको भन्दै चिन्ता गरिन्। 

‘राष्ट्रपतिको गाउँ, राष्ट्रपतिको जिल्ला ओझेलमा परेको छ,’ भण्डारीले भनिन्,‘बत्ती मुनी अँध्यारो भयो, यहाँका दलका नेताहरुले दलीय स्वार्थभन्दा माथि उठेर यस ठाउँको विकासमा लाग्नुपर्छ।’ सातौं राष्ट्रिय खेलकुदका लागि शुक्रबार विराटनगर आएकी राष्ट्रपति भण्डारीले यहाँको विकास निर्माणमा भैरहेको ढिलासुस्ती प्रति असन्तुष्टि जनाइन्।‘विराटनगरको बाटो ६ लेनको बनाउने भनेको सुनेको छु, तर अहिले हेर्दा १ लेन पनि राम्रोसँग चलेको देखिँदैन,’ राष्ट्रपतिले भनिन्,‘विकासमा लामो समयदेखि किन ढिलाइ भइरहेको छ, मोरङ र यहाँका जनता तथा नेताले खोज्नुपर्छ।’

उनले आफू राष्ट्रपति भएको कारण सरकारलाई धेरै कुरा गर्न नसक्ने बताइन्।‘मैले राष्ट्रपति भएको कारण पनि सरकारलाई प्रधानमन्त्रीलाई धेरै कचकच गर्नुभएन,’ भण्डारीले भनिन्, ‘अब यहीँका जल्दा बल्दा नेताले नै आवाज उठाउनु पर्छ।’ 

भण्डारीले सम्झिन् भूमिगत जीवन
राष्ट्रपति विद्या भण्डारीले कार्यक्रमको औपचारिक सुरुवात हुनुभन्दा अघि आफ्नो घरको अवलोकन गरेकी थिइन्। आफू बसेको घरको अवलोकनको क्रममा भण्डारी भावुक र गम्भिर भएकी थिइन्। उनले आफू बस्ने कोठा तथा मदन भण्डारीको भूमिगत कोठाको पनि अवलोकन गरिन्। 

अलिखित भाषण लरबरियो
झण्डै २० मिनेट मौखिक मन्तव्य दिएकी भण्डारीको भाषण लरबरिएको थियो । कतिपय विषयवस्तुमा बोलिरहँदा अस्वभाविक विषयान्तर पनि भएको थियो। अन्य कार्यक्रममा लिखित मन्तव्य दिने भण्डारीले उक्त कार्यक्रममा भने गाउँ–ठाउँका साना साना कुरा देखि राजनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.