|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर 'ह्याङ्गर' मा लगिएको छ। जहाज हटाएपछि त्रिभुवन विमानस्थलमा उडान सुचारु भएको छ। 

धावन मार्गबाट विमान बिहान ११ बजेर ५ मिनेटमा चिप्लिँदा दिनभर मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो। 

निरन्तरको प्रयासपछि विमानलाई निकालेर ह्याङ्गरमा लगिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। उनले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न धेरै समय लागेको बताए। 

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका थिए । विमानलाई अगाडिबाट तान्‍न लामो प्रयास सफल नभएपछि पछाडिबाट तानेर लगिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

विमान धावन मार्ग नजिक धस्सिएकाले हटाएपछि मात्रै उडान सुचारु भएको हो। 'धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भयो', क्षेत्रीले भने, 'उपलब्ध सबै संयन्त्र परिचालन गरेरर जहाज हटाइएको छ। सात बजेदेखि उडान सुचारु भइसकेको छ। 

धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय त उडान मिलेको थिएन। काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्‍न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको थियो। 

नेपालगञ्जबाट काठमाडौँ आएको यतीको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११:५ बजे धावन मार्गमा चिप्लिएको थियो । विमान धावन मार्गको दक्षिणतर्फ करिब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको थियो। उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान दुर्घटनामा परे पनि चालक चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.