|

सिरहा : कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका-२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो । 

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए। गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए। 


छ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

बाढीका कारण सिरहा नगरपालिका-६ बसपिट्टा, लहान नगरपालिका-१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.